रंगशालादेखि सगरमाथासम्मका नायक

रंगशालादेखि सगरमाथासम्मका नायक


sportसञ्जय पण्डित
बुबा तेजप्रसाद ‘मिश्रण’ले दौडन सिकाउँदा उनको उमेर मात्र एघार वर्षको थियो । चञ्चले स्वभाव, केही गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत उनलाई दौडँदा खुबै आनन्द आउँथ्यो । सय मिटरलाई आत्मसात् गरेर दौडन थालेका उनले स्कुलस्तरीय प्रतियोगितामा कहिल्यै दोस्रो हुनुपरेन । स्कुलमा आयोजना हुने प्रत्येक दौडमा सफलताको झन्डा गाडेपछि उनी चर्चाको शिखरमा पुगेका थिए । भलिबल खेल मन पराउने तर अग्रजहरूको पेलाइमा परेर खेल्न नपाएपछि दौडलाई उनले रोजेका थिए । समय–परिस्थितिसँग जुझ्दै दौडमा आफ्नो भविष्य देखेका उनले खेलकुदमा होमिँदा कहिल्यै राम्रो खेलाडी बन्छु भनेर कल्पनासमेत गरेका थिएनन् । तर, भावीको खेलाई त्यस्तो थिएन । उनले शुभारम्भमा छोटो दूरीलाई रोजे पनि भविष्यमा लामो दूरीका चर्चित खेलाडी बन्न सफल भएका थिए । उनी हुन्– चर्चित खेलाडी तथा आरोही ‘सञ्जय पण्डित ‘चाणक्य’ ।
प्यूठानको गौतमी उच्च माध्यमिक विद्यालयबाट एसएलसी गरेर काठमाडौं उक्लिएका सञ्जयले यहाँ आएर पनि दौडलाई निरन्तरता दिएका थिए । त्यसबेला दशौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को रौनकले काठमाडौंलाई रङ्गीन बनाएको थियो । दीपक विष्ट, राजेन्द्र भण्डारी र दीपक श्रेष्ठको चर्चा र गुनगानले अखबारका पानाहरू भरिएका थिए भने टेलिभिजनमा पनि उनीहरूकै उत्कृष्ट प्रदर्शनको बखान गरेर प्रचारप्रसार भइरहेको थियो । त्यसपछि उनको मनमा पनि उनीहरूजस्तै सफल खेलाडी बन्ने सोच पलाएको थियो । काठमाडौंका लखपतिहरूको नाम गुमनाम भइरहेको अवस्थामा सधैँ खेलाडीको नाम मात्र सञ्चारमाध्यममा आएको देखेर सञ्जयले पनि नयाँ ट्रयाकमा दौडने निधो गरे । सय मिटरबाट ४२ किलोमिटरमा एकैपटक छलाङ हानेका सञ्जयले पहिलोपटक काठमाडौं म्याराथन दौडेका थिए । पहिलो प्रयासमा उनले कुनै चमत्कार देखाउन नसके पनि दौड पूरा गर्दै १६औँ स्थानमा आउन भने सफल भएका थिए ।
राम्रो काम गरेर सफल व्यक्तित्व बन्ने सञ्जयको भित्री इच्छा थियो । मनमा उठेका यी ज्वारभाटालाई सही मार्गदर्शन दिने उनको आसपासमा कोही थिएन । त्यसैबेला ‘के खोज्छस् कानो आँखा’ भनेझैँ उनको भेट नेपालका चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धरसँग भयो । उक्त जम्काभेटमा मानन्धरले आफूले काठमाडौंदेखि खासासम्मको दौड १४ घन्टामा सम्पन्न गरेको र अहिलेसम्म कुनै ‘माइकालाल’ले उक्त दूरी पूरा गर्न नसकेको बताएपछि सञ्जयको दिमागमा नौलो जुक्ति फुरेको थियो । त्यसबेला उनी बीबीएसमा पढ्दै भए पनि मानन्धरको उक्त कथनले उनलाई बारम्बार घचघच्याइराखेको थियो । उनी मनमनै सोच्थे– कसरी दौडेको होला, म दौडन सक्छु कि सक्दिनँ भन्ने प्रश्नको रापमा पिल्सिँँदै सञ्जयले थुप्रै रात बिताएका थिए । परिणाम उनले पनि खासासम्म दौडेर मानन्धरको कीर्तिमान तोड्ने प्रतिबद्धता गरे । फलस्वरूप बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लगातार दशरथ रंगशालाको फन्को काट्न थाले । उनी दिनभरिमा रंगशालाको एक सय २० देखि ३० सम्म चक्कर लगाउँथे । निरन्तर प्रशिक्षणपछि सञ्जयमा गजबको आत्मविश्वास पलाएर आएको थियो । उनलाई सहजै खासासम्म पुगेर नयाँ इतिहास कोर्ने रहरले काउकुती लगाइसकेको थियो । यसरी उनले आफ्नो धैर्यको बाँधलाई तोड्दै मानन्धरलाई नै संयोजक बनाएर आफ्नो कलेज कान्ति भ्यालीमा लगेर गएका थिए । कलेजमा मानन्धरले ‘यसले दौडन सक्छ, यसलाई सहयोग गर्नुहोस् भनेपछि उनको खुट्टाले भुइँ छोडेको थियो । त्यसपछि प्रिन्सिपल जितेन्द्रमान अमात्यले सञ्जयलाई प्रोत्साहन गर्दै खासासम्मको दौडका लागि सबै प्रबन्ध मिलाएका थिए । अमात्यले ‘तैँले दौड पूरा गरिस् भने फुल स्कलरसिप र कलेजमा आउँदा कलेजको डे«स नभई स्पोर्टस् डे«समा आउनु’ भनेपछि उनको हौसला निकै बढेको थियो ।
त्यसपछि रंगशाला छोडेर रिङरोडलाई आफ्नो अभ्यासको थलो बनाएका सञ्जयले उक्त ३० किलोमिटरको दूरी १ घन्टा ४१ मिनेटमा पार गरेका थिए । यसरी माघ १० गते सहिद दिवसको अवसरमा उनले खासाका लागि उडान भरेका थिए । युवा नेता गगन थापाको उद्घाटन गरेको उक्त दौडमा सञ्जयले आफूलाई अब्बल सावित गर्दै काठमाडौंदेखि खासासम्मको एक सय २७ किलोमिटर दौड ११ घन्टा २० मिनेटमा पार गरेर मानन्धरको कीर्तिमान तोडेका थिए । यो सफलतापछि उनलाई मानन्धरले बधाई दिँदै लामो दूरीको प्रतियोगितामा दौडन सुझाव दिएका थिए । यो सफलतासँगै सञ्जयको चर्चाले शिखर चुमेको थियो । उनी अखबारका पानामा छाएका थिए । सञ्जयले भने, ‘म अहिले यसको वर्णन गर्न सक्तिनँ, यो नै मेरो जीवनको टर्निङप्वाइन्ट बन्यो ।’ त्यसपछि मैले लामो दूरीको दौडमा आफूलाई केन्द्रित गर्दै खासादेखि काठमाडौं, काठमाडौं–गोरखा, जिरी–काठमाडौं, स्वर्गद्वारी–काठमाडौं, काठमाडौं–रक्सौल, काठमाडौं–रसुवा, चिसापानी–नेपालगञ्ज, दाङ–भालुवाङदेखि प्युठानको गौमुखी र मनास्लु सर्किट दुई सय ५३ किलोमिटर गरी अहिलेसम्म दुई हजार चार सय ९५ किलोमिटर दौडिसकेका छन् । जुन आफँैमा कीर्तिमान हो । सन् २००९ देखि ०११ सम्म लगातार लामो दूरीको दौडमा आफूलाई सहभागी बनाएका सञ्जयको मनमा त्यतिबेला कुठाराघात भयो जब चर्चित खेलाडी आर्थिक अभावले गर्दा विदेश पलायन हुन थाले । त्यसपछि उनले पनि दौडेर जीवन धान्न नसकिने निष्कर्ष निकाल्दै अर्को क्षेत्रमा हाम फालेका थिए ।
आफ्नो सोचमा आएको परिवर्तनसँगै त्यसैबेला १९ पटक सगरमाथा आरोहण गरेका आप्पा शेर्पाको टेलिभिजनमा आएको डकुमेन्ट्रीले सञ्जयलाई सही मार्गमा डो¥याउन प्रोत्साहित गरेको थियो । आप्पाको सहासी गाथा सुन्दा उनी स्तब्ध भएका थिए । त्यसपछि उनले सगरमाथालाई तेस्रो विश्वको संज्ञा दिँदै हिमालको राजा आप्पाझैँ केही गरेर देखाउने इच्छा पलाएको थियो । अझ आप्पाले ‘संसारमा असम्भव भनेको केही छैन’ भनेपछि त्यही उनको प्रेरणा बनेको थियो । त्यसपछि सञ्जय नयाँ मार्गमा दौडने मनसाय बनाउँदै आरोहणतर्फ ढल्किएका थिए । सगरमाथा चढ्नुभन्दा पहिले विभिन्न चरणहरू पार गर्नुपर्ने भएकाले उनले त्यसको ट्रेनिङ ११ महिनामा प्राप्त गरेका थिए । सगरमाथा चढ्नुभन्दा पहिले ६ हजार मिटरको कुनै एक शिखरको आरोहण गर्नुपर्ने भएकाले सञ्जय पहिलोपटक सगरमाथा छेउकै ६ हजार एक सय ८९ मिटरको आइसल्यान्ड पिक, नागार्जुन हिमाल र छुकुङ्ग्री हिमाल चढेका थिए । त्यसपछि आफ्नो गृहजिल्ला प्युठानमा गएर सगरमाथा चढ्ने घोषणा गरेका थिए । स्वर्गद्वारीबाट सगरमाथा आरोहण भन्ने नाराका साथ सन् २०१२ मा सगरमाथा आरोहण गर्न गएका सञ्जय आठ हजार ६ सय ८५ मिटरमा पुग्दा प्रतिकूल मौसमको सिकार बन्नुपरेको थियो । त्यो उनको निरस पाटो भए पनि सञ्जयले यसलाई अनुभवको पाटो बताएका छन् । त्यसपछि सोही साल उनले ‘किलर माउन्टेन मनास्लु’ चढ्ने घोषणा गर्दै सेप्टेम्बर २९ मा चुचुरोमा पाइला राख्न सफल भएका थिए । उनी सो हिमाल चढ्दा १४ जनाले ज्यान गुमाएका थिए भने तीनजना बेपत्ता भएका थिए । साथै उनीसँगै टेन्टमा सुत्ने साथीको पनि मृत्यु भएको थियो । यो सफल आरोहणसँगै सञ्जयले भने, ‘सगरमाथा चढ्दा जसरी म फर्किनुपरेको थियो त्यसबेला मैले डोपिङमा परेको महसुस गरेको थिएँ, तर यो सफलताले मलाई पुनः पहिलेकै अवस्थामा फर्काएको थियो ।’
त्यसपछि साहसी सञ्जयले सन् २०१३ मा सगरमाथा चढ्ने घोषणा गरेका थिए । आरोहणका क्रममा उनले विभिन्न उतारचढावको सामना गर्नुप¥यो । सर्वप्रथम २५ वर्षीय गाइड लोप्साङ शेर्पालाई गुमाएर आरोहणतर्फ लम्किएका सञ्जयको आठ हजार आठ सय २५ मिटरको उचाइमा पुग्दा अक्सिजन र रेगुलेटर सकिएको थियो । सात हजार पाँच सय मिटरभन्दा माथि अक्सिजन सकियो भने त्यहाँ बाँच्ने चान्स एक प्रतिसत मात्रै हुन्छ । यो स्थानलाई ‘डेड जोन’ भनिन्छ । त्यहाँ कसैले कसैलाई सहयोग गर्दैन । यसपछि उनले एकपटक असफल भइसकेको मान्छे भन्दै जसरी पनि सगरमाथाको चुचुरोमा पुगेर प्राण त्याग्ने निर्णय गरेका थिए । त्यसपछि बिनाअक्सिजन हिँडे पनि ५० प्रतिशत सेन्सलेस भइसकेका थिए । तर, सञ्जयको भाग्य बलियो, त्यसैबेला सगरमाथा आरोहण गरेर फर्किएका कर्मा शेर्पाले उनलाई युज गरिसकेको अक्सिजन र रेगुलेटर दिएपछि १९ मे २०१३ का दिन उनले सगरमाथा सफलताका साथ आरोहण गरेका थिए । उनले त्यहाँ राष्ट्रिय झन्डासहित राखेपको झन्डा र स्वर्गद्वारी महाप्रभुको झन्डा फहराएका थिए । जसलाई उनी अहिलेसम्मकै आनन्दको क्षणको रूपमा वर्णन गर्छन् । यसर्थमा कि उनको सगरमाथा चढ्ने सपना पूरा भएको थियो ।
त्यसपछि हालै सन् २०१४ मा अफ्रिकी महादेशकै सबैभन्दा अग्लो हिमशृङ्खला ‘किलिमान्जारो पाँच हजार आठ सय ९६ मिटरको हिमाल ६ घन्टा १३ मिनेटमा चढेर दक्षिण एसियाकै द्रुतगतिमा चढ्ने आरोहीको कीर्तिमान कायम गरेका छन् । अब उनी यसै वर्षको जुनमा युरोपको सर्वोच्च शिखर ‘एलब्रस’ चढ्ने अन्तिम तयारीमा छन् । यदि सरकारले उचित सहयोग गरेमा नौ महिनाभित्रमा अन्य पाँचवटा महादेशका सर्वोच्च हिमाल चढ्ने योजना बनाएका छन् । सफलताले उनका हरेक कदमलाई चुमुन्, हाम्रो शुभकामना ।

खेल समाचार

विश्वकपका खेलाडीलाई ‘सेक्स’ बर्जित
निकट भविष्यमै ब्राजिलमा आयोजना हुन गइरहेको विश्वकप फुटबल प्रतियोगितामा सहभागी खेलाडीले ‘सेक्स’ गर्न नपाउने भएका छन् । विश्वकपमा सहभागिता जनाइरहेका थुप्रै राष्ट्रका प्रशिक्षकले सेक्सले खेलाडीको प्रदर्शनमा नकारात्मक प्रभाव पार्ने बताउँदै प्रतियोगिता अवधिभर खेलाडीलाई सेक्न गर्नबाट प्रतिबन्धित गर्ने जानकारी गराएका छन् । सेक्सका बारेमा विगतमा विज्ञहरूका विभिन्न धारणा रहे पनि यसपटकचाहिँ प्रायः सबै राष्ट्रले आफ्ना खेलाडीलाई सेक्सबाट टाढा राख्ने बताएका छन् । एक महिना सेक्स नगर्दैमा खेलाडीमा खासै असर नपर्ने बताउँदै यसपटक खेलाडीका पत्नी र प्रेमिकालाई विश्वकपमा नलगिने पनि प्रस्ट पारेका छन् । प्रशिक्षकले एक महिना सेक्सबाट टाढा रहन नसक्ने खेलाडीलाई विश्वकपको तयारीमै सहभागिता नगराउने बताएका छन् । यसमा मेक्सिको सबैभन्दा अग्रपङ्क्तिमा देखिएको छ । मेक्सिकोले आफ्ना खेलाडीलाई विश्वकपमा मात्र ध्यान केन्द्रित गर्न यस्तो रणनीति अख्तियार गरेको हो । मेक्सिकोका खेलाडी विगत चार वर्षमा दुईवटा सेक्स स्क्यान्डलमा नराम्रोसँग मुछिएका छन् । यही घटनाका कारण मेक्सिकोका दशजना खेलाडीलाई प्रतिबन्धित गरिएको थियो । त्यस्तै, आयोजक ब्राजिल, युरोपका चर्चित राष्ट्रहरूले पनि विश्वकपमा सेक्सलाई प्रतिबन्धित गर्ने सोच बनाएका छन् ।
सेक्सले खेलाडीमा ऊर्जा प्रदान गर्ने विज्ञहरूको धारणा रहे पनि यसलाई चुनौती दिँदै यसपटक खेलाडीलाई सेक्सबाट टाढा राख्ने सोच प्रायः सबै राष्ट्रको देखिएको छ । तसर्थ यो कुरालाई मध्यनजर राख्दै इंग्ल्यान्डका कप्तान स्टेफन जेरार्डले आफूले विश्वकपमा श्रीमती नलाने घोषणा गरेका छन् । त्यस्तै, विश्वकपमा पहिलो सहभागिता जनाइरहेको बोस्निया हर्जगोभिना र अफ्रिकी राष्ट्र नाइजेरियाले पनि विश्वकपमा सेक्सलाई पूर्णरूपमा बन्देज लगाएका छन् । यसैगरी अन्य जर्मनी, स्पेन, फ्रान्स, अर्जेन्टिनालगायतका राष्ट्रले पनि सेक्सबारे खेलाडीलाई पूर्णरूपमा स्वतन्त्रता दिएका छैनन् । ती राष्ट्रले सेक्स उचित समयमा मात्र गर्नुपर्ने कुरामा जोड दिँदै आएका छन् । तसर्थ यो विश्वकपमा सेक्स र खेलाडीको दूरी बढ्ने सम्भावना प्रबल रूपमा देखापरेको छ । र पनि, खेलाडीलाई सेक्सको अन्य उपाय अपनाउन भने छुट दिइएको छ, जसमा ‘ह्यान्ड सेक्स’ अर्थात हस्तमैथुन परेको छ ।

शान्तिको कामना गर्दै दौडेर दोलखा
विश्वशान्तिको कामना गर्दै हालै राष्ट्रिय धावक रत्न तुलाधरले काठमाडौंको श्रीधः नधलबाट दोखला भीमसेन मन्दिरसम्म शान्तिदौड सफलताका साथ पूरा गरेका छन् । महामानव भगवान् गौतम बुद्धको २५५८औँ बुद्धजयन्तीको अवसरमा सो शान्तिदौडको आयोजना गरिएको हो । श्रीधः ज्ञानमाला भजन खलःको आयोजनामा भएको उक्त शान्तिदौडमा बुद्धले प्रतिपादित गरेको शान्ति सन्देश प्रवाह गर्न बुद्धको झन्डा बोकी तुलाधरले शान्तिदौड दौडेका थिए । काठमाडौंबाट भक्तपुर, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, मुढे हुँदै दोलखा भीमसेनस्थानमा पुगी तुलाधरले शान्तिद्वीप प्रज्ज्वलित गरी दौड सम्पन्न गरेका थिए । उक्त शान्तिदौड तीन दिनमा पूरा गरेका तुलाधरले पहिलो दिन ६४, दोस्रो दिन ४५ र तेस्रो दिन ३१ किलोमिटर दौडेका थिए । यस शान्तिदौडलाई मूर्तरूप दिन वृहस्पति शिक्षा सदन, डा. खगेन्द्र स्पोर्टस् फाउन्डेसन र रोशन बज्राचार्यले आर्थिक सहयोग गरेका थिए । शान्तिदौड सफलताका साथ सम्पन्न गरेपछि तुलाधरले भने, ‘मैले नै नेपालमा शान्ति होस् भनेर शान्तिदौडको शुभारम्भ गरेको हुँ, शरीरले साथ दिएसम्म आफू नेपाल र विश्वशान्तिको कामना गर्दै यसरी नै दौडने छु ।’ तुलाधर सामाजिक क्षेत्रमा चर्चित नाम हो । उनले यसअघि थुप्रैपटक शान्तिदौड दौडिसकेका छन् । उनको यही निस्वार्थ कार्यले तुलाधरलाई विभिन्न सामाजिक संस्थाले सम्मान गरेका छन् ।

दृष्टिविहीन महिला क्रिकेट हुने
वुमेन्स ड्रिम ब्युटी एन्ड मल्टी सर्भिसेस, इलेक्ट्रो मेडिकल सोलुसन तथा हाउसवाइफ एसोसिएसनको संयुक्त आयोजनामा दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २०–२० ओभरको हुनेछ । प्रतियोगिता पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुने आयोजकले बताएको छ ।
दृष्टिविहीन क्रिकेट पूर्ण दृष्टिविहीन र कमजोर दृष्टिविहीन एकै टिम सहभागी भई बलबाट निस्कने आवाजका आधार खेलिन्छ । त्यसै दिन राष्ट्रिय टिम र कलाकार टिमबीच चार ओभरको मैत्रीपूर्ण खेल हुनुका साथै अन्य विविध कार्यक्रमसमेत हुनेछ । कार्यक्रमको अनुमानित खर्च पाँच लाख रुपैयाँ रहेको छ । नगद र अन्य पुरस्कारको पनि व्यवस्था रहेको छ । कार्यक्रमबाट सङ्कलित रकमका आधारमा नगद पुरस्कार तय गरिने बताइएको छ । उक्त अवसरमा नेपाल दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले आगामी नोभेम्बरमा दक्षिण अफ्रिकाको केपटाउनमा हुने चौथो दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले सहभागिता जनाउने जानकारी गराए । नेपाली दृष्टिविहीन महिला टिम विश्वमै पहिलोपटक बनेको टिम हो । हाल नेपालमा महिलाका १३ टिम रहेका छन् ।

बहिरा क्लब र एबीसी च्याम्पियन
बहिरा क्लबले नवौँ मैत्रीपूर्ण फुटबलअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । महिलामा एबीसी च्याम्पियन पहिलो भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बहिरा क्लबले नेपाल डिसएबल प्लेयर (एनडीपी) क्लबलाई ५–३ गोलअन्तरले पराजित गरेको थियो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाल अपाङ्ग फुटबल सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला प्रतिस्पर्धामा एबीसीले नेपाल अपाङ्ग महिला क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको थियो । विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल, आयोजक सङ्घका अध्यक्ष प्रताप राउत तथा सचिव एवम् प्रतियोगिता संयोजक प्रदीप श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यसअघि एनेकपा माओवादी नेता अग्निप्रसाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सुटिङमा सैनिकले मा¥यो बाजी
सैनिक आवासीय महाविद्यालयले चौथो अन्तरविद्यालय सुटिङ प्रतियोगिताको उपाधि जितेको छ । सैनिकले तीन स्वर्ण जितेको थियो । नेपाल सुटिङ सङ्घद्वारा आयोजित प्रतियोगितामा युनाइटेड स्कुल ‘ए’ दुई स्वर्ण साथ दोस्रो भयो भने जेम्सले एक स्वर्ण जित्दै तेस्रो स्थानमा चित्त बुझायो । व्यक्तिगत स्पर्धाको ब्वाइज १० मिटर एयर राइफलमा सैनिकका प्रतीक कार्की गल्र्समा कान्तिपुरी स्कुलकी निशा महतले स्वर्ण पदक जितेका थिए । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको ब्वाइजतर्फ व्यक्तिगत १० मिटर एयर पेस्तोलमा सैनिकका प्रकाश थापा र गल्र्समा युनाइटेड ‘ए’ की मेहा राईले स्वर्ण जितेका थिए ।
त्यस्तै गल्र्स टिम राइफलमा जेम्स (५७३ अङ्क) पहिलो, युनाइटेड ‘ए’ (५७१ अङ्क) दोस्रो तथा युनाइटेड ‘बी’ (५६२ अङ्क) तेस्रो भए । सो स्पर्धाको ब्वाइजमा युनाइटेड ‘डी’ (५७७ अङ्क), युनाइटेड ‘ए’ (५७१ अङ्क) तथा सैनिक (५६६ अङ्क) क्रमशः शीर्ष स्थानमा रहेका थिए । ब्वाइज टिम पेस्तोलमा सैनिक (५६० अङ्क) पहिलो, कान्तिपुरी (५४४ अङ्क) दोस्रो तथा युनाइटेड ‘ए’ (५३९ अङ्क) तेस्रो बने । उक्त स्पर्धाको गल्र्समा युनाइटेड ‘ए’ (५४२ अङ्क) पहिलो, जेम्स (५३६ अङ्क) दोस्रो तथा सैनिक (५२९ अङ्क) तेस्रो भएका थिए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठ, उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक ध्रुवबहादुर रायमाझी, ओलम्पियनद्वय टीकाराम श्रेष्ठ र फूलमाया क्याप्छाकीलगायतले पुरस्कार प्रदान गरेका थिए । चारदिने प्रतियोगितामा विभिन्न विद्यालयका एक सय खेलाडीले आठ स्वर्णका लागि प्रतिस्पर्धा गरेको सुटिङ सङ्घका सचिव एवम् सुटिङका वरिष्ठ प्रशिक्षक प्रदीप खातीले जनाएका छन् । व्यक्तिगत स्पर्धा दुई सय र टिमतर्फ ६ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

डुब्न जोगिने उपायसम्बन्धी तालिम
नेपाल पौडी सङ्घले पानीमा डुब्नबाट जोगिने उपायसम्बन्धी तालिम सञ्चालन गरेको छ । अमेरिकाको एकुवा मोसन इन्टरनेसनल (एएमआई) सँग सहकार्य गरी पौडी सङ्घले उक्त तालिम सञ्चालन गरेको हो । तालिम जुन ४ सम्म सञ्चालन हुनेछ । एएमआईका संस्थापक जोनाथन म्याक क्यारथीले तालिम सञ्चालन गर्नेछन् । विश्वमै यस्तो तालिम पहिलोपटक हुन लागेको पौडी सङ्घले दाबी गरेको छ । उपत्यकाका विभिन्न ५० विद्यालयका करिब दुई हजार चार सय विद्यार्थीले तालिममा भाग लिनेछन् ।
‘हामीले अधिक मात्रामा पानीमा डुबेर दुघर्टना हुने देशलाई इमेलमार्फत पत्रचार गरेका थियौँ । त्यसमा नेपाल पौडी सङ्घले हामीलाई सबैभन्दा पहिले जवाफ पठायो । त्यसैले हामीले यो कार्यक्रम नेपालबाट पहिलोपटक थालनी गर्न लागेका हौँ,’ जोनाथनले पत्रकार सम्मेलनमा भने । पौडी सङ्घका महासचिव जगतमान श्रेष्ठले आर्थिकलगायत अन्य कारणले उपत्यकाबाहेक मुलुकको अन्य भागमा तालिम सञ्चालन गर्न नसकिएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि लाने बताएका थिए ।

मायाले के–२ हिमाल आरोहण गर्ने
दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी पूर्वभारोत्तोलन खेलाडी माया शेर्पाले पाकिस्तानमा रहेको के– २ हिमाल आरोहण गर्ने भएकी छिन् ।
उनीसँगै एक–एकपटक सगरमाथा आरोहण गरिसकेका पासाङ ल्हामु शेर्पा र दाबा यान्जुम शेर्पा पनि आरोहण दलमा समावेश छन् । कुनै पनि नेपाली महिलाले आठ हजार ६ सय ११ मिटर उचाइको के– २ हिमाल आरोहण गर्न लागेको यो पहिलोपटक भएको बताइएको छ । त्यसका लागि उनीहरू जुन १५ मा पाकिस्तान जानेछन् । जुन २५ देखि आरोहण थाल्ने मायाले जानकारी गराएकी छिन् । ओखलढुङ्गानिवासी मायाले यसअघि आमाडब्लम, पुमोरी, छोजु, बुरुन्छे, मेरा, लोच्छे, काङथेङग्रीलगायतका हिमाल पनि आरोहण गरिसकेकी छिन् ।
उनीहरूलाई जावलाखेलस्थित ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा सभासद् मदनबहादुर अमात्य, कलाकार दीपक गिरी र दीपाश्री निरौलालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।