बास्केटबलका विश्वासिला ‘रेफ्री’ विनोद

बास्केटबलका विश्वासिला ‘रेफ्री’ विनोद


sportदार्जिलिङ कागजोडास्थित ज्ञानोदय स्कुलमा अध्ययनरत रहँदा नै उनले खेलकुदलाई आत्मसात् गरेका थिए । शुभारम्भमा सितोरियो कराते खेल्न थालेका उनले त्यसपछि फुटबल, जुडो र बास्केटबलमा आफ्नो भाग्य अजमाएका थिए । विद्यालयस्तरमा कराते र फुटबलमा उत्कृष्ट प्रदर्शन गरेर वाहवाही बटुलेका उनले अन्त्यमा बास्केटबलमा आफ्नो भविष्य देखेका थिए । तत्कालीन समयमा करातेमा राष्ट्रिय, तथा अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्दै थुप्रै स्वर्ण पदक जितेका उनले पढाइमा परेको असरले गर्दा करातेलाई बाइबाई गरेका थिए । आठवटा विषयमा सातवटामा फेल भएपछि परिवारबाट आएको दबाबले उनको खेलकुदजीवन धरापमा परेको थियो । त्यसपछि खेलकुदलाई भन्दा पढाइलाई जोड दिएका उनले एसएलसी राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका थिए । र पनि खेलकुदको नसामा चुर्लुम्म डुबेका उनले कलेज पुगेपछि पुन: खेलकुदलाई आत्मसात् गर्दै आफ्नो जीवनको नौलो अध्यायको शुभारभ्म गरेका थिए । स्कुलमा जुडो खेल्दै बास्केटबलतर्फ आकर्षित भएका उनी अर्थात् विनोद अधिकारीले त्यसपछि वर्तमान अवस्थासम्म बास्केटबलमा आफ्नो हुनर देखाइरहेका छन । जसमा विनोदले आफ्नो छुट्टै पहिचान बनाउँदै सबैको आँखाको नानी बन्न सफल भएका छन् ।
१४ वर्षको उमेरमा सितोरियो करातेमा हाम फालेका विनोदले काठमाडौं फर्किएपछि पनि करातेलाई नै निरन्तरता दिएका थिए । ०५३ मा सिफलको युनिक बोर्डिङ हाइस्कुलमा कक्षा पाँचमा पढ्दा मित्रपार्क डोजोमा उनले करातेको प्रशिक्षण लिएका थिए । प्रशिक्षक इन्द्र शाहीको प्रशिक्षणमा रहेका उनले प्रशिक्षणको दुई वर्षमै ‘ब्ल्याकबेल्ट’ प्राप्त गरेर करातेप्रतिको आफ्नो लगनशीलतालाई प्रस्ट पारेका थिए । तत्कालीन समयमा तीसदेखि चालीसको तौल समूहमा खेल्ने उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेका थिए । यसै क्रममा दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कास्य पदक जितेर उनी उदीयमान खेलाडीको रूपमा देखापरेका थिए । तर दुर्भाग्य, खेलकुदका कारणले पढाइमा नकारात्मक असर परेपछि कक्षा सातमा पढ्दापढ्दै विनोदले करातेलाई नचाहेर पनि बाइबाई गर्नुपरेको थियो । यसरी करातेमा थुप्रै सपना बुनेका विनोदको सपना मझधारमै विलीन भएको थियो । यसलाई उनले आफ्नो खेलजीवनको सबैभन्दा दु:खद् क्षणको रूपमा विश्लेषण गरेका छन् । जसलाई सम्झिँदा अहिले पनि विनोदलाई निकै कुठाराघात हुन्छ । करातेका अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको अधुरै रहेपछि अहिले पनि उनीलाई पछुतो भइरहेको छ ।
बुबा लोकबहादुर र आमा मीना बुढाथोकीको प्रेरणा र प्रोत्साहनले खेलकुदमा लागेका विनोद पढाइ निकै कमजोर हुँदा आठ कक्षादेखि होस्टेलमा बसेका थिए । त्यसपछि उनले नियमित खेल करातेलाई छोडेर जुडो खेल्न थालेका थिए । जुडो खेल्दाखेल्दै बास्केटबलतर्फ आकर्षित भएका विनोद स्पोर्टस् ब्याकग्राउन्ड र फिजिकल फिटनेस राम्रो भएकाले थोरै समयमा स्कुलको सिनियर बास्केट टोलीमा पर्न सफल भएका थिए । उनलाई बास्केटबल खेल्न प्रशिक्षक प्रतीक श्रेष्ठले प्रोत्साहन गरेका थिए । युनिक स्कुलमा दश कक्षासम्म पढ्दा उनले थुप्रैपटक अन्तरस्कुल प्रतियोगितामा प्रतिस्पर्धा गरेका विनोदले आफ्नो स्कुललाई पटकपटक उपाधि दिलाउन अहम् भूमिका निभाएका थिए । उनले उत्कृष्ट प्रदर्शन गरेबापत थुप्रैपटक उत्कृष्ट तथा भ्यालुयबल प्लेयरको उपाधिसमेत जितेका थिए । उनको यही प्रदर्शनले त्यसबेला युनिक स्कुल बास्केटबलमा उत्कृष्ट स्कुलको नामले चिनिन्थ्यो ।
एसएलसी पास गरेपछि विनोद न्यु समिट कलेजमा भर्ना हुँदा बास्केटबलको उत्कृष्ट खेलाडी भएको नाताले छात्रवृत्ति पाएका थिए । त्यसबेला उक्त कलेजको बास्केटबलको प्रशिक्षकमा नरेन्द्र थापा थिए । उनी अहिले बास्केटबल सङ्घको उपाध्यक्ष र टेक्निकल डाइरेक्टर छन् । उनै थापाको प्रशिक्षणमा विनोदले कलेजमा बास्केटबलको प्रशिक्षण लिएका थिए । उक्त कलेजबाट दुई वर्ष खेलेका विनोदले आफ्नो कलेजबाट राम्रो प्रदर्शन गर्दै कलेजको नाम रोशन गर्न सफल भएका थिए । त्यसपछि उनले सक्रिय खेलजीवनलाई विश्राम दिँदै नयाँ भूमिकामा ‘रेफ्री’मा आफ्नो भाग्य जमाएका थिए । उनलाई यो भूमिकामा उतार्न रेफ्री योगेन्द्र काङवाङले विशेष भूमिका निभाएका थिए । योगेन्द्रले नै विनोदको हातमा सिट्टी थमाएर नौलो जिम्मेवारी सुम्पेका थिए । यसलाई ठूलो गुन मानेका विनोदले आफ्नो खेलजीवनको टर्निङप्वाइन्टको रूपमा पनि लिएका छन् । त्यसबेला बास्केटबलका खेलाडीको भविष्य त्यति राम्रो थिएन, यो खेल लोकप्रिय हुँदाहुँदै पनि सोचेअनुरूप फड्को मार्न सकेको थिएन । अन्तर्राष्ट्रियको त कुरै छोडौँ राष्ट्रिय प्रतियोगितासमेत वर्षको एकचोटि हुँदैनथ्यो । यस्तो अवस्थामा आफ्नो भविष्य निश्चित गर्न विनोदले खेलाडीभन्दा कोच बनेर प्रशिक्षण दिने निर्णय गरेका थिए । जुन अहिले उनका लागि सही निर्णय सावित भएको छ । उनी अहिले आर्थिक रूपमा आफ्नो खुट्टामा उभिन सफल भएका छन् भने आमाबुबाको अनुहार पनि हँसिलो पार्न सफल भएका छन् ।
खेलाडीदेखि प्रशिक्षकको भूमिका निर्वाह गर्दासम्म विनोदले आफ्नो स्कुल र कलेजलाई एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि जिताइसकेका छन् । विगत पाँच वर्षदेखि साइपाल एकेडेमीमा प्रशिक्षक, अतिरिक्त क्रियाकलाप र अनुशासन इन्चार्जको रूपमा कार्यरत विनोदले यो पाँच वर्षको अवधिमा छात्रातर्फ साइपाललाई अन्डर–१९ च्याम्पियनसिप, अन्डर–२० लुम्बिनी च्याम्पियनसिपको महŒवपूर्ण उपाधि जिताउन सफल भएका छन् । त्यस्तै ओडीसी इन्टरनेसनल एकेडेमी र लालीगुराँस एकेडेमीमा प्रशिक्षकको रूपमा कार्यरत विनोदले ओडीसीमा जुनियर ब्वाइजलाई हेर्दै आएका छन् । उनले जुनियर ब्वाइजतर्फ ओडीसीलाई २०–२५ वटा उपाधि दिलाउन सफल भइसकेका छन् । साथै प्रत्येक वर्ष ओडीसीमा बास्केटबलको आयोजना गरेर बास्केटबल खेलको विकासमा अहम् भूमिका निर्वाह गर्दै आएका छन् । साथै उनलाई यो कार्य गर्नमा साइपालका अध्यक्ष निरञ्जन चापागाईं, प्रिन्सिपल प्रवीण पौडेलले विशेष सहयोग गर्दै आएका छन् । त्यस्तै ओडीसीका प्रिन्सिपल नारायण रोक्काले पनि उनीसँग हातेमालो गर्दै आएका छन् ।
वर्तमान अवस्थामा ‘राष्ट्रिय रेफ्री’को पगरी गुथेका विनोद अहिले काठमाडौंमा आयोजना हुने क्लब, स्कुल, कलेज र राष्ट्रियस्तरको बास्केटबल प्रतियोगितामा रेफ्रीको भूमिका निभाउँदै आएका छन् । उनले यहाँसम्म आइपुग्दा रंगशालादेखि थाइल्यान्डसम्म रेफ्रीको ट्रेनिङ लिने अवसर पाएका छन् । जसले गर्दा उनलाई रेफ्री गर्दा सहज मात्र नभई एक कुशल रेफ्रीको रूपमा समेत स्थापित गरेको छ । नेपालमा व्यावसायिक रूपमा बास्केटबलको विकास नभए पनि आत्मनिर्भरचाहिँ बनाएको चर्चा गर्ने विनोदले आगामी दिनमा बास्केटबलले स्कुलको दिवारलाई पार गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छलाङ मार्ने विश्वास प्रकट गरेका छन् ।

खेल समाचार

पत्रकार भण्डारी सम्मानित
घटना र विचार साप्ताहिकका खेलकुद सम्पादक श्रीविक्रम भण्डारी ‘ईश्वरमान सिंह उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घले घटना र विचारका भण्डारी र कान्तिपुरका हिमेशरत्न बज्राचार्यलाई उक्त उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार– २०७० बाट पुरस्कृत गरेको हो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडलले उक्त पुरस्कार प्रदान गरेका थिए । पत्रकारद्वयलाई जनही रु. २५ हजार र प्रशंसापत्र प्रदान गरिएको थियो । २०६९ मा गोरखापत्रका राजेन्द्र चित्रकार र अन्नपूर्ण पोष्टका रोशन राउतले यो पुरस्कार पाएका थिए ।
त्यस्तै अभिलेखकृत उत्कृष्ट पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका राजु सिलवाल र उत्कृष्ट बुद्धिचाल पत्रकारिता पुरस्कार गोरखापत्रका प्रजित शाक्यलाई प्रदान गरिएको थियो । उनीहरूलाई समान आठ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । । यसअघि अभिलेखकृततर्फ नागरिकका विनोद पाण्डे र बुद्धिचालतर्फ मनोज घिमिरेले पुरस्कार पाएका थिए ।
कमलपोखरीस्थित रसियन सेन्टर अफ साइन्स एन्ड कल्चरमा आयोजित एक कार्यक्रमबीच सम्मानितलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नगदबराबरको चेक र प्रशंसापत्र प्रदान गरेका थिए ।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घको २४औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित महेन्द्र विष्ट, एसोसिएट्सबाट सचिव पदमा निर्वाचित ध्रुव लम्साल तथा एसोसिएट्सतर्फबाट सदस्यमा निर्वाचितद्वय प्रकाश तिमल्सिना र प्रदीप न्यौपानेलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्त्री पौडेलले नेपाली खेलकुदको विकासमा खेलकुद पत्रकारले पनि ठूलो भूमिका खेलेको धारणा व्यक्त गरेका थिए । पौडेलले खेलकुदको विकासका लागि दक्षिण एसियाली खेलकुद पत्रकार सङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । सो अवसरमा मन्त्री पौडेलले खेलकुदको समग्र विकासका लागि दशवर्षे योजना बनाउने कार्य भइरहेको जानकारी गराएका थिए । त्यस्तै राखेप सदस्यसचिव चूडामणि पौडेलले खेलकुद पत्रकारले आमजनमानसलाई खेलकुदसँग जोड्ने अहम् भूमिका निर्वाह गरेको विचार राख्दै राखेपले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । उनले खेलकुद विकासमा सरकारसँग आवश्यक समन्वय गरेर अगाडि बढ्नेसमेत जनाएका थिए । सो अवसरमा कार्यक्रमका अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले नेपालमा ओलम्पिक मुभमेन्टका लागि खेल पत्रकारहरूको ठूलो भूमिका खेलेको प्रस्ट पारेका थिए । प्रधानले सङ्घहरूले गर्ने कार्य पत्रकार आफँैले गर्नु सराहनीय कार्य भएको बताएका थिए । त्यस्तै, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले खेलकुदको विकासमा खेल पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै सबैसँग मिलेर कार्य गरे खेलकुद क्षेत्रले अझ विकास गर्ने औँल्याएका थिए ।
त्यस्तै उक्त पुरस्कार वितरण कार्यक्रममा रसियन कल्चर एन्ड साइन्सका प्रमुख सिमाकोभले सोचीमा भएको ओलम्पिकमा नेपालले गरेको सहभागिता सराहनीय भएको चर्चा गर्दै खेल क्षेत्रको विकासमा सधैँ सहयोग गर्ने बताएका थिए । सो अवसरमा पुरस्कार वितरण कार्यक्रमअघि सोची विन्टर ओलम्पिकका तस्बिरहरू प्रदर्शनीका लागि राखिएको थियो । जसको मन्त्री पौडेले उद्घाटन गरेका थिए ।

आईपीएलमा कोलकाताको सनसनी विजय
शाहरुख र प्रीतिको भिडन्त वीर–जारा फिल्ममा परिणत
आईपीएलको सातौँ संस्करण शाहरुख खानको कोलकाता नाइट राइडरले जितेको छ । बेंग्लोरको चन्दास्वामी स्टेडियममा भएको फाइनलमा कोलकाताले प्रीटि जिन्टाको किङ्गस् इलेभन पञ्जावलाई तीन विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९९ रन बनाएको थियो । फाइनलमा पञ्जावका लागि विकेटकिपर तथा ब्याट्सम्यान विद्दिमान शाहले एक सय १५ रनको उत्कृष्ट पारी खेलेका थिए । शाहले उक्त शतकीय पारीमा ५५ बल खेलेका थिए । उनी आईपीएलको फाइनलमा शतक बनाउने पहिलो तथा यो संस्करणमा शतक बनाउने तेस्रो खेलाडी भएका छन् ।
जवाफमा दुई सय रनको लक्ष्य पाएको कोलकाताले उत्कृष्ट खेलको प्रदर्शन गर्दै सनसनीपूर्ण विजय हासिल गरेको थियो । कोलकाताले १९.३ ओभरमा उक्त लक्ष्य भेट्टाएको थियो । कोलकातालाई जिताउन मनिष पाण्डेले शानदार ९४ रनको पारी खेलेका थिए । यो विजयसँगै कोलकाताले आईपीएलको उपाधि दोस्रोपटक जित्न सफल भएको छ । यसअघि २०१२ मा कोलकाताले उपाधि जितेको थियो । विजयसँगै कोलकाताले १५ करोड र उपविजेता पञ्जावले १० करोड प्राप्त गरेका छन् । वीर–जाराको संज्ञा दिइएको फाइनल खेलमा फिल्ममा झैं शाहरुखले प्रीतिलाई पाउन सफल भएझैँ यो प्रतियोगितामा पनि सफलता हात पारेका छन् । तर, दु:खित् प्रीतिले फिल्मको अन्त्यमा शाहरुखको साथ पाउँदा खुसी व्यक्त गरे पनि फाइनलमा पराजित हुँदा भने आँसु झारेकी थिइन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको उनको टिम फाइनलमा दुई सय रनको चुनौती दिँदा पनि पराजित भएपछि उनको मन कुँडिएको थियो ।

बक्सिङ खेलाडीलाई ट्रयाकसुट
दक्षिण कोरियाको इन्चोनमा हुने १७औँ एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली बक्सिङ खेलाडी र प्रशिक्षकलाई ट्रयाकसुट प्रदान गरिएको छ । मित्सुबिसी लियोन मोटर्स प्रा.लि. र एडिडासले ११ खेलाडीसहित १५ जनालाई ट्रयाकसुट प्रदान गरेको हो । पुरुष खेलाडीमा दीपक महर्जन, उजरसिंह थापा, रत्नबहादुर तामाङ, दीपक श्रेष्ठ, पूर्णबहादुर लामा, दिनेश श्रेष्ठ, लक्षुमन तामाङ तथा विक्रम परियार छन् । महिलामा मीनु गुरुङ, अनुराधा लामा र सरस्वती राना रहेका छन् । त्यस्तै प्रशिक्षकमा ओम मास्के, प्रचण्ड शर्मा, हरिशबहादुर चन्द र राज श्रेष्ठ छन् । उनीहरूलाई मित्सुबिसीका प्रबन्ध–निर्देशक आशिष श्रेष्ठ र रुट्स फेसनका प्रबन्ध–निर्देशक सञ्जीव तुलाधरले ट्रयाकसुट प्रदान गरेका थिए । सो अवसरमा गत पुसमा राजधानीमा सम्पन्न प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनअन्तर्गत द ब्रिटिस कलेज २५औँ राष्ट्रिय पुरुष तथा चौथो राष्ट्रिय महिला बक्सिङ प्रतियोगिताका सहयोगी राष्ट्रिय खेलकुद परिषद्, कान्तिपुर टेलिभिजन, मुख्य प्रायोजक द ब्रिटिस कलेजलगायत विभिन्न संस्थालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी, जेठ २० देखि राजधानीमा हुने दोस्रो नोबिस खुला राष्ट्रिय प्रतियोगितालाई वृज सिमेन्ट, नेबिको बिस्कुट, इक्यानलगायतका संस्थाले प्रायोजन गर्ने जानकारी पनि दिइयो ।

हिम्स अन्तरस्कुल बास्केटबल हुँदै
हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स)को आयोजनामा सातौँ हिम्स अन्तरस्कुल बास्केटबल प्रतियोगिता जेठ २३ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा आठ टिमको सहभागिता रहने हिम्सका यदु आचार्यले जनाएका छन् । ब्वाइज टिमलाई चार तथा गल्र्सलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । खेलहरू जोरपाटीको नारायणटारस्थित हिम्सकै कोर्टमा हुनेछ ।

अन्तर्राष्ट्रिय करातेमा न्यु लिरा टिम च्याम्पियन
नेपालको न्यु लिरा स्कुलले २०औँ अन्तर्राष्ट्रिय हाइस्कुल कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । न्यु लिराले १२ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा भारतले दोस्रो स्थान हात पारेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेसनल चिल्ड्रेन स्कुलका कमल थापामगर तथा महिलामा न्यु लिराकी एलिशा डोङ उत्कृष्ट खेलाडी चुनिएका थिए ।
नेपाल सितोरियो कराते डो सङ्घअन्तर्गतको हाइस्कुल कमिटीद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज १६–१७ वर्षको ८४ केजीमुनि न्यु लिराका साइमन रिसाल, ४५ केजीमुनि नेसनल चिल्ड्रेनका दिनेश नेपाली तथा ५० केजीमुनि पर्वानीपुर सत्तभैया स्कुलका आकाश पालले स्वर्ण जितेका थिए ।
सोही स्पर्धाको महिला ४५ केजीमुनि नेपालको स्नो एपेक्सकी रश्मी लामा र ६० केजीमुनि न्यु लिराकी धनमाया लामाले पहिलो स्थान हात पारेका थिए । क्याडेटतर्फ पुरुषमा नेपालको आदर्श आजादका प्रवीण लामा, नेपालको गान्धी हाइस्कुलका राजेश त्रिपाठी, आदर्श आजादका युनिश लामा, नेपालको लर्डबुद्ध स्कुलका अनिश लामा तथा नेसनल चिल्ड्रेनका आशिष थापाले आ–आफ्नो स्पर्धामा शीर्ष स्थान हात पार्दै स्वर्ण पदक जितेका थिए । क्याडेटको महिलामा नेपालको इन्द्रेश्वरी स्कुलकी सुनिता ब्लोन पहिलो भएकी थिइन् ।
सिनियर ब्वाइजको ५५ केजीमुनि गोनु गोयरी तथा ८४ केजीमाथि हिमांशु शरणले स्वर्ण जितेका थिए । दुवै भारतका हुन् । विजेतालाई नेपाल कराते महासङ्घका उपाध्यक्ष एवम् फिस्टेल एयरका चेयरम्यान विकासजंग राणा, नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङ, कराते महासङ्घका उपाध्यक्ष दीपक मल्होत्रा, सल्लाहकार माधव कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नेपालका ६ सय २१, भारतका तीन सय ६५ तथा बंगलादेशका १३ गरी जम्मा नौ सय ९९ खेलाडीले ५३ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकका अध्यक्ष ईश्वर थापा (गजेन्द्र) ले जनाएका छन् । प्रतियोगिताको उद्घाटन नेपाल कराते महासङ्घका संरक्षक तथा अख्तियार दुरुपगोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले गरेका थिए ।

अन्नपूर्ण कर्पोरट ब्याडमिन्टन साउनमा
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको संयुुुक्त आयोजनामा साउन २७ देखि ३१ गतेसम्म दोस्रो अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका ६ सय खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा कर्पोरेट, एजुकेटिभ र खुला गरी तीन स्पर्धा समावेश गरिएको छ । प्रतियोगिताको विजेता खेलाडीले एकतोला सुुनको वास्तविक स्वर्ण पदक र उपविजेताले आधा तोला सुनको रजत पदक पुुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण पोष्ट प्रकाशन संस्था थ्रीएनआईका प्रमुख सञ्चालक अधिकृत (सिओओ) हरि गौचन र काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका थिए ।

डुब्नबाट जोगिने तालिम सम्पन्न
नेपाल पौडी सङ्घले सञ्चालन गरेको पानीमा डुब्नबाट जोगिने उपायसम्बन्धी तालिम काठमाडौंमा सम्पन्न भएको छ । पहिलो चरणमा काठमाडौंको जोरपाटीस्थित हिम्स स्कुल र उत्तर भेगमा रहेको बुढानीलकण्ठ स्कुलमा करिब आठ सय साना विद्यार्थीले उक्त तालिमबाट खोला तथा जमेको पानीमा डुब्नबाट जोगाउने उपायबारे जानकारी लिएका थिए । दोस्रो चरणमा भक्तपुरमा बुधबारदेखि दुई दिन उक्त तालिम सञ्चालन गरिने नेपाल पौडी सङ्घले जनाएको छ । भक्तपुरमा यो कार्यक्रम उपलब्धिमूलक हुने सङ्घका महासचिव जगतमान श्रेष्ठले बताएका छन् । उनका अनुसार उक्त क्षेत्रमा इँटाभट्टा निकै भएकाले खाडलमा जमेको पानीमा परी धेरै बच्चाको मृत्यु हुने गरेको छ । तेस्रो तथा अन्तिम चरणको तालिम ललितपुरको सातदोबटोस्थित पौडीपोखरी र एलए स्कुलमा गरिनेछ । अमेरिकाको एकुवा मोसन इन्टरनेसनल (एएमआई) सँग सहकार्य गरी पौडी सङ्घले सञ्चालन गरेको तालिम जुन ४ तारिखसम्म सञ्चालन हुनेछ ।

एसियाली खेलककुदका लागि सुटिङ छनोट
नेपाल सुटिङ सङ्घले आसन्न १७औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गर्न सुटिङ छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट प्रतियोगिता बिहीबार र शुक्रबार सातदोबाटोस्थित सुटिङ रेन्जमा हुनेछ । एसियाली खेलकुदका लागि छनोट हुन एयर राइफलतर्फ पुरुषले ६ सयमा पाँच सय ७० तथा महिलामा चार सयमा तीन सय ७५ एमक्यूएस (मिनिमम क्वालिफिकेसन स्कोर) गर्नुपर्ने हुन्छ । त्यस्तै, एयर पेस्तोलको पुरुषमा ६ सयमा पाँच सय ६३ तथा महिलामा चार सयमा तीन सय ६५ न्यूनतम अङ्क जोड्नुपर्ने सुटिङ सङ्घका सचिव एवम् वरिष्ठ प्रशिक्षक प्रदीप खातीले जनाएका छन् । एसियाली खेलकुद आगामी सेप्टेम्बर १९ तारिखदेखि दक्षिण कोरियाको इन्चोनमा हुँदै छ ।

दृष्टिविहीन महिला क्रिकेट कास्कीले जित्यो
कास्कीले दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा जित हात पारेको छ । उक्त खेलमा कास्कीले बागमतीलाई सात विकेटले पराजित गरेको थियो । पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय ३७ रन बनाएको थियो । मनकेसी चौधरीले ५१, स्मृति बुढामगरले २८ तथा कप्तान सुनिता घिमिरेले १२ रन जोडेका थिए । जवाफमा कास्कीले १३ ओभर पाँच बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । जितमा माया गौतमले अविजित ७०, मुना अर्यालले २८ तथा सरिता घिमिरेले १८ रन योगदान गरेका थिए । माया ‘वोमन अफ द म्याच’ चुनिएकी थिइन् ।
त्यसअघि राष्ट्रिय क्रिकेट टिम र कलाकार टिमबीचको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिम १८ रनले विजयी भएको थियो । खेल पाँच–पाँच ओभरको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतले पुरस्कृत गरेका थिए । यसअघि प्रतियोगिताको सीएनएन हिरो अनुराधा कोइरालाले उद्घाटन गरेकी थिइन् । कार्यक्रम वोमेन्स ड्रिम ब्युटी एन्ड मल्टी सर्भिसेस, इलेक्ट्रो मेडिकल सोलुसन तथा हाउसवाइफ एसोसिएसनको संयुक्त आयोजनामा भएको हो । कार्यक्रम व्यवस्थापन पेरी विंकल सर्भिसेसले गरेको थियो ।