तुलाधरको निधनमा ‘न्हूदँ’का सबै कार्यक्रम स्थगित

तुलाधरको निधनमा ‘न्हूदँ’का सबै कार्यक्रम स्थगित


नेपाल सम्वत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल सम्वत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ । दिवंगत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रम स्थगन गरिएको हो ।

आज नेसं ११३८ कौलागा १४ (कात्तिक २० गते) मंगलबार बसेको नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।

हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल सम्वत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा यही नेसं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको वसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो । सोही दिन आयोजना गरिने अन्य स्थानका कार्यक्रमहरू पनि स्थगन गरिएको छ ।

स्थगित कार्यक्रमहरू दिवंगत तुलाधरको १३ दिने पूण्यतिथिपछि अनुकूल दिनहरूमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको नेवाः जागरण मञ्चका संयोजक सुजिव बज्राचार्यले जानकारी दिए ।