पाठक मञ्च

पाठक मञ्च


pathakmanchशास्त्रको रहस्य रहस्यमै !
गताङ्क (११ असार, ०७१)मा बबिता बस्नेतद्वारा लेखिएको ‘काजकिरिया कति दिन’ लेख पढेर मलाई केही भन्न मन लाग्यो ।
धर्म संस्कार परिवर्तन स्वाभाविक कुरा हो । धर्मको नाममा समाजमा कलहको यही एक मात्र कारण हो । हिजो पुर्खाहरूले १३ वर्षसम्म मान्ने चलन आज घट्दै आएर १३ दिनको भएको छ । अब १३ घन्टामा पु-याए पनि के भो र । यो संस्कार भन्ने कुरा सबै रुढिवादी चलन हो । समयानुसार परिवर्तन भइनै रहन्छ । किन व्यर्थै टाउको दुखाउनु र । शास्त्रको वास्तविक उद्गारलाई जब तोडमोड गरिन्छ तब यस्तै हुन्छ । शास्त्रले त स्पष्ट गरेको छ कि तिमी नित्य कर्म गर, आफ्नै उद्धार गर । जब तिमीले मोक्ष अर्थात् कैवल्य पद पाउँछौ तब तिमीले आफ्ना सबै पितृलाई पनि उद्धार गर्नेछौ । यसको अर्थ हो आफूले भोगेर आएको पूर्वजीवनहरू सबै तृप्त हुन्छ, न कि आफन्तहरूको आत्मा । यहाँ आफूले आफ्नै आत्माको उद्धार गर्ने भनेर बुझाइएको हो ।
गीतामा विषाद्ग्रस्त अर्जुनले भावावेशमा आएर भन्दछ कि यो नरसंहारयुक्त युद्धले पितृहरू खस्दछन् । घोर पाप हुन्छ । भगवान् म यो युद्ध गर्दिनँ । पितृहरूलाई पछि कसले पिण्डदान र तर्पण दिन्छ ? हामी किन यस्तो पाप गर्न गइरहेछौँ ? भन्दा श्रीकृष्ण भन्नुहुन्छ– यो अज्ञान तिमीलाई कहाँबाट आयो ? अर्थात्, पिण्डदान र तर्पणलाई भगवान् अज्ञान भन्दै हुनुहुन्छ । अझै बुझाउने क्रममा भन्नुहुन्छ कि जसरी पुरानो वस्त्र फेरेर शरीर नयाँ वस्त्र धारण गर्दछ ठीक त्यसरी नै आत्मा शरीररूपी वस्त्र फेरेर नयाँ शरीररूपी वस्त्र धारण गर्दछ । बीचमा कुनै स्थान छैन र विराम पनि छैन । अर्को शरीर पाएपछि उसका लागि त्यहाँ पनि भोग सामग्रीहरू उपलब्ध छन्, फेरि यो पिण्डदान र तर्पणले कसलाई तृप्त गरिँदै छ ? अत: यो पनि अज्ञान नै हो । श्रीकृष्ण भन्नुहुन्छ– अविवेकीहरूको बुद्धि अनन्त हुन्छ । उनीहरू थुप्रै कार्यहरूको विस्तार गर्दछन् । ती सबै लोकबन्धन हुन् । अर्जुन तिमी नित्य कर्म गर । हुन त आजकल यस्तो कुरामा कसले विश्वास गर्लान् र !
शास्त्रवचन कहिल्यै बेठीक थिएन र हुँदैन पनि । वास्तवमा शास्त्र वचनले हामीलाई मोक्ष प्राप्तिका लागि इच्छा गरून् । ईश्वरप्रति आस्था र श्रद्धा गरून् भन्ने र यसपट्टि सही आचरण गरून् भन्ने चाहन्छ, तर मानिस शास्त्र वचनलाई सदैव आफूअनुकूल नै व्याख्या गर्न रुचाउँछ । त्यसैले आजकलको यो जमानाका मानिसहरूका लागि शास्त्रको रहस्य रहस्य नै भएर रह्यो ।
– हिमालय गौतम, सम्पर्क : ९८०३४२३९५२