जीवनरामको अर्को अनियमितता– श्रीविक्रम भण्डारी

जीवनरामको अर्को अनियमितता– श्रीविक्रम भण्डारी


sportपूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले खेलकुद विकास ऐन २०४८ को मर्मविपरीत कार्य गरेको खुलासा भएको छ । श्रेष्ठले तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री मंगलसिद्धि मानन्धर एमालेको मन्त्री भएको फाइदा उठाउँदै अवैधानिक कार्य गरेको प्रस्ट रूपमा देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ०६३ चैत २ गते बसेको ५९औँ बोर्ड बैठकमा श्रेष्ठले आफ्नो अख्तियारीको दुरुपयोग गर्दै यस्तो गलत निर्णय गरेका हुन् । उक्त बोर्ड बैठकमा श्रेष्ठले खेलकुद विकास ऐनको धज्जी उठाउँदै आफूखुसी निर्णय गरेर आफ्नो दुनो सोझ्याएको बोर्ड बैठकमा गरेको म्याइन्युट हेर्दा ऐनाजस्तै छर्लङ्ग हुन्छ । श्रेष्ठले नेपाल ओलम्पिक कमिटीलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेर यस्तो गैरकानुनी निर्णय गरेका हुन् । जुन कानुनी र प्राविधिक रूपमा गलत भएको बोर्ड बैठकमा उपस्थित सदस्यहरूले गरेको हस्ताक्षरबाट थाहा पाउन सकिन्छ ।
खेलकुद विकास ऐन २०४८ अन्तर्गत ‘परिषद्को बैठक र निर्णय’को दफा ३ मा परिषद्को कुल सदस्य सङ्ख्याको पचास प्रतिशत सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक सङ्ख्या मानिनेछ भनेर प्रस्ट रूपमा उल्लेख गरिएको छ । तर, एघार सदस्यीय बोर्ड बैठकमा श्रेष्ठले राखेपका अन्य ६ जना सदस्यलाई बाइपास गर्दै अर्थात् जानकारी नै नगराई सदस्यसचिवको अख्तियारीको चरम दुरुपयोग गरेका छन् । पाँचजनाको मात्र माइन्युटमा हस्ताक्षर गराएर श्रेष्ठले नियमविपरीत नेपाल ब्याडमिन्टन सङ्घको नाममा रहेको जग्गा ओलम्पिक कमिटीलाई दिने निर्णय गरेका छन् । श्रेष्ठले म्याइन्युटमा तत्कालीन राखेप अध्यक्ष तथा खेलकुदमन्त्री मंगलसिद्धि मानन्धर, उपाध्यक्ष सीताराम मास्के, सदस्यसचिव जीवनराम श्रेष्ठ, सदस्य लक्ष्मणकुमार श्रेष्ठ र गंगाबहादुर थापामगरको हस्ताक्षर गराए पनि कोषाध्यक्ष अजर मानन्धर र सदस्यहरू बालानन्द पौडेल, पुरेन्द्रविक्रम लाखे, वीरेन्द्र यादव, राजु श्रेष्ठ र बोधराज निरौलाको हस्ताक्षर छैन । बोर्डको कुनै पनि निर्णय गर्दा ५० प्रतिशत सङ्ख्या चाहिने ऐनमा प्रस्ट छ । र पनि, श्रेष्ठले ऐनलाई कुल्चिँदै हिटलरी पारामा उक्त अवैधानिक निर्णय गरेका छन् । जसले अहिले ओलम्पिकलाई प्रदान गरिएको जग्गासमेत विवादमा तानिएको छ ।
प्राप्त जानकारीअनुसार नेपाल ओलम्पिक कमिटीले भवन निर्माणका लागि ०६३ फागुन २९ गते जग्गा उपलब्ध गराइपाऊँ भनी राखेपमा पत्राचार गरेको थियो । त्यसपछि राखेपले ०६२ मङ्सिर ३ गते बोर्डले गरेको बैठकलाई उल्ट्याउँदै एनओसीलाई जग्गा प्रदान गर्ने निर्णय गरेको थियो । उक्त बोर्ड बैठकमा सातदोबाटोस्थित राखेपको स्वामित्वमा रहेको जग्गामध्ये नेपाल टेनिस सङ्घलाई ‘टेनिस कोर्ट’ निर्माण गर्न र बाँकी रहेको जग्गा नेपाल ब्याडमिन्टन सङ्घलाई ‘ट्रेनिङ सेन्टर’ निर्माण गर्न उपलब्ध गराउने निर्णय गरेको थियो । तर, जग्गा प्रदान गरेको ६ महिनाभित्रै श्रेष्ठले हालसम्म उक्त स्थानमा टे«निङ सेन्टर निर्माणका लागि ब्याडमिनन्टन सङ्घले कुनै कार्य नगरेको भन्दै निर्णय बदर गरी एनओसीलाई उक्त जग्गा प्रदान गरेको थियो । स्मरणीय छ, त्यसबेला नेपालमा जनआन्दोलन चलेको थियो भने ६ महिनामा कुनै निर्माणकार्य अगाडि बढाउन सकिने अवस्था पनि थिएन । यसबारेमा ब्याडमिन्टन सङ्घका पदाधिकारीसँग सम्पर्क गर्दा त्यसबेला शक्तिको अगाडि आफू निरीह बनेको अभिव्यक्ति जाहेर गरेका छन् ।
एनओसीले राखेपलाई पत्राचार गरेको चार दिनभित्रै बसेको राखेपको बोर्ड बैठकले एनओसीलाई जग्गा प्रदान गर्ने निर्णय गर्नु आफैँमा आश्चर्यचकित कुरा हो । अन्यथा बिजुली चम्केर बादलसमेत गर्जिन नपाउँदै चार दिनको अत्यन्त छोटो अवधिमा अवश्य पनि श्रेष्ठले एनओसीलाई उक्त जग्गा प्रदान गर्ने निर्णय कदापी गर्ने थिएनन् । यसमा श्रेष्ठको आर्थिक अनियमितताको गन्ध लुकेको थियो । उनले एनओसीलाई नियमविपरीत अवैधानिक तरिकाले जग्गा उपलब्ध गराउने क्रममा एनओसीसँग लाखौँको आर्थिक लाभ लिएको सूत्रको दाबी छ । कुल सात कित्ताबाट ६ रोपनी जग्गा व्यक्तिगत रूपमा आफ्नो स्वार्थ पूरा गर्न जीवनरामले एनओसीलाई प्रदान गरे पनि उक्त जग्गा कानुनी र प्राविधिक रूपमा अहिले पनि ब्याडमिन्टन सङ्घकै नाममा देखिन आउँछ । तसर्थ यदि ब्याडमिन्टन सङ्घले ०६२ मङ्सिर ३ गते भएको राखेपको बोर्ड बैठकको निर्णयलाई आधार मानी जरुरी दिएमा त्यो जग्गा ब्याडमिन्टन सङ्घले नै पाउने प्राय: निश्चित छ । वैधानिक निर्णय नगरी हचुवाको भरमा जबर्जस्ती एनओसीलाई जग्गा प्रदान गरेका श्रेष्ठको गैरकानुनी हरकतले गर्दा अहिले उद्घाटनसमेत गर्न बाँकी रहेको ओलम्पिक कमिटीको भवन सङ्कटमा परेको छ । यो विषयमा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठमाथि कसरी छानबिन गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ । स्मरण रहोस्, ओलम्पिक भवन निर्माण गर्न झन्डै तीन करोड रुपैयाँ खर्च भएको सुनिन आएको छ ।

विश्वकप फुटबल २०१४
विश्वकपको प्रतीक्षामा विश्व तरङ्गित
सन्निकट भएको विश्वकप प्रतियोगिताले विश्वका फुटबलप्रेमीका मुटुको धड्कन बढाइदिएको छ । साँचो अर्थमा भन्नुपर्दा यही जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा आयोजना हुन गइरहेको फुटबलको ‘कम्पन’ले यतिबेला विश्वलाई नै तरङ्गित बनाइदिएको छ । आयोजक राष्ट्र ब्राजिल अपूरो तयारीको आरोपको सामना गर्दै विश्वकपको अन्तिम तयारीमा जुटिसकेको छ । पाहुनाको स्वागत र आतिथ्यमा अहिले ब्राजिलका होटेल, रंगशाला र वेश्यालयहरू दुलहीझैँ सिँगारिएका छन् । विभिन्न ३२ राष्ट्रका खेलाडी र आगन्तुकको आगमनसँगै अहिले ब्राजिलको रौनकतामा चार चाँद लागेको छ । ‘काला मोती’का नामले चिनिने फुटबलका पुराणपात्र ‘पेले’को जन्मभूमिमा आयोजना हुन लागेकाले पनि यो विश्वकपले विशेष संज्ञा पाएको छ । अझ फुटबलको महारथी ब्राजिलमा विश्वकप फुटबलको २०औँ संस्करण आयोजना हुनु आफैँमा विशेष मानिएकाले यो विश्वकपमा ब्राजिलको प्रतिष्ठा दाउमा लागेको छ । सफल आयोजनसँगै उत्कृष्ट प्रदर्शन ब्राजिलको पहिचान र चुनौती बनेका छन् । तसर्थ विश्वकपलाई सफलताको मूर्तरूप दिन युद्धस्तरमा लागेको ब्राजिल आफ्नो मिहिनेतमा कति खरोे उत्रिन्छ त्यो अहिले हेर्नलायक र प्रतीक्षाको विषय बनेको छ । आशा गरौँ, ब्राजिलले सम्पूर्ण चुनौती पार गर्दै आफूलाई सक्षमताको मार्गमा उभ्याउन सफल हुनेछ ।
इतिहास :
सन् १९०४ मा फ्रान्सका जुलियस रिभेट्सको अध्यक्षतामा फिफाको गठन भएको थियो । जसको संस्थापक सदस्य राष्ट्रको रूपमा फ्रान्स, डेनमार्क र नेदरल्यान्ड रहेका थिए । हाल फ्रान्सका सेफ ब्लाटर फिफा अध्यक्षको रूपमा रहेका छन् । स्थापनाकालमै बसेको फिफाको बैठकले प्रत्येक चार वर्षमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरे पनि त्यो निर्णय कार्यान्वयन हुन सकेन । सन् १९२० मा भएको फिफाको बैठकले सन् १९२४ को पेरिस ओलम्पिकमा यो कुरामा सैद्धान्तिक सहमति जनाएको थियो । सन् १९३० मा उरुग्वेको राजधानी मोन्टेभिडियोमा पहिलो विश्वकपको आयोजना गरिएको थियो । उक्त विश्वकपमा ९३ राष्ट्रको सहभागिता रहेको थियो । यी विश्वकपमा सहभागी राष्ट्रलाई चार समूहमा विभाजित गरेर प्रत्येक समूहको विजेतालाई क्वार्टरफाइनलमा प्रवेश गराइएको थियो ।
सन् १९३४ र ३८ मा विश्वकपमा सहभागिताका लागि छनोट प्रतियोगिताको सुरुवात भएको थियो । ती विश्वकपमा ३६ राष्ट्रबाट १६ वटा टिम छानिएका थिए । सन् १९४२ र ४६ को विश्वकप दोस्रो विश्वयुद्धका कारण हुन सकेन । १९५० मा चौथो विश्वकपको आयोजना गरिएको थियो । १३ टोलीको सहभागिता रहेको यो विश्वकप राउन्डरोबिनको आधारमा खेलाइएको थियो । यसै विश्वकपदेखि इंग्ल्यान्डको विश्वकप यात्रा सुरु भएको हो । १९५४ मा स्वीट्जरल्यान्डमा भएको विश्वकपमा नयाँ प्रविधि अपनाइएको थियो । यो विश्वकपमा १६ वटा टोलीलाई समावेश गर्दै चार समूहमा विभाजन गरेर खेलाइएको थियो । साथै समूहका शीर्ष दुई टोलीलाई क्वार्टरफाइनलमा प्रवेश गराइएको थियो । सन् १९८२ मा स्पेनमा आयोजित विश्वकपमा २४ राष्ट्रलाई सहभागिता गराइएको थियो । १९९८ मा फ्रान्समा आयोजित विश्वकपपछि ३२ राष्ट्रलाई सहभागिता गराउन सुरु भएको हो ।
विश्वकप २०१४ ब्राजिल
सन् १९४६ देखि निरन्तर रूपमा आयोजना हँुदै आएको विश्वकपको २०औँ संस्करण यही जुन १२ अर्थात् जेठ ३० गतेदेखि ब्राजिलमा सञ्चालन हुँदै छ । ब्राजिलका विभिन्न चर्चित सहरमा आयोजना हुन लागेको विश्वकपको अहिले सम्पूर्ण तयारी भइसकेको छ । दुहलीझैँ सिँगारिएको ब्राजिल अहिले विश्वकपको आयोजनाको लागि आतुर देखिएको छ । तै पनि समयमै भौतिक पूर्वाधारको निर्माणमा ढिलासुस्ती हुँदा ब्राजिलको आलोचना भइरहेको छ । ६ महिनाअघि सकिनुपर्ने रंगशालाको निर्माणकार्य अहिलेसम्म पनि चलिरहेकाले पश्चिमा मुलुकले ब्राजिलको आलोचना गरेका हुन् । तर, ब्राजिलले सम्पूर्ण पूर्वाधार निर्माणको कार्य सम्पन्न भइसकेको दाबी गर्दै विभिन्न सहरमा रंगशाला निर्माण गर्नुपरेकाले बढी समय लागेको प्रस्ट पारेको छ । पश्चिमा मुलुकको आरोपलाई खण्डन गर्दै आयोजक ब्राजिलले यो ब्राजिललाई विश्वसामु बदनाम गर्ने षडयन्त्र भएको खुलासा गरेको छ ।
यही जेठ ३० गतेदेखि विश्वकप फुटबलको २०औँ संस्करण शुभारम्भ हुनेछ । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबलमा अहिले विश्वका ३२ राष्ट्र अन्तिम चरणका लागि छनोट भएर ब्राजिल पुगिसकेका छन् । विश्वकप छनोट चरणमा साँढेझँै जुधेर अहिले विश्वका उत्कृष्ट ३२ राष्ट्र ब्राजिल, क्रोसिया, मेक्सिको, क्यामरुन, स्पेन, नेदरल्यान्ड, चिली, अस्ट्रेलिया, कोलम्बिया, ग्रिस, आइभोरीकोस्ट, जापान, उरुग्वे, कोस्टारिका, इंग्ल्यान्ड, इटाली, स्वीट्जरल्यान्ड, इक्वेडर, फ्रान्स, हुन्डुरस, अर्जेन्टिना, बोस्निया–हर्जगोभिना, इरान, नाइजेरिया, जर्मनी, पोर्चुगल, घाना, यूएसए, बेल्जियम, अल्जेरिया, रसिया, दक्षिण कोरिया विश्वकप २०१४ मा भिड्नका लागि तयारी अवस्थामा रहेका छन् । यी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा ‘ग्रुप अफ डेथ’को संज्ञा समूह ‘डी’ले पाएको छ । जुन समूहमा उरुग्वे, इंग्ल्यान्ड, इटाली र कोस्टारिका परेका छन् ।
जेठ ३० गते रातिदेखि शुभारम्भ हुन गइरहेको विश्वकप फुटबल प्रतियोगिताको आगमन र चहलपहलले अहिले विश्वका करोडौँ फुटबलप्रेमीको मनमस्तिष्कलाई अस्थिर बनाएको छ । आफ्नो प्रिय खेलको अन्तिम नायकको रूपमा छनोट भएका ३२ राष्ट्रको प्रदर्शनबारे उनीहरूलाई सोच्न बाध्य पारेको छ । खेलको अन्तिम परिणाम विजय–पराजय भए पनि विश्वकपको शुभारम्भदेखि अन्त्यसम्म हुने रोचक, रोमाञ्चक र सनसनीपूर्ण घटनाले अहिले विगतका विश्वकपझैँ यो विश्वकप पनि चासो विषय बनेको छ । उनीहरूमा ब्राजिल विश्वकपको मतमतान्तर गर्न जुटिसकेका छन् । तसर्थ यो विश्वकप पनि विभिन्न कारणले गर्दा रोचकताको मार्गमा उभिएको छ ।
सन्निकट आएको विश्वकपप्रति फुटबलप्रेमीहरूको आफ्नै विचार र धारणा रहे पनि फुटबलका विशेषज्ञहरूका अनुसार भने यो विश्वकप ब्राजिल, जर्मनी, इंग्ल्यान्ड, अर्जेन्टिना, नेदरल्यान्ड, स्पेन र उरुग्वेकै वरिपरि घुम्ने अड्कल र अनुमान गरेका छन् । र पनि, विश्वकप अड्कल र अनुमान गरेझैँ हुन्छ भन्ने छैन । महावली मुसो सावित भएको विश्वकपको इतिहासलाई यहाँ कदापि नकार्न सकिँदैन । एसियन राष्ट्रहरू जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलियाको चुनौतीलाई पनि यहाँ कम आँक्न मिल्दैन । यी राष्ट्रहरूको पनि दोस्रो चरणमा पुग्ने सम्भावना प्रबल छ । अझ १७औँ विश्वकपमा दक्षिण कोरियाले सेमिफाइनलको यात्रा तय गर्नु र यसै विश्वकपमा जापानले दोस्रो चरणमा पुगिसकेकाले यी राष्ट्रले पुन: ऐतिहासिक प्रदर्शन नदोहो¥याउलान् भन्न सकिँदैन । यसरी अहिले विश्वकप फुटबलबारे विभिन्न चर्चा–परिचर्चा चले पनि ती अनुमान र अड्कल मात्र हुन, वास्तविक नतिजा थाहा पाउन विश्वकपको नतिजा नै कुर्नुपर्नेछ ।
विश्वकपमा नेपाल
सम्पूर्ण विश्वमा अहिले विश्वकप फुटबलको ज्वरो बिस्तारै बढ्ने क्रम जारी छ रहे पनि नेपाल यसबाट अछुतोे रहेको छैन । नेपालमा पनि विश्वकपसम्बन्धी विभिन्न समाचार प्रेषित भइरहेका छन्, अडकलबाजी चलेका छन् । कसले ‘विश्वकप’ जित्ला, कुन खेलाडी ‘हिरो’ बन्ला, कसले ‘गोल्डन बल’ पाउला, कसले ‘गोल्डन सु’ जित्ला भन्नेबारेमा बहस छेडिएको छ । नेपालको विश्वकप फुटबलको इतिहास कोट्याउँदा छनोट चरणमै सीमित छ । र पनि, नेपालको सर्वाधिक लोकप्रिय खेल फुटबलमा नेपालले विश्व छनोट चरणमा गरेको उत्कृष्ट प्रदर्शनलाई कदापि नजरअन्दाज गर्न मिल्दैन । नेपालले सन् १९७१ मा अन्तर्राष्ट्रिय फुटबल सङ्घ (फिफा) तथा एसियाली फुटबल महासङ्घ (एएफसी) बाट सदस्यता प्राप्त गरेको थियो । त्यसको ठीक १५ वर्षपछि नेपालले सन् १९८६ को मेक्सिको विश्वकपका लागि दक्षिण एसियाली राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप छनोट चरणमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको थियो ।
नेपालले अहिलेसम्म चारवटा विश्वकप छनोट चरणका प्रतियोगितामा सहभागिता जनाएको छ । सन् १९८६ देखि विश्वकपमा आफ्नो उपस्थिति जनाएको नेपालले त्यसपछि सन् १९९०, १९९८ र २००२ को विश्वकपका छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् १९८६ मा पहिलोपटक विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले आफ्नै होम ग्राउन्ड दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने मौका पाएको थियो । अनुभवहीन नेपालका लागि यो भिडन्त आफैँमा चुनौती थियो । त्यसमाथि दक्षिण कोरिया र मलेसियासँग भिड्नुपर्ने बाध्यताले गर्दा नेपाली टोलीको होस उडेको थियो । अझ ती दुई टिमले गरेको प्रशिक्षण हेर्नेहरूले नेपालले पचासौँ गोल खाने भनेर टिप्पणी गर्दा नेपाली टिमको मनोबल निकै खस्केको थियो । तर, बाहिरी हल्लाजस्तो भए पनि दक्षिण कोरियासँगको पहिलो खेलमा नेपाली टिमले गोर्खाली भएर भिडन्त गरे । दक्षिण कोरियाजस्तोे विश्वकै उत्कृष्ट टिमलाई दुई गोलमै रोक्न सफल भएका थिए ।
यो खेलमा प्राय: सबै खेलाडीले स्तरीय प्रादर्शन गरे पनि सबैभन्दा उत्कृष्ट खेलको प्रदर्शन भने ‘गोलकिपर’ लोकबहादुर शाहीले गरेका थिए । शाहीको उत्कृष्ट र ऐतिहासिक खेलको प्रदर्शनले गर्दा नै नेपाल धेरै गोल खानबाट बचेको थियो । शाहीको यही उत्कृष्ट प्रदर्शनले गर्दा दक्षिण कोरिया दुई गोलमा सीमित रहेको थियो । यसपछि वाहवाही बटुलेका शाहीलाई ‘चुम्बकीय गोलकिपर’को संज्ञा दिइएको थियो । दोस्रो खेलमा आफ्नो खेल कौशललाई अझ निखारेका शाहीकै उत्कृष्ट प्रदर्शन र प्रेरणाले मलेसियालाई नेपालले बराबरीमा रोक्न सफल भएको थियो । यो खेलमा मलेसियाले नेपाललाई दबाबमा राखेर थुप्रै ‘पोल अट्याक’ गरे पनि त्यसलाई शाहीले उत्कृष्ट बचाउ गर्दै सबै आक्रमणलाई विफल पारिदिएका थिए । शाहीको यही उत्कृष्ट प्रदर्शनबाट प्रभावित भएर तत्कालीन फुटबल सङ्घका अध्यक्ष तथा जनरल नरशमशेर राणाले उनलाई नगद पाँच सय रुपैयाँ पुरस्कारस्वरूप प्रदान गरेका थिए । यो पुरस्कारलाई शाहीले आफ्नो फुटबलजीवनको सबैभन्दा ठूलो पुरस्कारको रूपमा लिएका छन् । यसर्थमा कि यसपछि उनको खेलजीवनमा नै कायापलट भएको थियो ।
चारवटा विश्वकप छनोट प्रतियोगिता खेलेको नेपालले सो अवसरमा दक्षिण कोरिया, मलेसिया, सिंगापुर, ओमान, जापान, मकाउ, इराक र काजिकिस्तानसँग खेल्ने मौका पाएको थियो । यी राष्ट्रहरूमध्ये इराक र मकाउलाई मात्र नेपाल गोल गर्न सफल भएको थियो । मकाउविरुद्ध नीराजन रायमाझीले ह्याट्रिकसमेत गरेका थिए । विश्वकप छनोट चरणमा १५ गोल गर्न सफल भएको नेपालले मकाउविरुद्ध १३ गोल र इराकविरुद्ध दुई गोल गरेको थियो । ती गोल गर्ने खेलाडीममा नीराजन रायमाझी सात, हरि खड्का तीन, बसन्त थापा दुई, बालगोपाल महर्जन एक, दीपक अमात्य एक र दीपक लामा एक थिए । त्यस्तै नेपालले यी सबै खेलमा कुल ८१ गोल खाएको थियो । सन् २००४ देखि नेपालले विश्वकप छनोट चरणका खेलहरूमा सहभागिता जनाएको छैन ।

विश्वकप समाचार
विश्वकप विजेतालाई तीन करोड ५० लाख डलर
ब्राजिलमा आयोजना हुन गइरहेको विश्वकपको २०औँ संस्करणमा विजेता टिमले तीन करोड ५० लाख अमेरिकी डलर पाउने भएको छ । यो गत वर्षको विजेता स्पेनले पाएको पुरस्कारभन्दा ३७ प्रतिशत बढी हो । यो विश्वकपमा विश्व फुटबल महासङ्घ (फिफा)ले कुल पुरस्कारस्वरूप ५७ करोड ६० लाख अमेरिकी डलर पुरस्कारस्वरूप प्रदान गर्ने भएको छ । त्यस्तै विश्वकपको उपविजेता टिमले दुई करोड ५० लाख, तेस्रो हुनेले दुई करोड २० लाख, चौथो हुनेले दुई करोड अमेरिकी डलर प्राप्त गर्नेछन् ।
त्यस्तै, क्वार्टरफाइनलमा पराजित प्रत्येक टिमले एक करोड ४० लाख डलर पाउनेछन् । यसैगरी अन्तिम १६ मा पराजित हुनेले ९० र पहिलो चरणमै बाहिरिएको टिमले टिम ८० लाख अमेरिकी डलर पाउनेछ । फिफाले यसपटक विश्वकपको अन्तिम चरणमा पुगेका ३२ राष्ट्रलाई तयारीबापत १५ लाख डलर प्रदान गर्ने भएको छ । यसैगरी विश्वकपका लागि खेलाडी उपलब्ध गराएकोमा क्लबहरूलाई पनि फिफाले सात लाख डलर प्रदान गर्ने भएको छ । खेलाडीको बिमादेखि पुरस्कार राशिसम्ममा आकर्षक वृद्धि गरेको फिफाले विश्वकप विजेतालाई २४ क्यारेटको गोल्ड ट्रफी र खेलाडीलाई दुई सय २० क्यारेटको गोल्ड मेडल दिने भएको छ ।

विश्वकप फाइनल टिकटको मूल्य ७० हजार
विश्वकपका लागि फिफाले ५५ लाख टिकट अनलाइन र अन्य माध्यमबाट बिक्री गर्नका लागेको छ । केही महŒवपूर्ण म्याचको टिकट अनलाइनमार्फत बुकिङ खुला गरेको केही घन्टाभित्र नै सकिएको थियो । सामान्य म्याचको टिकटको मूल्य २८ हजार रुपैयाँसम्म रहेको छ । फाइनल स्पर्धाको टिकटको मूल्य करिब ७० हजार रुपैयाँसम्म रहेको छ । विश्वभरिका दर्शक सो टिकट दश गुणा बढी पैसा तिरेर खरिद गर्न तयार रहेको समाचार एजेन्सीले बताएको छ ।
त्यसैगरी खेलाडीका लागि पनि समर्थकहरूको प्रतिस्पर्धा रोचक छ । विश्वकप सकिँदासम्म विश्वका करिब ५० लाख मानिसले खेलाडीको टाटु बनाउने अनुमान गरिएको छ । जुन देशले विश्वकप जित्नेछ त्यो देशको सेयर बजारमा एक महिनासम्म करिब ३ दशमल ५ प्रतिशतले वृद्धि हुने सम्भावना रहेको अध्ययनले देखाएको छ । इन्भेष्टमेन्ट फर्म गोल्डम्यानले पछिल्ला फिफा विश्वकपका दौरान सेयर बजारको अध्ययन गरेका थिए । सो अध्ययनले प्रत्येक विश्वकपपछि विजेता देशको सेयर बजारमा सकारात्मक प्रभाव छोडेको देखाएको छ । तर, सो विषयमा ब्राजिल भने अपवादका रूपमा उभिएको थियो । २००२ मा विश्वकप जितेपछि पनि ब्राजिलको सेयर बजारमा सकारात्मक प्रभाव देखिएन । किनकि बजार आर्थिक मन्दीको चपेटामा परेको थियो ।

चोटका कारण विश्वकप गुमाउने चर्चित खेलाडी
जर्मनीका मिडफिल्डर मार्काे रिउसले ब्राजिलमा हुने विश्वकप गुमाउने भएका छन्् । चोटका कारण उनले विश्वकप गुमाउने भएका हुन् । अर्मेनियाविरुद्धको मैत्रीपूर्ण खेलमा २५ वर्षका रिउज घाइते भएका थिए । उनी कम्तीमा ६ देखि सात हप्ता मैदानबाहिर रहनेछन्् । जर्मनी प्रशिक्षक जोकिम लोले यो रिउस र जर्मनी दुवैका लागि दु:खद् भएको बताएका छन् । चोटका कारण मिडफिल्डर लार्स बेन्डर यसअघि नै बाहिरिसकेका छन्् ।
चोटको समस्याले जर्मनीलाई मात्र होइन, ३२ वटा देशमध्येका अन्य केही दाबेदार देशलाई पनि पिरोलेको छ । जसले गर्दा उनीहरूको प्रदर्शनमा फरक पर्न सक्छ । प्रत्येक खेलाडीको सपना विश्वकपमा खेल्ने हुन्छ, तर विश्वकपको मुखमा आएर चोटका कारण मैदानबाहिर रहनुपर्दा राष्ट्रले समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । विश्वकप गुमाएका फ्रान्सका स्टार खेलाडी फ्रायक रिबेरीले त ‘आत्मा मरेजस्तो’ अनुभव भएको बताएका छन्् । कोलम्बियाका स्ट्राइकर राडामेल फाल्काओले पनि चोटका कारण विश्वकप नखेल्ने निश्चित भइसकेको छ । फ्रान्सका भरपर्दा खेलाडी फ्र्याँक रिबेरी पनि ढाडको चोटका कारण विश्वकपमा देखिने छैनन् । ब्रायन म्युनिखका खेलाडी रिबेरीका लागि २०१४ नै विश्वकपमा आफ्नो प्रतिभा देखाउने अन्तिम समय हुन सक्थ्यो । फ्रान्सका ग्रेनिइर पनि तिघ्राको चोटका कारण विश्वकपबाट बाहिरिसकेका छन्् । रुसका कप्तान रोमन सिरोकोभ खुट्टाको चोटका कारण विश्वकपबाट बाहिरिए । कप्तान गुमाएपछि रुसका प्रशिक्षक फाबिओ कापेलोका लागि ठूलो समस्या उत्पन्न भएको छ ।
घानाका डिफेन्डर जेरी एकामिन्कोले पनि विश्वकप गुमाएका छन् । हालै २०१० को फाइनलिस्ट नेदरल्यान्ड्सँग १–० ले पराजित भएको खेलमा उनको घुँडामा चोट लागेको थियो । इटालीका रिकार्डाे मान्टोलिभो खुट्टा भाँचिएपछि विश्वकपलाई बाइबाई गर्न विवश भए । उनी इटालीका महŒवपूर्ण मिडफिल्डर हुन् । त्यसैगरी मेक्सिकोका लुइस मोन्टेसले पनि खुट्टाको चोटका कारण विश्वकप गुमाएका छन् । २३ वर्षीय ब्रायन म्युनिखका मिडफिल्डर मार्चदेखि नै लिगामेन्टको समस्याका कारण विश्वकपबाट बाहिरिएका थिए । स्पेनका थिएगोले पनि विश्वकप गुमाउने भएका छन् ।

एन्फा विवादको समाधानको पाटो बन्दै विश्वकप
एन्फामा अपारदर्शिताले जरो गाडेको र अध्यक्ष गणेश थापाले तानाशाही रूपमा एन्फा हाँकेको आरोप लगाउँदै विरोधमा उत्रिएका एन्फा उपाध्यक्ष किशोर राई थापासँगै हालै ब्राजिल उडेपछि विभिन्न शङ्का–उपशङ्का उत्पन्न भएका छन् । राई ब्राजिलमा हुने ६४आँै फिफा कङ्ग्रेसमा नेपालको प्रतिनिधित्व गर्न त्यहाँ गएको भनिए पनि उनको प्रस्थानसँगै आन्दोलन बीचैमा तुहिने प्रबल सम्भावना बढेर गएको छ । सो टोलीमा सीईओ इन्द्रमान तुलाधर र सदस्य गणेशबहादुर चन्द पनि रहेका छन् ।
पछिल्लो समयमा एन्फा विवाद चुलिएको अवस्थामा थापाले विवादलाई मत्थर पार्ने उपायका रूपमा विश्वकपलाई प्रयोग गर्ने समाचार प्रेषित भएका थिए । अहिले यो कुरा सत्य सावित भएको छ । उनले आफूसँग असन्तुष्ट रहेकालाई विश्वकप देखाएर आफ्नो प्रभावमा पार्ने योजनामा रहेको बुझिएको छ । जिल्लादेखि केन्द्रमा रहेका असन्तुष्ट पदाधिकारीलाई ब्राजिल भ्रमण गराएर थापा आफूमाथि लागेको आरोप ढाकछोप गर्ने दाउमा रहेका छन् । थापाले ब्राजिल उड्नुअघि राईलाई विवादलाई छोडेर मिल्न आग्रह गरेको जानकारीमा आएको छ । विश्वकप हेर्न एन्फाबाट करिब २८ जनाजति जाने तयारी रहेको बुझिएको छ ।

एक लाख १५ हजार पाउण्ड थापाको गोजीमा
एन्फा अध्यक्ष थापाले मोहमद विन हमामको कन्स्ट्रक्सन कम्पनी केम्कोको नामबाट दुईपटक गरी एक लाख १५ हजार पाउण्ड लिएको खुलासा भएको छ । कतारको विश्वकप आयोजनाका लागि भ्रष्टाचार गरेको विषयमा फिफाले गठन गरेको कमिटीलाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने ‘द सन्डे टाइम्स’ले थापाले उक्त रकम लिएको समाचारमा जनाएको छ । थापाले उक्त रकम सन् २०१० को मार्च र अगस्टमा गरी दुईपटक केम्कोबाट लिएको उल्लेख गरिएको छ । कतारमा सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न हमामले फिफाको माथिल्लो निकाय र विश्व फुटबल सङ्घका पदाधिकारीलाई आर्थिक सहयोग गरेको ब्रिटिस मिडियाहरूले दाबी गर्दै आएका छन् । त्यस्तै, दुई वर्षअघि एएफसीको लेखा प्रशिक्षणमा थापाका छोरा गौरव थापाको नाममा हमामले एक लाख डलर जम्मा गरेको देखिएको थियो । सो समाचार प्रकाशित भएपछि थापाले त्यो रकम आफूले व्यक्तिगत खर्चका लागि लिएको स्वीकार्दै पछि फर्काइदिएको बताएका थिए ।

विश्वकप २०१४ प्रारम्भिक चरणको खेल तालिका
समूह ‘ए’
ब्राजिल, क्रोसिया, मेक्सिको, क्यामरुन
समूह ‘बी’
स्पेन, नेदरल्यान्ड, चिली, अस्ट्रेलिया
समूह ‘सी’
कोलम्बिया, ग्रिस, आइभोरीकोस्ट, जापान
समूह ‘डी’
उरुग्वे, कोस्टारिया, इंग्ल्यान्ड, इटाली
समूह ‘ई’
स्वीट्जरल्यान्ड, इक्वेडर, फ्रान्स हुन्डुरस
समूह ‘एफ’
अर्जेन्टिना, बोस्निया–हर्जगोभिना, इरान, नाइजेरिया
समूह ‘जी’
जर्मनी, पोर्चुगल, घाना, यूएसए
समूह ‘एच’
बेल्जियम, अल्जेरिया, रसिया, दक्षिण कोरिया

समूह ‘ए’

राष्ट्र खेल समय
ब्राजिल–क्रोसिया जेठ ३० गते बिहान पौने २ बजे
मेक्सिको–क्यामरुन जेठ ३० गते राति पौने १० बजे
ब्राजिल–मेक्सिको असार ४ गते बिहान पौने १ बजे
क्यामरुन–क्रोसिया असार ४ गते बिहान पौने ४ बजे
क्यामरुन–ब्राजिल असार १० गते बिहान पौने २ बजे
क्रोसिया–मेक्सिको असार १० गते बिहान पौने २ बजे

समूह ‘बी’
स्पेन–नेदरल्यान्ड जेठ ३१ गते बिहान पौने १ बजे
चिली–अस्ट्रेलिया जेठ ३१ गते बिहान पौने ४ बजे
अस्ट्रेलिया–नेदरल्यान्ड असार ४ गते राति पौने १० बजे
स्पेन–चिली असार ५ गते बिहान पौने १ बजे
अस्ट्रेलिया–स्पेन असार ९ गते राति पौने १० बजे
नेदरल्यान्ड–चिली असार ९ गते राति पौने १० बजे

समूह ‘सी’
कोलम्बिया–ग्रिस जेठ ३१ गते राति पौने १० बजे
आइभोरीकोस्ट असार १ गते बिहान पौने ७ बजे
कोलम्बिया–आइभोरीकोस्ट असार ५ गते राति पौने १० बजे
जापान–ग्रिस असार ६ गते बिहान पौने ४ बजे
ग्रिस–आइभोरीकोस्ट असार ११ गते बिहान पौने २ बजे
जापान– कोलम्बिया असार ११ गते बिहान पौने २ बजे

समूह ‘डी’
उरुग्वे–कोस्टारिका असार १ बजे बिहान पौने १ बजे
इंग्ल्यान्ड–इटाली असार १ बजे बिहान पौने ४ बजे
उरुग्वे–इंग्ल्यान्ड असार ६ गते बिहान पौने १ बजे
इटाली–कोस्टारिका असार ६ गते राति पौने १० बजे
कोस्टारिका–इंग्ल्यान्ड असार ६ गते राति पौने १० बजे
इटाली–उरुग्वे असार १० गते राति पौने १० बजे

समूह ‘ई’
स्वीट्जरल्यान्ड–इक्वेडोर असार १ गते राति पौने १० बजे
फ्रान्स–होन्डुरस असार २ गते बिहान पौने १ बजे
स्वीट्जरल्यान्ड–फ्रान्स असार ७ गते बिहान पौने १ बजे
होन्डुरस–इक्वेडोर असार ४ गते राति पौने ४ बजे
इक्वेडोर–फ्रान्स असार १२ गते राति पौने २ बजे
होन्डुरस–स्वीट्जरल्यान्ड असार १२ गते राति पौने २ बजे

समूह ‘एफ’
अर्जेन्टिना–बोस्निया हर्जगोभिना असार २ गते बिहान पौने ४ बजे
इरान–नाइजेरिया असार ३ गते बिहान पौने १ बजे
अर्जेन्टिना–इरान असार ७ गते राति पौने १० बजे
नाइजेरिया–बोस्निया हर्जगोभिना असार ४ गते बिहान पौने ४ बजे
बोस्निया हर्जगोभिना–इरान असार ११ गते राति पौने १० बजे
नाइजेरिया–अर्जेन्टिना असार ११ गते राति पौने १० बजे

समूह ‘जी’
जर्मनी–पोर्चुगल असार २ गते राति पौने १० बजे
घाना–यूएसए असार ३ गते बिहान पौने ४ बजे
जर्मनी–घाना असार ८ गते राति पौने १ बजे
यूएसए–पोर्चुगल असार ९ गते बिहान पौने ४ बजे
पोर्चुगल–घाना असार १२ गते राति पौने १० बजे
यूएसए–जर्मनी असार १२ गते राति पौने १० बजे

समूह ‘एच’
बेल्जियम–अल्जेरिया असार ३ गते राति पौने १० बजे
रसिया–दक्षिण कोरिया असार ४ गते बिहान पौने ४ बजे
बेल्जियम–रसिया असार ८ गते राति पौने १० बजे
दक्षिण कोरिया–अल्जेरिया असार ९ गते बिहान पौने १ बजे
अल्जेरिया–रसिया असार १३ गते बिहान पौने २ बजे
दक्षिण कोरिया–बेल्जियम असार १३ गते बिहान पौने २ बजे