साठी करोडभन्दा बढीको झिलिमिली बत्ती भित्रिए

साठी करोडभन्दा बढीको झिलिमिली बत्ती भित्रिए


दीपावलीमा नेपालीका घरआँगन झिलिमिली पार्न ६० करोड रुपैयाँभन्दा बढीको विद्युतीय सामग्री नेपाल भित्रिएको छ ।

नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ ।

नेपाल विद्युत् व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलका अनुसार विभिन्न खालका झल्लर, डिस्को बल्ब, बत्ती बल्ने फोटो फ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रंगीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्र्याइएका हुन् । दशैँ अघिदेखि नै ती सामग्री नेपाल भित्रने गर्दछन् । तिहारमा प्रयोग हुने यस्ता विद्युतीय वस्तु ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट भित्रने गरेको उनले बताए ।

एकपटक प्रयोग भएका बत्ती तीन–चार वर्षसम्म प्रयोग हुने हुँदा पुराना ठाउँमा थप्न र नयाँ घरमा लगाउन हरेक वर्ष करोडौँका यस्ता वस्तु आयात गर्ने गरिन्छ । महासंघअन्तर्गतका दुई हजारभन्दा बढी व्यवसायीले शहरदेखि गाउँघरसम्म यस्ता बत्ती बिक्री गर्ने गरेको खरेलको भनाइ छ । व्यवसायीले बत्ती भित्र्याउन तीन महिना अघिदेखि प्रक्रिया अघि बढाउने गर्दछन् ।

महासंघका महासचिव रेशम देवकोटाका अनुसार भोगटेको पात र माटोको दियोमा तेलमा बत्ती बाल्ने नेपाली संस्कृति हराएर गाउँगाउँमा पनि आयातीत बत्तीको प्रयोग हुन थालेपछि वर्षेनी यसको माग बढ्दै गएको छ । पहिलेपहिले झल्लरमा सामान्य बल्ब प्रयोग हुने भए पनि हिजोआज लिडको बल्ब प्रयोग हुन थालेपछि यस्ता सामग्री बढी खप्न थालेको उनले बताए ।

बजारमा रु. ५०–६० देखि दुई हजार हाराहारीसम्मका झल्लर बिक्री भइरहेका छन् । घर, कार्यालय र सार्वजनिक ठाउँमा दीपावलीको समयमा उज्यालो राख्नुपर्ने मान्यताका कारण सबै होल्डरमा बत्ती जोड्ने गरिन्छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले अन्य समयमा भन्दा १५ प्रतिशत बढी विद्युत् खपत हुने गरेको बताए । यतिबेला उद्योग कलकारखाना बन्द हुने हुँदा विद्युत् आपूर्ति व्यवस्थापन गर्न सहज हुने उनी बताउँछन् ।