तेस्रो नजर

तेस्रो नजर


pathakmanch‘मैले उक्साएको’ कुराले मर्माहत भएँ
गत असार २५ गते लोकप्रिय घटना र विचारमा प्रकाशित ‘आमाको हत्याको बदला लिन खोज्दा मोडेल परिन् माकुरी जालमा’ भन्ने समाचार पढेपछि म मर्माहत भएँ । समाचारको अधिकांश अंश तथ्यमा आधारित भए पनि त्यसमा उल्लेख भएको ‘…ममताकै उत्प्रेरणामा आएर बाबुले आफ्नी आमाको हत्या गरेपछि दुबै दिदीबहिनी वदलाको भावले भित्रभित्रै जलेका थिए…’ भन्ने अंशले पीडैपीडामा परेर आँशुमा डुबिरहेकी म दुःखी नारीलाई थप प्रताडना दियो । घटनासँग सम्बन्धित तथा प्रकारान्तरले जोडिन बाध्य भएका पात्रबारे गहिराईमा पुगेर सत्य–तथ्य बुझ्दै नबुझी समाचार प्रकाशित भएको आफूलाई लागेकोले तथ्य प्रस्ट्याउने जमर्को गर्दैछु ।
२०५८ सालमा विराटनगरका मुरारी धमलासँग मनकामना मन्दिरमा पुगी प्रेमविवाह हुँदासम्म म कसैमाथि सौता बन्न गइरहेकी छु भन्ने जानकारी थिएन । विहे गरेर घर भित्रिएपछि मात्र मेरा श्रीमान्की जेठी पत्नी र दुईवटा छोरी पनि रहेछन् भन्ने थाहा भयो । त्यो कुराले मनमा जतिसुकै ठेस पुगे पनि कर्म र भाग्यको खेलका रूपमा त्यसलाई स्वीकार गरेर सम्झौतामा जीवन अघि बढाउनुको मसँग विकल्पै थिएन । त्यसमाथि सौताने दिदी अम्विकाले नै ‘जे भयो–भयो, अब मिलेर घर गरौँ’ भनेपछि हामी एकै परिवारमा मिलेरै बसेका थियौँ । छोरीहरू लिजा र ऋचालाई मबाट कुनै फरक व्यवहार कहिल्यै गरिनँ र उनीहरूका बाबाले पनि अत्यन्त माया गर्दै आउनुभएको हो । अम्विका दिदी अलिक रिसाहा स्वभावकी भए पनि भरसक मेलजोल गरेर राम्रैसँग परिवार चलिरहेको थियो, तर एउटा कुराले भने मलाई नरमाइलो तुल्याइरहेको थियो । त्यो के भने, एकपछि अर्को गरी लगातार मेरा तीनवटा गर्भ खेर गएका थिए । किन यसरी गर्भपात भइरहेको होला भन्नेबारे हामी अनभिज्ञ थियौँ । तर, एकदिन मैले खान लागेको चियामा अम्विका दिदीले कुनै औषधिको धुलो मिलाइरहेको आफ्नै आँखाले देखेँ । त्यसपछि मात्र मेरो गर्भपात हुनुको रहश्य खुल्यो । उहाँ मबाट सन्तान नजन्मियोस् भन्ने सोच राख्नुहुँदोरहेछ भन्ने त्यसदिन महसुस भयो । सौताने मामला भए पनि दिदी र मबीच अरु कुरामा कुनै मनमुटाव थिएन । उहाँले त्यस्तो गर्नुहोला भन्ने मैले सोचेकै पनि थिइनँ । दिदी रिसाउनुहोला भनेर मैले केही पनि भनिनँ ।
यस्तैमा जब मेरो पेटमा अर्को गर्भ आयो, यसपछि मैले घर छोडेर बेग्लै डेरामा बस्ने निर्णय गरेँ । श्रीमान्लाई मैले सत्य कुरा बताएँ तर दिदीसँग भने बेग्लै बहाना बनाएर सल्लाहबाटै म छुट्टै डेरामा बस्न थालेँ । किनकि, एउटी विवाहित महिला हुनुको नाताले म आफ्नो कोखबाट बच्चा जन्माउन चाहन्थेँ । यसरी उहाँबाट जोगिँदै पाटन अस्पतालमा बच्चा जन्माउन म सफल भएँ । तर, जब मेरो छोरो जन्मिएको दिदीले थाहा पाउनुभयो, झुक्याएर सौतालाई गर्भदान गरेको भन्दै उहाँ श्रीमान्सँग अत्यन्त रिसाउनुभएछ । म सुत्केरी भएर डेरामा रहेको बाह्र दिनका दिन यही विषयलाई लिएर दिदीले श्रीमान्सँग राती झगडा गर्नुभएछ । तर, उहाँको स्वभाव बुझेका श्रीमान्ले केही नबोली चुपचाप आफ्नो कोठामा गई सुत्नुभएछ । तर, आवेगमा आएर दिदीले भने भान्सामा आफैमाथि मट्टितेल खन्याएर आगो लगाउनुभएछ । उहाँबाट यस्तो कदम चालिएला भन्ने कल्पनासम्म पनि नगर्नुभएका श्रीमान्ले आगो निभाउने प्रयत्न गर्दा उहाँको समेत हात जल्न पुग्यो । यस्तो घटनापछि उहाँलाई अस्पताल लैजाँदै गर्दा सँगै रहेका प्रहरीहरूसँग पनि घाइते अवस्थाकी अम्विका दिदीले ‘भावनामा आएर आवेगमा आफैले आफूलाई आगो लगाएर गल्ती गरेँ’ भन्नुभएको रहेछ । केही दिनपछि मात्र अस्पतालमा किन हो उहाँले बयान बदलेर श्रीमान्ले आगो लगाए भन्नुभएछ । यसपछि मेरा श्रीमान् जेलमै हुनुहुन्छ, मुद्दा चलिरहेको छ । यता म भिकारीसरहको जीवन बाँचिरहेकी छु । छोरोलाई हुर्काउने, पढाउने दायित्वका कारण बाँचिरहेकी छु । यस्तोमा मेरो हत्या गर्ने योजना छोरीहरूले बनाएको खुलासा हुँदा थप मर्माहत र त्रसित भएकी छु । कसैको कुभलो नचिताएर पनि मैमाथि किन एकपछि अर्को दुःख थपिन्छ, कुन्नी † हामीले चार लाख ऋण काडेर अष्ट्रेलिया पढ्न पठाएकी छोरीसमेत मेरो र मेरो छोरोको हत्या गर्ने योजनामा संलग्न भएको थाहा पाउँदा थप दुःख लागेको छ । मलाई यतिबेला आफू र छोराको सुरक्षाको अत्यन्तै चिन्ता लागेको छ । घटनाको बेला म घरमा नभए पनि म पूरै विश्वस्त छु कि घटनामा मेरा श्रीमान्को कुनै हात छैन । अदालतले सत्य बुझेर न्याय दिनेमा हामी सबै विश्वस्त छौँ ।
– ममता घिमिरे धमला, हाल ः गट्ठाघर, भक्तपुर