कलेज-छात्राद्वारा विद्यालयका २ सय ५० छात्रालाई प्याड वितरण

कलेज-छात्राद्वारा विद्यालयका २ सय ५० छात्रालाई प्याड वितरण


– मुक्तिनाथ भुसाल

‘इन्ट्रयाक्ट क्लब अफ गोल्डेन गेट कलेज’की प्रेसिडेन्ट इशा पौडेलले महिनावारी, गर्भावस्था र सुत्केरी अवस्थालाई हरेक महिला दिदीबहिनीले पवित्र समयका रुपमा लिनुपर्ने बताएकी छिन् । गोल्डेन गेट इन्टरनेशनल कलेज बत्तिसपुतली काठमाडौंको आयोजनामा अर्घाखाँचीको शिवमदन मावि सतिनेटामा हालै आयोजित एक विशेष कार्यक्रममा उनले महिनावारी भएकी महिलालाई समाजले इज्जत र सम्मान गर्नुपर्ने धारण व्यक्त गरिन् ।

महिनावारी हुनु कुनै पाप, रोग वा स्वास्थ्य समस्या नभएर महिलाको स्वाभाविक या प्राकृतिक प्रक्रिया भएको तथ्यलाई स्वीकार गरी विद्यालयबाटै छात्राहरुलाई निःशुल्क प्याड उपलब्ध हुनुपर्ने भन्दै उनले यसबारेमा स्थानीय सरकारले ध्यान दिनुपर्ने तर्क अघि सारिन् ।

महिनावारी भइसकेपछि प्याड प्रयोग गर्ने विधिबारे कार्यक्रमबीच जानकारी गराउँदै करिव २ सय ५० जना छात्रालाई ५ सय भन्दा बढी प्याड उनले निःशुल्क वितरण गरिन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्वर ७ अडगुडीमा जन्मिएकी इशा पौडेलको यस सेवामुखी कदमलाई उपस्थित सबैले प्रशंसा गर्नुका साथै रोटरी क्लब अफ अर्घाखाँचीले सहयोगी हात बढाएको बुझिएको छ ।

शिक्षिका सिता बन्जाडेको सञ्चालन, रोटरी क्लब अर्घाखाँचीका प्रेसिडेन्ट गोविन्दराज पौडेलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिका कार्यालयका प्रवक्ता लिला गौतम, पाणिनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष गुणाखर अधिकारी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, स्वास्थ्य इन्चार्ज गणेशराज पौडेल लगायतका वक्ताले इशाको सेवामूलक कार्यको सह्राहना गरेका थिए ।