युरोपमा नेपाली फिल्म अवार्ड
‘अन्तर्राष्ट्रिय कलाकार मञ्च’ युरोपको आयोजनामा २०१५ सेप्टेम्बर २६ तारिखमा बेल्जियममा ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च अवार्ड २०१५’ ‘IFA Awards 2015’ हुने भएको छ । नेपाली चलचित्र तथा गीत–सङ्गीतमा लागिरहेका चलचित्रकर्मी तथा स्रष्टाहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्डको आयोजना गर्न लागिएको हो ।
गीत–सङ्गीत तथा चलचित्रका गरी विभिन्न १५ विधामा अवार्ड वितरण गरिनेछ भने १५ विधाभित्रै लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सङ्घर्षरत तथा ठूलो योगदान पु-याउँदै आएका एक जना चलचित्रकर्मीलाई लाइफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने छ । ‘IFA Awards 2015’ को नेपालको व्यवस्थापन भने राजु अधिकारीले गर्दैछन् ।
अवार्ड वितरण समारोह बेल्जियमको ‘Casino Chaudfontatione’ मा हुनेछ । अवार्डलाई निष्पक्ष तथा विवादमुक्त बनाउनको लागि चलचित्र तथा गीत–सङ्गीत क्षेत्रका विशिष्ट व्याक्तित्वहरूलाई जुरी सदस्य चयन गरिएको छ । कलाकारिता तथा सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति उज्ज्वल केसीको अध्यक्षतामा रहेको यो संस्थाले युरोपमा रहेर नेपाली गीत–सङ्गीत र चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि समय–समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
लामो समय टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका अध्यक्ष केसी यतीबेला नेपाली सिनेमा तथा गीत–सङ्गीतलाई युरोपको बजारमा फैलाउन दत्तचित्त भएर लागिपरेका छन् । नेपालबाट केही कलाकारलाई युरोपको उनको संस्थाले सम्मान पनि गर्न लागेको छ भने कलाकर्मीको हितको लागि एक करोड रकमको अक्षय कोष स्थापना गरिने घोषणासमेत गरिसकिएको छ ।
हङकङमा के देखाइन् प्रियंकाले ?
फिल्मी नायिकाहरूलाई हाईलाइटमा रहिरहन र मिडियामाझ गसिप बन्नको निम्ति काम लागिरहने फर्मूला हो– ‘ग्ल्यामरर्स’ । तर, पछिल्लो समय नेपाली नायिकाहरू ग्ल्यामरर्सको नाममा आफ्नो पहिरनमा निकै खुल्दै गइरहेका छन् । जसको पछिल्लो उदाहरण बनेकी छिन् नायिका प्रियंका कार्की । हालै हङकङमा आयोजित एक कार्यक्रममा उपस्थित प्रियंकाले अत्यन्त भद्दा ड्रेसअप गरेर तहल्कै मच्चाइन् ।
केही दिनअघि मात्र एक सार्वजनिक कार्यक्रममा बसाईमा ध्यान नदिँदा तलको भित्री वस्त्र उदाङ्गिएर मिडियामाझ चर्चा र सामाजिक सञ्जालमा भाइरल बन्न पुगेकी नायिका कार्कीले हङकङ पुगेर प्रदर्शन गरेको वान पिस खुकुलो पहिरन झन् चर्चाको विषय बन्न पुगेको छ । प्रियंकाले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मार्फत सार्वजनिक गरेको प्रस्तुत तस्बिरबाट नै प्रियंका कतिसम्म खुलेर प्रस्तुत भइन् भन्ने प्रष्ट हुन्छ । उनीजत्तिको खुला ‘ड्रेसअप’मा सार्वजनिक कार्यक्रममा अन्य नायिका आजसम्म देखिएका उदाहरण नै छैनन् ।
चर्चामा आउनका लागि या अरु नै कुनै उद्देश्यले प्रियंकाले यस्तो हतकण्डा अपनाउँदै छिन्, त्यो भने उनलाई नै थाहा होला । तर उनको यो फोटो अनि ड्रेसअपले चाहिँ मिडिया तथा सामाजिक सञ्जालमा तहल्का मच्चाउने निश्चित छ । चलचित्रमा अभिनय देखाएर खासै जम्न नसकेकी नायिका प्रियंकाको यो हतकण्डा उनका लागि प्रत्युत्पादक नै बन्ने देखिएको छ ।
‘मरेर बाँचेका नीर’को कहानी
‘म मरेर बाँचेँ, मर्दा कस्तो अनुभूति हुन्छ भन्ने मैले भोगेँ !’ वरिष्ठ कलाकार नीर शाहको उपरोक्त अभिव्यक्ति सुन्दा प्रशंसकहरूलाई अत्यास लाग्न सक्छ, तर अस्पतालबाट डिस्चार्ज भएयता कलाकार शाह शुभचिन्तकहरूसँग यस्तै भन्ने गर्नुहुन्छ । उहाँ आफुले साँच्चै नै दोस्रो जीवन पाएको अनुभूति भएको बताउनुहुन्छ । हृदयाघातका कारण अचेत भई ७२ घण्टापछि मात्र होशमा आउनुभएका उहाँ उपचारपछि निको भई अहिले घर फर्किसक्नुभएको छ । यतिबेला उहाँको अवस्था बारे बुझ्न शाहको निवास पुग्ने कलाकर्मीहरूलाई शाह ठट्यौली पारामा भन्ने गर्नुहुन्छ– ‘जीवनमा अरुले धेरै कुराको अनुभव गरे होलान्, तर मैले धेरै मान्छेले नगरेको अर्थात् मरेर पनि कसरी बाँचिने रै’छ भन्ने अनुभव गरेँ ।’ पुनर्जन्मको अनुभूतिसँगै उहाँले अबदेखि धुम्रपानलाई कहिल्यै नछुने प्रणसमेत गर्नुभएको छ ।
‘हस्पिटल पुग्न पच्चिस मिनेट मात्र ढिला भएको भए म मर्ने रहेछु’ भनी सुनाउने शाह कलाकारहरू आफ्नो निवास बाँसबारी पुग्दा भने निकै हर्षित मुद्रामा प्रस्तुत हुने गर्नुहुन्छ ।
आफू लगातार तीन पटक हृदयाघातको सिकार बनेपछि मात्र अस्पताल पुगेको खुलासा नीर शाहले गर्नुभएको छ । उहाँका अनुसार बिहिबार बेलुकी एक पटक अट्याक भएपछि उहाँले सामान्य योगा गरेर नै निको भएको अनुभूति गर्नुभएछ । तर, भोलिपल्ट शुक्रबार पनि फेरि अट्याक हुँदासमेत उहाँले हेलचेक्र्याईं गरी आफ्नै काममा व्यस्त रहनुभएछ । तर, शनिबारको एट्याक सहिसक्नुको थिएन । बिहान ११ बजेको समय थियो, उहाँको छातीमा फलाम छिरेजस्तो भयो । उहाँलाई सम्हालेर घरको मूलढोका सम्म पु¥याउन पनि धर्मपत्नी उषालाई हम्मे–हम्मे परेछ । संयोग कस्तो परेछ भने शाहका एक सहयोगी गोविन्द तिमल्सिना ट्याक्सी चढेर आएका रहेछन्, त्यसैलाई एम्बुलेन्स बनाएर अस्पताल हुईंकिन पाइएछ ।
शाह भन्नुहुन्छ– ‘सायद शनिबार भएकाले होला बाटो खुल्ला थियो । म बेलैमा हस्पिटल पुगेँ । पुग्नेवित्तिकै ह्वील चियरमा बस्दाबस्दै म आफैले अक्सिजन माक्स मागेँ, त्यसपछि चाहिँ म बेहोस भएछु । त्यसको तीन दिनपछि मात्र म होसमा आएँ ।’
३० को दशकदेखि चुरोट पिउने बानी परेका शाहले सेतो बाघ निर्माण ताका अत्यधिक चुरोट सेवन गर्नुभएछ । तीनवटा फिल्म बनाउन भ्याइने समय सेतोबाघमै खर्च हुँदा टेन्सन भएर चुरोटको मात्रा बढेको रहेछ । त्यही नै आफ्नो लागि विष सावित भएको उहाँको विश्लेषण छ । ‘हर्ट एट्याक हुँदा अत्यधिक पीडा हुँदो रहेछ, यस्तो कसैलाई नहोस्,’ नीरको प्रार्थना छ ।
६० बर्ष उमेर पुगिसक्नुभएका शाहलाई डक्टरले नुनविनाको खाना खान स्वीकृति दिएको छ । एक महिना अन्यत्र कतै जान नमिल्ने चिकित्सकको सुझावका कारण उहाँ घरमै आराम गरिरहनुभएको छ ।
प्रतिक्रिया