अभिशप्त तिहार

अभिशप्त तिहार


– डिल्लीराम अम्माई ‘अनाथ अंकल’

दशैँको सप्तमीको बेलुका साउदीबाट आउँदा धनेले ११ हजार रुपैयाँ र २ पोका चकलेट नीराको हातमा राखिदिएको थियो । दशैँमा उसको दाजु शरणले फोनबाटै भनेको थियो, ‘बैनी अरू सबै कुरा म तिहारमा आउँदा लिएर आउनेछु, अहिलेलाई दशैँखर्च मात्र पठाएको छु धने दाइसँग । दशैँ राम्रोसँग मनाउनु है… ।’ नीराले भक्कानिँदै ‘हुन्छ दाइ…’ भनेकी थिई ।

उसको दाइ शरण पनि ९ कक्षाको जाँच दिएर आमा बितेपछि पढ्न छाडेको थियो । आमा बितेको १ वर्ष नहुँदै उसैको गाउँका साथीहरू धने र दामोदरसँगै म्यानपावरमार्फत साउदी गएका थिए । शरणले आमाको काजकिरिया र घरखर्चको ऋण तिर्न १ लाखजति मामाबाट ऋण लिएर भवन निर्माणको कामदार भिसामा अरब पुगेको हो । उसकी एक मात्र बहिनी घरमा मामा र आफ्नै काका अ‍ैतरामको जिम्मामा छोडेको थियो । धम्कीको विरामी आमाको मृत्युले उसको ऋणको बोझ अझै थपिएकोले त्यहाँ बसेर उसले त्यो ऋण तिर्न सक्ने कुरै थिएन । त्यसमाथि बहिनी १७ वर्षकी भइसकेकीले बिहे गर्नुपर्ने, अनि आफू पनि २१ वर्षको भइसकेको थियो । यी सबै कुरा सोचेरै उसले एक्ली बहिनी र शाही बाजेको २ वर्षे अधियाँ पाडो घरमा छोडेर बिदेसिनुपरेको थियो । दाइले धनेको बाउको मोबाइलमा २ महिनाको एकपटक बहिनीसँग कुरा गथ्र्यो । बहिनीले ‘काम कस्तो छ दाइ ?’ भनेर सोध्दा, ‘त्यस्तै त हो ! बिल्डिङ बनाउने काम हो, चर्को घाममा अग्लो ठाउँमा काम गर्नुपर्छ, पैसा पनि भनेजति दिएन कम्पनीले…’ भनेर जवाफ फर्काउँथ्यो । बैतडीको माईथानमा सानो दलितबस्तीमा उसको घर थियो ।

‘धनेदाइ दशैँमा घर आए, हाम्रा दाइ पनि तिहारमा घर आउने रे !’ नीराले खुसी हुँदै गाउँलेहरूलाई गफ दिन्थी । आफ्ना नजिकै आइरहेका खुसीका दिनहरूलाई हजारपल्ट गनेर नजिक ल्याउने हरदम प्रयास गरिरहेकी थिई उसले । फक्रँदै गरेको जवानीले उसको शरीरमा नयाँ जिज्ञासा र भावनाले अत्याइरहनु पक्कै पनि असामान्य थिएन । उसको खुसी उसका दाजुको काम र कमाइसँग जोडिएकोले भावनाको पहिलो चरणमा नै दाइको तस्बिर अगाडि आइहाल्थ्यो । दाइले कमाएपछि राम्रो घरमा आफ्नो बिहेको कल्पना गर्थी र कल्पनाको लहर नटुगिँदै लाजले भुतुक्कै हुँदै बसेको ठाउँँबाट उठेर हिँड्थी । दाइसँग फोनमा कुरा गर्दा पनि उसको लामो कुरा हुँदैनथ्यो । ‘अब लाहुर नजाने गरेर धेरै कमाएर ल्याऊ है दाइ… ।’ धेरैपटक त्यही वाक्य हुन्थ्यो उसको । तर, दाइको व्यथा के थियो त्यो चञ्चल नीरालाई के थाहा !! दाइले ‘अरबको खाडीको मुटु नै फुट्ने चर्को घाममा कसरी पलपल बिताइरहेको होला ? कति दुःखसँग २ पैसा बचाएर बैनीलाई घर चलाउन साथीभाइसँग पठाउँदो हो ! …. ’ त्यो सोच्ने नीरालाई फुर्सदै कहाँ थियो र । शाही बाजेको थारो पाडोलाई घाँस काट्ने र घरको लुरे धन्दामै उसको दिनचर्या बितेको थियो । कल्पनामा भने दाइ तिहारमा आएपछिको रमाइलोलाई सजाएर राखेकी थिई ।

काग तिहार गयो, कुकुर तिहारको दिन आयो । धने एकाबिहानै नीराको घरको ढोका ढकढक्याउन पुग्यो । उसले नीरालाई ठूलै आवाजमा बोलायो । ‘नीरा ए नीरा… !’ नीरा गोठमा पाडोलाई नल हाल्न गएकी थिई । ‘हजुर धने दाइ… !’ भन्दै घरतर्फ आई । ‘नीरा आज दिउँसो राजाधानी जानुपर्ने भयो । तँ कपडा लाइवरी ठिक्क परेर बस है’ धनेले आत्तिएको भावमा भन्यो ।

‘किन र दाइ ? हाम्रा दाइले त लिन आउनुपर्दैन भन्थे त !’ उसले ‘अरू कुरा केही होइन, काकाले भनेर म आको’ यति भनी ऊ घरतर्फ हानियो । नीराले मनमनै सोची ‘शायद दाइलाई सन्चो भएनछ कि वा सामान धेरै ल्याएछन् कि .. खै धने दाइ त आत्तिएका थिए त फेरि ।’ यस्तै अनेक कुरा सोच्दै ऊ घरभित्र पसी र भाइटीकाको दिन दाजुलाई माला लगाइदिन आफैँले बिरुवा उमारेर फुलेका ढकमक्क सयपत्री फूलतर्फ हेरी । फर्सीको झ्याङभित्र गएर फर्सीहरू गनी । पिँडालु सुकाएर राखेको फाटेको मान्द्रोबाट डालोमा पिँडालुहरू खन्याई र भित्र राखी । दोकानबाट किनेर ल्याएको ओखरलाई खोपामा थन्क्याई । त्यत्तिकैमा ऊ काकाको घरतर्फ हान्निई । काका आँगनमा बसेर कटुसको पातको बिँडी बनाउँदै थिए । नीराले काकालाई सोधी, ‘काका हाम्रा दाइ आए र काठमाडौं ?’ काकाले बिस्तारै भने, ‘नीरे ! के भनो धनेले तँलाई ? तँ काठमाडौं नगए पनि हुनी भो । हामी जान्छौँ, नआत्तीकन घरको धन्दा गर्नु, हामी अलिक दिनमा फिर्छौँ ।’ धने, काका, मामा, को–को राजाधानी गए नीरालाई के थाहा हुने भो र ? पर्सिपल्ट लक्ष्मीपूजाको दिन, दाइको दीर्घायुको कामना गर्दै उसले भगवान्सँग प्रार्थना गरिरहेकी थिई ।

लक्ष्मीपूजाको दिन पनि आयो, दैलोमा बगाएका तेलका धारासँगै आफ्नो पवित्र मनले दाइलाई सम्झी । मनमनै मुस्कुराई । घरको सरसफाइतर्फ लागी । आँगनको कसेरलाई तल्लो गरातर्फ मिल्क्याई । मामाले दिएको एउटा पोथी कुखुरा पनि स्यालले लगेको थियो अघिल्लो जेठमा । त्यस्सले बिस्ट्याएका सेता धब्बा अझै आँगनका छपनीमा टल्किरहेका थिए । चिसो टालोले सबै धब्बाहरूलाई पुछी । किनकिन उसको आँखाबाट आँसु बग्यो, त्यो कुखुरासँग पनि उसले थुप्रै सपना सजाएकी थिई होला र त उसको आँखाबाट आँसु झरे होला ।

‘भोलि तिहार ! दाइ आएपछि त तीन वर्षपछिको दाइको अनुहार हेर्नुपर्ला ! मोटाएको छ कि गलेको ? अनि प्रदेशका गफ सुन्नुपर्ला । दाइले दुई वर्षसम्म पैसा कमाउन के–के गरे ? आहा ! कति मज्जा !!! अब त दाइलाई नजा भन्छु विदेश । कि बिहे गरेर भाउजू ल्या अनि जा भन्छु । अर्काको पाडो पालेर पनि बस्दिनँ । कहिले हुने हो र अरूको अधियाँ पालेर …’ यस्तै कुरा खेलाउँदै ऊ बसेनी खरबारीमा दाउरा खोज्न निस्की डोको बोकेर । घरमा दाउरा छैन । सेल पकाउनुपर्ला दाइ आएपछि । उसले अनेकथरी कुरा खेलाउँदै दाउरा खोजी र घर फर्की ।

बेलुका पाँच बजेतिर ऊ गाउँमाथिको देउरालीको चौतारीमा एक डोको दाउरा र दुई मुठा खरको भारी बिसाई र घरतर्फ हेरी । घरमा जल्याङमल्याङ मान्छेहरूको भीड मात्र देखी । उसले सोची, ‘दाइ आएछ ।’ ऊ हस्याङफस्याङ गर्दै घर पुगी ।

घरमा थुप्रै गाउँले जम्मा भएका थिए । सबैको अनुहार आँसुले भरिएको र काका कपाल खौरेर कोरा कपडामा मान्छेहरूको बीचमा रोइरहेका ! डोको फालेर ऊ काकानजिक पुगेर सबैको अनुहार एक टकले हेरी । अन्तमा काकाको अनुहारमा गएर उसका आँखा अडिए । उसले केही अनिष्ट भएको अडकल काटिहाली । उसले आत्तिँदै काकालाई सोधी, ‘काका दाइ खोइ ?’

काकाले रुन्चे स्वरमा जवाफ दिए, ‘के गर्छेस् बाबै ! तँ अभागिनी रहिछस्, तेरो दाइ त आठ दिनअघि कम्पनीमा काम गर्दागर्दै माथिबाट चिप्लिएर खसेछ । काठमाडौंमै थन्क्याएर आउन परो बा ! … छोरी !! ’

नीरुको अगाडिको संसार भासिएझँै लाग्यो । आँखाअगाडि कालो पर्दाले ढपक्क ढाक्यो । उसको आँखाबाट बलिन्द्रधारा आँसुका थोपाहरू गुडुल्किँदै भुइँमा झर्न थाले । काँपिरहेका खुट्टाले शरीरको बोझलाई थाम्न सकेन र ‘दाइ’ को कोकोहोलो आवाजसँगै भुइँमा लडी ।