‘चार्जिङ स्टेसन’ नहुँदा बिजुली बस संचालनमा समस्या

‘चार्जिङ स्टेसन’ नहुँदा बिजुली बस संचालनमा समस्या


वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो। त्यसबाहेक उपत्यकामा ‘चार्जिङ स्टेसन’ छैनन् ।

साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्त रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय बसको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आरम्भ गरेका थिए। मुलुकमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुपर्छ भन्ने कुरा सरकारी नीतिमै परे पनि साधनहरूको ‘चार्जिङ’ व्यवस्थाबारे भने अवधारणा मात्रै छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले चार्जिङ स्टेसन निर्माण गर्नुपर्छ भन्ने विषय अहिलेसम्म अवधारणागत रूपमा मात्रै रहेको त्यसका लागि काम अगाडि नबढेको जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा छ।

विद्युतीय सवारी साधनप्रति आम नागरिकको समेत आकर्षण बढ्दै गएको अहिलेको अवस्थामा ती सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्ने विषय राज्यले नीतिगत रूपमा नै ल्याउनुपर्नेमा अहिलेसम्म त्यस्तो नीति निर्माण निर्माण हुन नसकेको अधिकारीले बताए ।