र्व्यर्थ बितेको मधुमास -श्रीधर शर्मा

र्व्यर्थ बितेको मधुमास -श्रीधर शर्मा


नेकपा एकीकृत माओवादीको समर्थनमा नेकपा एमालेका अध्यक्ष श्री झलनाथ खनाल मुलुकको प्रधानमन्त्री भएको १०० दिन पुग्यो । अर्थात् खनाल सरकारको ‘मधुमास’ सकियो । तर, यस अवधिमा वर्तमान सरकारले गरेका कामकारबाहीको विश्लेषण गर्दा कुनै पनि उल्लेख्य काम हुन सकेन । यति मात्र होइन, प्रधानमन्त्रीको रूपमा झलनाथ खनाल र वर्तमान सत्ता-समीकरण नै एकप्रकारले असफल प्रमाणित हुन पुग्यो ।
प्रथमत: वर्तमान सरकारले अझैसम्म पनि पूर्णता पाउन सकेको छैन । अहिलेकै आकार लिन पनि अस्वाभाविक समय लाग्यो जसको असर अहिले मुलुकको सम्पूर्ण क्षेत्रमा परिरहेको छ । शान्तिसुरक्षाको कमजोर अवस्था, सस्तो लोकप्रियताका लागि पूरक बजेट ल्याउने प्रयास र श्वेतपत्रको नौटंकी तथा प्रशासनमा हस्तक्षेपजस्ता काम खनाल सरकारका आलोचनाका प्रमुख पक्ष हुन् ।
यस अवधिमा सरकारको ध्यान केवल सत्ता टिकाउने अस्वाभाविक तानाबानातर्फ मात्र केन्द्रित भयो । आमजनताले राहतको अनुभूति गर्नसक्ने केही काम त हुन सकेन नै दलहरूबीचको दूरी बढ्दै गएका कारण सर्वत्र निराशा व्याप्त हुन पुग्यो । लोकतान्त्रिक शक्तिहरूको बेवास्ता र अपमान गर्दै, लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध अघि बढिरहेका कारण खनाल स्वयम् तथा उनको नेतृत्वको सरकारप्रति आशङ्का र अविश्वास बढ्दै गएको छ ।
मुलुकमा इन्धनको सङ्कट भएको एक महिना नाघ्यो, तर अझैसम्म पनि वर्तमान सरकारले यसमा कुनै निकास दिन सकेको छैन । इन्धनको खोजीमा नागरिकको घन्टौँ समय लाइनमा बितेको छ । तर, सरकार ‘अब सहज हुन्ो’ भन्दै जनता झुक्याउँदै छ जब कि इन्धन आपर्ूर्तिका लागि भारतसँग भएको भनिएको सहमति भारतले नमान्ने बताइसकेको छ र अझै कति दिन यो सङ्कट रहने हो र यसको समाधान कसरी हुने हो कुनै निश्चितता छैन ।
प्रधानमन्त्री खनालले शान्ति र संविधानमा अर्जुनदृष्टि भएको भाषण त गरिरहेका छन् तर उनको अर्जुनदृष्टि माओवादी रिझाउने र सत्तामा टिक्नेसिवाय कतै छैन भन्ने घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् । आफ्नै दलभित्र सरकारका कामकारबाही र विशेषत: प्रधानमन्त्रीले चालेका कदमहरूको विरोध भइरहेको छ तर पार्टीको बैठक बोलाएर त्यसलाई साम्य पार्नभन्दा बोलाएको बैठक पनि स्थगित गर्नेजस्ता काम गरेर प्रधानमन्त्रीले केवल आफू सत्तामा टिक्ने ध्येयमात्र लिइरहेको देखिन्छ ।
हुन त प्रधानमन्त्रीले ‘हनिमुनको अवधिमा पनि सुखसँग बस्न नपाएको’ र ‘हनिमुन अवधि व्यर्थै बितेको’ गुनासो गरेका छन् जब कि मुलुकको अवस्था हनिमुनमा रमाउने नभई रातदिन दिलोज्यानले काम गर्नुपर्ने हो । फेरि उनी आफैं अनेक किसिमका चलखेलमा संलग्न भएका कारण पनि मधुमास सुखद र सुमधुर हुन नसकेको हुनसक्छ । यसैले यसको दोष अरूलाई दिन पाउँदैनन् ।
जे होस्, कमरेड झलनाथका दु:खसुखका सय दिन फगत प्रधानमन्त्रीकै रूपमा बिते । नेपाली जनताले केही नपाए पनि उनले प्रधानमन्त्रीको लहरमा एउटा थप फोटो झुन्ड्याउने मौका पाए । सत्ताकै चिन्ताले हतारहतारमा फर्के पनि इस्तानबुलको सयर गरे । केही नगरेर पनि सय दिन कटाउने सफलता मिलेकोमा प्रधानमन्त्री खनाललाई शुभकामना ।