ट्रम्पको निर्णयका कारण शीतयुद्ध फर्कने त्रास !

ट्रम्पको निर्णयका कारण शीतयुद्ध फर्कने त्रास !


शोभियत संघका पूर्वराष्ट्रपति मिखाइल गोर्भाचोवले शीतयुद्धको महत्वपूर्ण परमाणु हतियारसम्बन्धी सन्धि तोड्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना परमाणु निरस्त्रीकरणका लागि ठूलो झट्का हुने प्रतिक्रिया दिएका छन् ।

गोर्भाचोवले नै सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनसँग इन्टरनेशनल–रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धिमा हस्ताक्षर गरेका थिए । सो नाताले गोर्भाचोवको यस्तो प्रतिक्रिया आएको हो ।

राष्ट्रपति ट्रम्पको भनाई छ कि रुसले कैयन पटक आईएनएफ सन्धिको उल्लंघन गरेको छ । उता रुसले ट्रम्पको योजनाको निन्दा गर्दै आफूले यसको जवाफ यस्तै किसिमले दिने चेतावनी दिएको छ । अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले अब गर्ने रुसको यात्राका क्रममा राष्ट्रपति पुटिनले यसको जवाफ माग्ने रुसको भनाई छ ।

अमेरिकाको सहयोगी रहेको जर्मनीले समेत ट्रम्पको यस कदमको आलोचना गरेको छ । जर्मनीका विदेशमन्त्री हाइको मासले भनेका छन् कि अमेरिकाले यसबारे फेरि विचार गर्नुपर्छ र उसले युरोपसँग मिलेर परमाणु निरस्त्रीकरणको भविष्यबारे सोच्नुपर्छ ।

आईएनएफले जमिनमा मध्यम दूरीको मिसाइलहरूको परीक्षण तथा उपस्थितिमाथि रोक लगाउँछ । यसको रेन्ज ५०० देखि ५५०० किलोमिटरसम्म हुन्छ ।

यसबारे दुवै देशले शीतयुद्धको समाप्तिका बेला हस्ताक्षर गरेका थिए । दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ देखि १९८९ को बीच अमेरिका र शोभियत संघको शत्रुतापूर्ण सम्बन्धका कारण पूरै विश्वमा युद्धको आशंका गहिरिएको थियो ।

यस्तो लाग्दैछ कि पछिल्लो तनावपूर्ण अवस्थाले कतै परमाणु हमलाको रूप लिने त होइन ? उल्लेखित पाँच दशकमा परमाणु हतियारमाथि लगाम लगाउन रुस र अमेरिकाले कैयन सम्झौताहरू गरेका थिए ।

के भने ट्रम्पले ?

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘रुस जथाभावी गरिरहने अनि अमेरिकाचाहिँ सम्झौतामा बाँधिइरहने ? अमेरिका यस्तो सहन सक्दैन । राष्ट्रपति बाराक ओबामाले यो सब किन देखेनन् या बुझेनन् भन्नेचाहिँ मलाई थाहा भएन ।’

ज्ञातव्य छ, सन् २०१४ मा राष्ट्रपति बाराक ओबामाले एक क्रुज मिसाइलको परीक्षणलगत्तै रुसमाथि आईएनएफ सन्धि उल्लंघनको आरोप लगाएका थिए । भनिन्छ, ओबामाले युरोपेली नेताहरूको दबाबमा उक्त सन्धि नतोड्ने फैसला गरेका थिए । युरोपको मान्यता छ कि सो सन्धिको पालना नभएमा परमाणु हतियारहरूको होडबाजी शुरु हुनेछ ।

रुस के भन्छ ?

रुसका उप–विदेशमन्त्री सेर्गेई रियाकोवले भनेका छन्– ‘म ठोकुवाका साथ भन्न सक्छु कि यो (ट्रम्पको कदम) अत्यन्तै खतर्नाक हुनेछ । यो सम्झौता टुट्नु भनेको सिङ्गै विश्वको लागि चिन्ताजनक अवस्था हुनेछ ।’

रुसी समाचार एजेन्सी ताससँग उनले भनेका छन्– ‘अन्तर्राष्ट्रिय सुरक्षाको सवालमा यो खतर्नाक हुनेछ अनि परमाणु निरस्त्रीकरणमाथि पनि जोडको झट्का लाग्नेछ । अमेरिकाको व्यवहार कुनै अनाडीकै जस्तो छ जो एक–एक गरेर अन्तर्राष्ट्रिय सम्झौताहरू तोड्न उद्यत् देखिँदैछ ।’

सेर्गेइले भनेका छन्– ‘अमेरिका यदि यस्तो कदम उठाउँछ भने हामीसँग पनि कुनै विकल्प रहने छैन, हामी पनि जवाफ दिनेछौँ । तर हामी यो चाहँदैनौँ कि परिस्थितिले त्यस्तो रूप लेओस् ।

विश्लेषकहरूले यो अन्तर्राष्ट्रिय सुरक्षाको निम्ति खतर्नाक हुने विश्लेषण गरेका छन् । शीतयुद्धपछि हतियारको होडमाथि जुन लगाम लागेको थियो त्यो फेरि शुरु हुने त्रास बेस्सरी बढेको उनीहरूको बुझाई छ ।

उक्त सन्धि रुस र अमेरिकाबीचको अर्थात् द्विपक्षीय हो । चीन इन्टरमिडियट रेन्जको परमाणु मिसाइल बनाउने तथा त्यसलाई खडा गर्ने मामलामा स्वतन्त्र छ । यसर्थ ट्रम्प प्रशासन महसुस गरिरहेको छ कि आईएनएफ सन्धिका कारण आफूलाई मात्र नोक्सान या बेफाइदा भइरहेको छ र चीन त्यस्ता सारा कर्म गरिरहेको छ जो उक्त सन्धिकै कारण अमेरिकाले चाहेर पनि गर्न सकिरहेको छैन ।

के हो आईएनएफ सन्धि ?

अमेरिका र शोभियत संघले सन् १९८७ मा उक्त सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिअनुसार प्रतिबन्धित परमाणु हतियारहरू तथा गैरपरमाणु मिसाइलहरूको लन्चिङ गर्न रोक लगाइएको छ । अमेरिका रुसले एसएस–२० नामक मिसाइल खडा गरेको सन्दर्भप्रति रुष्ट छ ।

सन् १९९१ सम्ममा करिव २७०० मिसाइलहरू नष्ट गरिएका छन् । दुवै देशले एकअर्काको मिसाइल परीक्षण तथा तैनाथीमाथि नजर राख्ने अनुमति दिएका छन् ।

सन् २००७ मा रुसी राष्ट्रपति पुटिनले भनेका थिए कि यो सन्धिद्वारा उसको हितमा कुनै लाभ पुगेको छैन । रुसको यो टिप्पणी सन् २००२ मा अमेरिका एन्टी ब्यालेस्टिक मिसाइल सन्धिबाट बाहिर निस्केलगत्तै सार्वजनिक भएको थियो । (बीबीसीलगायत एजेन्सीहरूको सहयोगमा)