फन टाइम

फन टाइम


funtimeके भयो श्रीलाई ?
आफ्नो चलचित्रको नायकबारे बजारमा अफवाह फैलँदा कुन निर्देशकको मन रुँदैन र ? त्यसमाथि एकपटक ‘मरेर बाँचेका’ नायक श्रीकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक भएको र उनी अब उठ्नै नसक्ने भनी नकारात्मक हल्ला चल्दा चलचित्र ‘कोहीनूर’का निर्देशक आकाश अधिकारी भावुक मात्र नबनी बोल्दाबोल्दै उनको गला नै अवरुद्ध बन्न पुग्यो ।
प्रसङ्ग चलचित्र ‘कोहीनूर’ प्रदर्शनको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनको हो । यतिबेला भारतको मुम्बईमा स्वास्थ्योपचार गराइरहेका अभिनेता श्रेष्ठबारे गलत हल्ला चलेपछि नै आफूहरूले उनको अनुपस्थितिमा चलचित्रबारे पत्रकार सम्मेलन गर्नुपरेको प्रस्ट पारे आकाशले । उनले भने, ‘यतिबेला श्रीजी यहाँ हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला, तर हाम्रो दुर्भाग्यले उहाँ अहिले भारतको मुम्बईमा उपचार गराइराख्नुभएको छ । यसै साता उहाँ नेपाल आएर तपाईंहरूमाझ प्रस्तुत हुनुहुनेछ ।’ निर्देशक आकाशले चलचित्र कोहीनूर जसरी पनि साउन २३ गते नै सार्वजनिक प्रदर्शनमा आउने ठोकुवासमेत गरे । आकाशले आफू हरेक दिन श्रीकृष्णको सम्पर्कमा रहेको र उहाँकै सरसल्लाहमा नै आफूले पत्रकार सम्मेलन आयोजना गरेको स्पष्ट पनि पारे । हनिमुनका लागि श्रीकृष्ण र श्वेता दुई साताअघि भारतको सिमला गएका थिए भने श्रीलाई सञ्चो नभएपछि उनी उपचारका लागि भारतमै अस्पताल भर्ना भएका छन् ।

ठेगानमा आइन् प्रियंका
सार्वजनिक कार्यक्रममा उत्ताउलो ‘ड्रेसअप’ गर्ने अनि त्यही पहिरनसहितको तस्बिर मिडियामा आएपछि तथानाम बोल्ने अभिनेत्रीहरूको कमी छैन यहाँ । फोहोर गरेपछि दैलो देख्ने भन्ने उखान चरितार्थ गर्दै अभिनेत्री प्रियंका कार्कीले अन्तत: मिडियासँग माफी नै माग्नुपर्ने अवस्था आयो ।
प्रियंकाले लगाएको कपडा अति नै अश्लील तथा नेपाली समाजमा नपच्ने खालको भयो भनी छापा र अनलाइन मिडियामा छ्याप्छ्याप्ती समाचार सामग्री प्रकाशित भएपछि मिडियासँग आगो भएकी थिइन् प्रियंका । केही दिन त उनले मिडियाकर्मीलाई गाली गर्दै दिनहुँजसो सामाजिक सञ्जालमार्फत आगो ओकलिन् । तर, यस्तै हर्कत भइरहे उनलाई बहिष्कार गर्नेसम्मको निर्णय गरिने तरखर भएपछि अन्तत: कसको सल्लाह सुनेर हो प्रियंकाले माफी नै माग्नु श्रेयस्कर ठानिन् । गलत क्रियाकलापका कारण मिडियासमक्ष माफी माग्ने प्रियंका नै सम्भवत: पहिलो अभिनेत्री हुन् । उनले चलचित्र पत्रकार सङ्घलाई लिखित पत्र नै पठाएर माफी मागेकी छिन् । पत्रमा प्रियंकाले आफूले आवेगमा आएर मिडियाकर्मीलाई सामाजिक सञ्जालमार्फत गाली गरेकोमा दु:ख व्यक्त गर्दै माफी माग्ने सोचमा पुगेको स्वीकारेकी छिन् । आगामी दिनमा यस्तो व्यवहार नगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छिन् । ढिलै भए पनि प्रियंकालाई अक्कल सुझेकोमा उनलाई बधाई दिनैपर्छ ।

‘चिनारी’ खोज्दै सरोज
क्षमता, दक्षता र प्रतिभा होइन, अब त चाकडी–चाप्लुसी अनि नातावादका कारण चर्चामा आउने, नाम कमाउनेहरूको जमात नै खडा भएको छ कलाक्षेत्रमा । अवस्था यस्तो भए पनि केही प्रतिभा भने एक दिन क्षमतावान्को दिन आउनेमा ढुक्क देखिन्छन् । यस्तै, आफ्नो प्रतिभा र क्षमताकै कारण एक दिन आफूले सफलता पाउने विश्वास साँचेर कर्ममा लागिपरेका सर्जक हुन् सरोजकुमार थापा ।
हुन त सरोज झन्डै दुई दशकभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्, तर त्योअनुरूप नाम वा चर्चा नपाउँदा उनको मनमा तिक्तता पलाउनु अस्वाभाविक होइन । चर्चित साङ्गीतिक ब्यान्ड नेपथ्यमा पछाडि रहेर विभिन्न बाद्यवादन गर्ने सरोज बाद्यवादनमा मात्र पोख्त नभई गीत पनि मीठो गाउँछन् भन्ने कुरा उनको पहिलो एल्बम ‘चिनारी’ले स्पष्ट पारेको छ । हालसालै बजारमा आएको यस एल्बममा सरोजको एकल स्वर समेटिएको छ भने एल्बममा ६ वटा गीत सङ्ग्रहित छन् । ‘चिनारी’ले साँच्चै मेरो साङ्गीतिक यात्रा र मेरो क्षमतालाई चिनाउने विश्वास छ,’ गायक सरोजले भने । उनले एल्बमभित्र सबै खालका श्रोताको मन जित्ने गीत/सङ्गीत आफूले संलग्न गरेको जानकारी दिएका छन् ।

‘सिमलको भुवा’ले मन छुने कोसिसमा सविना
नेपाली गीत–सङ्गीत क्षेत्रमा सविना केसी गुञ्जिएकै नाम हो । विगत तीन वर्षदेखि निरन्तर सङ्गीत क्षेत्रमा लागेकी उनी सोलो एल्बम ‘सिमलको भुवा’ लिएर चाँडै बजारमा आउँदै छिन् । सानैदेखि गुनगुनाउन मन पराउने उनले थुप्रै सन्देशमूलक विज्ञापन र केही चलचित्रमा समेत स्वर दिइसकेकी छन् । आगो–२ र आधा आकाशलगायतका चलचित्रमा आफ्नो स्वर दिइसकेकी उनको सिमलको भुवामा विकास चौधरीको सङ्गीत र गायिका स्वयम्का शब्द तथा स्वरमा पाँचवटा गीत समावेश छन् । त्यसो त उनी केही चलचित्रमा नायिकाको रूपमा पनि देखिएकी छिन् । उनी चलचित्र सत्यदीपमा नायिकाको भूमिकामा देखिएकी हुन् ।
आफू नायिकाभन्दा पनि गायिका नै भएर चिनिन चाहेको उनी बताउँछिन् । पछिल्लो समय नेपाली गीत–सङ्गीतको बजार त्यति राम्रो नभए पनि आफू यसबाट कमाउन नभई यसको श्रीवृद्धि गर्ने लक्ष्य लिई लागिपरेको उनको भनाइ छ । सङ्गीतकार विकास चौधरीसँग क्लासिकल म्युजिकको प्रशिक्षण लिइरहेकी उनी आफूमा प्रतिभा भयो भने कसैको चाकडी गर्न नपर्ने बताउँछिन् । नारायणगोपाल, अरुणा लामा, तारादेवीबाट प्रभावित भएर यस क्षेत्रमा लागेको बताउने उनको सिमलको भुवाले कतिको मन छुने हो, त्यो त सिमलको भुवा बजारमा आएपछि नै थाहा होला ।

आमाको अधीर प्रतीक्षामा… !
– तारा कँडेल (बेल्जियम)
‘जुन दु:ख महसुस गरिँदैन त्यसको कहिल्यै दु:ख हुँदैन’ डा. वीरभूषण पटनायकको भनाइ हो यो । डा. वीरभूषण जेलमा फाँसीको सजाय कुरेर बसेका थिए । फाँसी दिनुभन्दा अगाडि प्रसव वेदनाले छट्पटाइरहेकी जेलर ग्लाडकी छोरी जेनीको अप्रेसन गर्न उनलाई भनियो । रोइरहेकी जेनीलाई सम्झाउने क्रममा वीरभूषणले उपरोक्त अभिव्यक्ति दिएका थिए । ब्रिटिस स्वतन्त्रता र जनमुक्ति अभियानमा लागेको आरोपमा उनलाई ग्लाडले नै फाँसी दिँदै थिए । तर, उनले आफू मर्दै छु भन्ने दु:खको अनुभूति नगरीकन जेनीलाई सम्झाउँदै अप्रेसन गरिदिए । मर्ने बेला पनि एक व्यक्तिको प्राण बचाउन पाएकोमा उनले आफूलाई धन्य सम्झिए । ‘थ्याङ्क यु मिस्टर ग्लाड’ भन्ने ऐतिहासिक उपन्यासको कथा हो यो ।
यतिबेला आफ्नी आमाको याद आउँदा मलाई कता–कताबाट उनै महान् सहिद वीरभूषणको याद आयो । आमाको त्यागलाई देशभक्तको नि:स्वार्थ त्यागसँग तुलना गरेँ व्यक्तिगत परिवेशमा । आज मेरा निम्ति प्रतीक्षाको घडी अत्यन्त लामो भएको छ । ग्लाड सा’वकी छोरीलाई बचाउने डा. वीरभूषणजस्तै मेरा लागि सयौँपटक कर्तव्य र बाध्यताको फाँसीमा चढेकी मेरी आमाको बेल्जियम आउने भिसा लागेको छ । मैले मेरो कर्मभूमिमै मेरी आमालाई केही दिनमै भेट्ने भएकी छु । तर, यी केही दिन पनि मेरो लागि साहित्यकार विजय मल्लको ‘अन्तिम भोज’भन्दा महँगो र घनघस्याको उकालोभन्दा थकाइ लाग्ने पट्यारिलो यात्राजस्तो भएको छ । निद्राले आफ्नो नित्य प्रक्रिया र गतिलाई बिर्सेको छ । भावनामा आउने अन्य परिवेश र परिस्थितिका काल्पनिक तरङ्गमा थोप्ले सारीमा सजिएकी मेरी आमाको तस्बिर मुसुक्क हाँस्दै आइपुग्छ । ‘आमा’ नै मेरो तीर्थब्रत, मेरो देवी–देवता, मलाई रक्षानबाट उतारेर विश्वभ्रमण गर्न हिम्मत र शिक्षा दिने, संसारले सम्मान गर्ने भेलेन्टिना र रानी लक्ष्मी बाईजस्तै भावनाकी अत्यन्त पुजनीय र बहादुरीकी प्रतिमूर्ति !
आमासँग गफिएर रमाउँदै पहिलो सिङ्गै रात बिताउने सोच बनाएकी छु मनमनै । मिलनको त्यो रात, युरोपमा आमा–छोरी एकैसाथ सँगै बिताएको अविस्मरणीय पहिलो रात हुनेछ । तर, किन–किन आमा आएपछि मेरा लागि बेल्जियम र नेपाल फरक लाग्ने छैन । मेरो मातृभूमिको एकमुठी माटो मेरै बारीबाट उठाएर ल्याउन लगाएकी छु आमालाई । मेरी आमाले ल्याएको जन्मभूमिको एकमुठी माटो पनि हुनेछ मसँग । ‘जहाँ मन चङ्गा त्यहीँ पवित्र गङ्गा’ भनेझैँ मेरा चारधाम र स्वर्ग आमासँगै आउनेछन् बेल्जियममा । तुफानी डायास्पोरिक जीवनको तनावलाई शान्त पार्न स्वयम्भूको निमको एक पत्ता र पशुपतिको अलिकति खरानी पनि मगाएकी छु । मेरा स्वप्नील संसारलाई सधैँ मसँगै छिपाएर राख्नेछु आमाको स्मृतिलाई जीवन्त र सजीव बनाइराख्न । तर दिनहरू… उफ् कति पट्यारलाग्दा र लामा !? आमालाई पर्खंदा यति लामा दिन सायदै बिताएँहुँला योभन्दा अगाडि !
मेरो बाल्यकालमा आमा मेलापात गर्न जाँदा माटो र घरले मेरो संरक्षकत्व गरिरहेका हुन्थे भने माया र मीनाजस्ता साथीहरूले भावनात्मक साथित्वको स्पर्श गराइरहेका हुन्थे । यहाँ त सुन्दरीको सेतो रक्सीको प्यालाभित्रको एकाङ्की प्रहसनभित्र खोक्रोपनको आभास मात्र व्याप्त छ । केवल भड्किला सन्तानको कर्केदृष्टि र बिनासंस्कारको खोक्रो सभ्यतारूपी मिसायलले मन छियाछिया पारेको छ ।
मेरो चारधाम र विपनाको स्वर्ग ‘आमाको काख’ मेरो छुटेको कोसेलीरूपी वात्सल्यता लिएर आमा जुलाई ३१ तारिक बेल्जियम आउँदै छिन् । आमा कति खुसी होलिन् आफ्नो सन्तानकै शिरमा हात राखेर वात्सल्य पोख्न पाउँदा । मभन्दा नजिकको रगत र कर्तव्यको निकटतम् आमाको अर्को नाता पनि त छैन । आमाको म एक्लो सन्तान, बाबाले सानैबाट आमा र मलाई त्यागिदिनुभो । बाबुको स्नेह त म अभागीले कहाँ पाउनु र ! ठूलोबाबा, सानोबाबा, मामा र फुपूहरूबाट टाढै भए पनि आंशिक संरक्षकत्व पाएँ । नत्र सबै मेरी आमा नै त हो । नाजुक आर्थिक अवस्था भएर नै त हो मैले फिस तिर्न नसकी पहिलोपटक टेस्ट परीक्षा दिन नपाएको ! आमाको एक्लो आर्जनले हुर्कें, बढेँ र आईएसम्म पढेँ । धन्य छिन् मेरी आमा मेरा लागि ।
दुई नाल भएकाले बुबाको पनि आफ्नो पीडा होला । बुबा हुनुहुन्छ, बस् मेरो लागि उहाँप्रतिको सम्मानमा कुनै कमी छैन । बुबा पनि मेरा लागि गुरु बन्नुभएको छ सचेतनाका लागि । जीवनका तिनै भोगाइले त म कठिन सङ्घर्षबाट कहिल्यै नथाक्ने वीरभूषण भएकी छु, संस्कारसहित बाँचेकी छु र सबैकी आशाकी आधार बनेकी छु अहिले । त्यसैले अतीत जति पीडादायी भए पनि कहिल्यै पीडादायी भनेकी छैन मैले । मेरी आमाको सङ्घर्षले गर्दा आज मेरो जीवन सबलै त नभनौँ, नराम्रो भने छैन ।
आमा ! तिमी नै हौ त्यो प्रेरणाको स्रोत, मैले पर्खेर बसेकी छु बेल्जियममा तिम्रो आत्मिक स्वागतको क्षण । मेरो पनि त को छ र आखिर सर्वाङ्ग देखेर पढ्न सक्ने ? त्यो एक मात्र तिमी नै त हौ । मेरो चारधाम, स्वर्ग, अथाह प्रेरणा र ममताको खानी मेरी आमा । छिटो आऊ भन्न मन लागेर पनि सकिरहेकी छैन । भिसाका दिन सुरु हुन अझै केही दिन बाँकी छन् । मलाई एक घन्टा पनि वर्षजस्तो लागिरहेको छ । अबका बाँकी दिन कसरी काटुँ ? मलाई कालकोठरीमा यातना भोगेझैँ गाह्रो परेको छ ।
वीरभूषणको भनाइ सम्झन्छु र कष्ट भुल्ने चेष्टा गर्छु, नसम्झौँ भन्छु तर नाच्दै–गाउँदै तिम्रो तस्बिर अगाडि आइहाल्छ । भाइ र साथीहरूलाई फोन गर्छु, समय कटाउन खोज्छु, तर के गर्नु ! चर्चमा बिहान बजेको घन्टाले झैँ लामो झङ्कार छोड्दै तिम्रो अनुहार ब्रसेल्स एअरपोर्टभित्र छिरिसक्छ । मैले के गेँ ! समय कट्दै कट्दैन । भेटघाट, यताउता र काममा समेत तिमी नै तिमी छौ, म त केवल शरीरलाई घिसारिरहेकी छु बलजफ्ती । तिमीले मलाई तरङ्गित बनाइदियौ आमा रोमाञ्चित हुँदै आऊ । केही छैन, पाँच औँलामा गन्न सकिने बाँकी दिन यातनासरह कुरी बस्छु, मेरो अर्को बाटो पनि त छैन ।
मलाई नेपाल जाने बेलामा आमा भेट्न यति प्यास लागेको थिएन । अहिले अचम्मै भइरहेछ तिम्रो काखमा लुटपुटिएर रुनेछु वा हाँस्नेछु, त्यो त तिमी आएपछि आफैँले थाहा पाउने छौ । मेरो कर्मक्षेत्रको पहिलो भेट मेरा लागि कस्तो रहला खै… कल्पना गरेकी छैन आमा । आकस्मिक भावनात्मक उतारचढावपछि रमाइलो नै हुनेछ आमा सपनाको झरीमा नुहाएझैँ स्निग्ध वात्सल्यको वर्षाले नुहाएर यसपटक तृप्त हुने धोको छ ।

नयाँघरेलाई प्रतिभा पुरस्कार
आचार्य गुरु तुलसीराम पोखरेलद्वारा लिखित ‘भगवान् र धर्म’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सामाखुसी साहित्य समाजद्वारा आयोजित साहित्यिक कार्यक्रमको अवसर पारेर प्राध्यापक मुकुन्दशरण उपाध्यायको हातबाट पुस्तक विमोचन गरिएको हो । साहित्यिक कार्यक्रमको उक्त ७२औँ शृङ्खलामा हेमन्तप्रसाद दाहाल, शिवप्रसाद आचार्य, बाबुराम भण्डारी, अरुणबहादुर खत्री ‘नदी’, तारा केसी, हरि खनाल, शशि थापा पण्डित, द्वारिका कुइँकेल, श्रीधर पौडेल, कमला रिसाल ज्योति, सुशीला खड्का हसिना, निर्भीक राई, हृदय अधिकारी, विद्याप्रसाद घिमिरे, राजनविक्रम थापा, निर्मल पराजुली, शान्ता पराजुली, कृष्णदेव रिमाललगायत ३५ जना कविले आ–आफ्नो रचना पाठ गरेका थिए । समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच, प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले भव्य साहित्यिक समारोहको आयोजना गरी निबन्धकार युवराज नयाँघरेलाई प्रतिभा पुरस्कार वितरण गरेको छ । प्रसिद्ध भाषाविद् तथा अनुसन्धाता बालकृष्ण पोखरेलले नयाँघरेलाई ५० हजार राशि र सम्मानपत्र अर्पण गर्दै नेपाली भाषाले नै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेको र भाषा नरहे हाम्रो अस्तित्व र मौलिक पहिचान समाप्त हुने बताए भने पुरस्कृत स्रष्टा नयाँघरेले नेपाली भाषालाई नेपालभित्रै सीमित पार्दै लगिएकोमा चिन्ता व्यक्त गरे । समारोहमा भाषाशास्त्री पोखरेल, प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, सचिव कविराज न्यौपाने, साहित्यकार विवश पोखरेल, दिङ्लाली कान्छो, मञ्जु शर्मा, गोपाल भण्डारीलगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।