दुई–चारवटा फिल्म खेल्यो, चर्चा कमायो, दुनियाँका नजरमा प-यो अनि त्यसपछि राम्रो परिवारको अफर कुरेर घरजम गरेपछि विदेश हुइँकियो । यस्तै छ अहिलेका नेपाली चलचित्रका अधिकांश हिरोइनका तालमाल, सोच र योजना । अभिनय, सिनेमाको स्तरीयताजस्ता कुरासँग उनीहरूको खासै लगाव देखिँदैन । उनीहरू त नेपाली सिनेमा क्षेत्रलाई आफ्नो एक्सपोजरको माध्यम वा भ-याङ बनाएर माथि चढ्नतिर मात्रै उद्यत् रहेका देखिन्छन् । नेपाली सिनेमा त उनीहरूका लागि आफ्नो विज्ञापन या प्रचारप्रसार गर्ने सशक्त माध्यम मात्र बन्ने गरेको छ ।
सिनेमा क्षेत्रलाई नै कर्मथलो बनाउँदै यही क्षेत्रमा केही गर्छु भनेर लागेकाहरू विस्तारै पलायन हुन थालेपछि केहीलाई छाडेर भन्ने हो भने अहिले आएका ‘कलाकार’हरू अधिकांश सिनेमा क्षेत्रलाई च्याँखेको रूपमा मात्र हेर्न थालेका छन् । ताक परे तिवारी नत्र गोतामे भनेजस्तै दिमागमा यस्तो सोच राखेर हिँड्न थालेको देखिन्छ । हुन पनि हो उनीहरूको व्यवहारले पनि यस्तै देखाएको छ ।
सिनेमा क्षेत्रमा आएको तीन/चार वर्ष पनि भएको छैन र खासै अनुभव पनि संगालेको छैन, तर यिनीहरू नै अनुभवी तथा खारिएका नायिकाहरूभन्दा उचालिएर ठूला कुरा मात्र गर्दैनन्, अवसर या राम्रो केटो पाउनासाथ सिनेमा क्षेत्रलाई नै तिलाञ्जली दिएर घरजम गर्न हतारिन्छन् । यस्तै प्रवृत्तिको पछिल्लो उदाहरण बनेकी छिन् अभिनेत्री ऋचासिंह ठकुरी । चलचित्र ‘नाइँ नभन्नु ल’बाट अभिनय यात्रा सुरु गरेकी ऋचाले चलचित्र क्षेत्रमा जम्न–जम्न लागेको समयमा विवाह गर्न पुगिन् । यसै साता वैवाहिक बन्धनमा बाँधिएकी ऋचाले ‘नाइँ नभन्नु ल’पछि म तिम्रो भइसकेँ, खुट्किलोलगायत आधा दर्जनभन्दा बढी चलचित्रमा गतिलै भूमिका पाएकी थिइन् । अलिकति नाम चलेकै समयमा विवाहको प्रस्ताव आउँदा यस्तो प्रस्ताव पछि फेरि नआउला भन्ने सोचेर नै उनले हतारमा विवाह गरेको कुरा चर्चामा छ । सेलिबे्रटीको विवाहको बारेमा त चर्चा पनि चल्छ, पहिलेदेखि नै हल्ला पनि हुन्छ, तर ऋचाले सुटुक्क केही औँलामा गन्न सकिने चलचित्रकर्मीलाई मात्र निम्त्याएर विवाह गरिन् । विवाहलगत्तै श्रीमान्का साथ अस्टे«लिया जाने तयारीमा रहेकी ऋचाको फिल्मी करिअर पनि विवाहसँगै अन्त्य हुन पुगेको अनुमान गरिएको छ ।
मोनिलाको डायरीमा करिश्माका कुरा
यदि तपाईं नेपाली चलचित्र र नेपाली नाट्य क्षेत्रको बारेमा चासो राख्ने गर्नुहुन्छ र यस क्षेत्रबारे केही कुरा थाहा होस् भन्ने पनि चाहनुहुन्छ भने तपाईंलाई मोनिलाको डायरी साँच्चिकै उपयोगी हुनसक्छ । मोनिला अर्थात् नाट्यकर्मी, चलचित्रकर्मी एवम् पुराना रङ्ग–पत्रकार मोहन निरौला ।
भर्खरै बजारमा आएको मोनिलाको डायरीमा नेपाली चलचित्र क्षेत्रसँग आबद्ध चलचित्रकर्मीहरूको संलग्नताबारे गजब तरिकाले प्रस्तुतीकरण गरिएको छ । यो डायरी पढ्दा अतीतका रोचक र जानकारीमूलक धेरै कुराको ज्ञान लिन सकिन्छ । लेखक निरौलाले आफ्नो कलाकारिता यात्राका संस्मरणलाई डायरीमा निकै गहन र रोचक तरिकाले प्रस्तुत गरेका छन् । अहिले उच्च श्रेणीमा पुगेका कलाकर्मीहरूको विगतको अवस्था अनि उसले यो स्थानसम्म आइपुग्न गरेको त्याग, मिहिनेत र कष्टप्रद यात्राबारे पनि डायरीमा खुलासा गरिएको छ । एक सय २८ पृष्ठको यस डायरीका सम्पादक शान्तिप्रिय हुन् भने प्रविश प्रकाशनले पुस्तक बजारमा ल्याएको हो । ‘परिवर्तन नेपाल’का केन्द्रीय अध्यक्ष रहेका लेखक मोहन निरौलाले चलचित्र लेखन, निर्देशन र समाज सेवा तीनै विधालाई एकसात् कसरी अगाडि बढाए भन्ने पनि मोनिलाको डायरीमा स्पष्ट खुलाइएको छ ।
पुराना कलाकर्मीहरूसँगको सङ्गतले कलाकारिता यात्रामा परेका समस्या मात्र होइन कि उनीहरूको साथ र सहयोगले पु-याएको फाइदा अनि सफलताबारे पनि डायरी बोलेको छ । अहिलेकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धरदेखि शान्ति मास्केसम्मका प्रसङ्ग र अतीतका कुराहरू डायरीको अर्को सबल पक्ष हो । शिव श्रेष्ठदेखि नाट्यकर्मी सुनिल पोखरेल र विराटनगरका सर्जक रमेश बुढाथोकीदेखि नेपाल टेलिभिजनमा जागिर खाएका कृष्ण मल्ल र लय सङ्ग्रौलासम्मका अतीतका प्रसङ्गले मोनिलाको डायरीलाई रोचक र कुतूहलपूर्ण बनाएको छ ।
जुर्मुराए ‘झिल्के ड्राइभर’
नेपालमा रहँदा उनी पर्यटन व्यवसायी थिए । यो क्षेत्रमा दिलोज्यानले लागेका नित्यानन्द आचार्य अवसर पाएपछि युरोपतिर हानिए र अहिले पनि युरोपको सुन्दर सहर फ्रान्समा लोभलाग्दो गरी बसेका छन् ।
नित्यानन्द आचार्य यस्ता व्यक्ति हुन् जो नेपाली गीत/सङ्गीतका प्रशंसक मात्र नभई स्वयम् पनि गायक नै हुन् । गीत–सङ्गीतमार्फत नेपाली पर्यटन क्षेत्रबारे ज्ञान वा जानकारी मिल्ने सिर्जना प्रस्तुत गर्न सिपालु आचार्यको लोक गीति एल्बम ‘झिल्के ड्राइभर’ले त्यतिबेला रामै्र नाम र ‘वाहवाही’ कमायो । करिब आठ–दश वर्षअगाडिको यो प्रसङ्ग अझै पुरानो भइसकेको छैन । मनको धोको, चाह र इच्छा पुरानो हुँदैन र मर्दैन भन्ने कुरा जहाँसुकै गए पनि मर्दोरहेनछ भन्ने नित्यानन्दले व्यवहारत: स्पष्ट पारेका छन् । अहिले आफू फ्रान्समा भए पनि गीत गाउने अनि गीत/सङ्गीतमा लाग्ने धोको उनले मर्न नदिने भएका छन् । यसकारण पनि उतैबाट नेपाली एल्बम निकाल्ने तयारीमा लागेका छन् उनी । ट्रयाक नेपालमा तयार पारेर आवाज भने फ्रान्समै राख्ने उनको योजना अब चाँडै पूरा हुने भएको छ । आचार्य भन्छन्, ‘विश्वको जुनसुकै कुनामा जसरी रहे पनि पुरानो धोको र इच्छा मर्दोनरहेछ । आर्थिक अभावका कारण पूरा गर्न नपाएका कुराहरू अब पूरा गर्नेछु । गीत/सङ्गीतमा डटेर लाग्नेछु ।’
बिमाकुमारी दुरासँग नित्यानन्दले गाएको झिल्के ड्राइभर बोलको गीत रामै्रसँग चलेको थियो त्यतिबेला । त्यही गीतका कारण हौसिएर अन्य केही एल्बम पनि निकाले उनले । त्यही क्रममा पुरोप हुइँकिएका उनी उतै बसेपछि गीत/सङ्गीतबाट बाध्यताबस टाढिन पुगे । अब भने नयाँ जोस, उमङ्ग–उत्साहका साथ गीत/सङ्गीतमा फर्कन लागेका नित्यानन्द भन्छन्, ‘अब बीचमा छोडिँदैन । पहिलेभन्दा अहिले नेपाली गीत/सङ्गीत राम्रो र बजार पनि बृहत् भएकाले निरन्तरता नै हुन्छ, त्यो पनि सफलताका साथ ।’
गरिमालाई बृहत् सम्मान गरिने
उनले कहिल्यै अङ्ग प्रदर्शनलाई महŒव दिइनन् । सस्तो र चाँडो लोकप्रिय हुन केही अभिनेत्रीहरूले गरेजस्तो स्क्यान्डल पनि मच्चाइनन् । व्यवहार र शैली जस्तो छ त्यस्तै रूपमा चलचित्रको पर्दामा निरन्तर रूपमा विविध भूमिकामा देखिँदा आज गरिमाले मीठो फल चाख्न पाएकी छिन् ।
सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेपछि चर्चाको चरम चुलीमा पुगेकी गरिमालाई यतिबेला बधाई र सम्मानको ओइरो नै लाग्न थालेको छ । तर, विडम्बना जुन क्षेत्रले उनको मूल्याङ्कन गरेर गर्व गर्नुपर्ने थियो त्यो क्षेत्र भने मौन छ यतिबेला । चलचित्र क्षेत्र र चलचित्र कलाकारहरूको हकहित अनि सम्मानका लागि भनेर गठन भएका चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ/संस्थाहरू यतिबेला चुप छन् । केवल राजनीतिमा नै रुमल्लिरहेका यिनीहरू आफ््नै कलाकारहरूको सफलता, प्रगति र उन्नतिका लागि खुसीसमेत हुन सक्दैनन् । अवस्था यस्तो भएता पनि सरकारी पहलबाट भने गरिमालाई बृहत् सम्मान गरिने भएको छ ।
गत अङ्कमा घटना र विचारमा प्रकाशित गरिमालाई चलचित्र क्षेत्रसँग आबद्ध सङ्घ/संस्थाहरूले केही गरेनन् भन्ने विषयमा समाचार प्रकाशित भएपछि संस्कृति मन्त्रालयले गरिमाको मनोबल बढाउन सम्मान गर्ने भएको छ । केही दिनभित्रै मन्त्रालयले एक विशेष कार्यक्रमको आयोजना गरेर गरिमा पन्तले चलचित्र झोलामार्फत नेपाली कलाकार र चलचित्र क्षेत्रको विश्व माझ मान, सान र सम्मान बढाएकोमा सम्मान गर्न लागेको कुरा बताइएको छ । गरिमालाई मन्त्रालयले नगदसहित सम्मान गर्न लागेको जानकारी दिइएको छ ।
प्रतिक्रिया