म सांसद हुँ

म सांसद हुँ


– हिमोढ पहाडी

म सार्वभौम संसद्को सांसद हुँ
नेपाली जनताको विधाता र
यो देशको मसिहा हुँ
म देशको कानुन बनाउँछु
र त म कानुनभन्दा माथि छु ।

अल्छी लागे त्यहीँ सुतिदिन्छु
सभामुखलाई चप्पल हान्न छुट छ
अर्थमन्त्रीको बजेट भाषणको ब्रिफकेस
सार्वभौम संसद्भित्रै लुटेर
टुक्राटुक्रा पारेर फुटाउने छुट छ
किनकि मलाई कानुनले
त्यहाँबाट गलहत्याउन सक्दैन ।

मैले राजनीतिक दलको झन्डा बोकेर
आउने पाँच वर्षको लागि
मैले के गरिनँ
चुनावमा बुथ कब्जा गरिनँ कि
मेरो कालो धनलाई
सेतो बनाउँदै
सम्पत्तिले एक–एक भोट किनिनँ कि
निर्वाचन आयोगको आचारसंहिताले
केही लछारपाटो लाएन
किनकि मैले
मेरोविरुद्धमा लेख्ने मिडियाका मान्छेलाई
तारेहोटेलमा भोड्कामा डुबाउँदै
कागजी हात्तीमा चढाएर
खुसी बनाएकै त हो ।

मैले चुनावमा लुटाएको सम्पत्ति असुल गर्न
डनहरूलाई उपयोग गरेँ त के भो
व्यापारीबाट कमिशन लिएँ त के भो
गोरे भरिया बनेर ल्याउने सुनको
लगानीकर्ता पनि हुँ
आखिर म सार्वभौम सांसद हुँ ।

त्यसैले त मलाई खुला मैदानमा
जसलाई पनि बलात्कार गर्ने छुट छ
फौजदारी अभियोगमा अब
मविरुद्ध कसैले
लेख्ने र बोल्ने दुस्साहस नगरे हुन्छ
मैले बनाएको कानुनले
अब मलाई कसरी छुन्छ ?
म अब देशका सम्पदाहरू
कौडीको मूल्यमा बेचेर
आफ्ना सन्ततिहरूको लागि
विदेशका महँगा कलेजहरू रोज्दै
नयाँ बाटो खोलिदिन सक्छु ।

विगतका आन्दोलनहरूमा
लाठी अनि बुट त खाएकै त थिएँ
त्यसको बदलामा दुई–चारवटा
राता पासपोर्टहरूबाट
अलिकति कमाएँ त के भयो ?
के अब मैले आफ्नो सम्पत्ति
श्रीमतीको नाममा देखाउन पनि नपाउने
स्रोत नखुलेको सम्पत्ति
अनि स्वआर्जन गरेको सुन–चाँदी
ससुरालीको दाइजो पनि भन्न नपाउने
हो त्यसैले म आफू बच्न
आफ्नै लागि सार्वभौम संसद्बाट
मैले यो कानुन बनाएको हुँ
किनकि म सार्वभौम सांसद हुँ ।

– हाल : पोल्यान्ड