नेपाली चलचित्र क्षेत्रमा यौनिक हिंसा

नेपाली चलचित्र क्षेत्रमा यौनिक हिंसा


-अञ्जना न्यौपाने
नेपाली चलचित्र उद्योग व्यवसायीकरणतर्फ उन्मुख हुँदै गर्दा महिला कलाकारले राम्रै अवसर पाएका छन् । अभिनय कला होस् वा गायन कला, यस उद्योगमा महिलाको उपस्थितिलाई सङ्ख्यात्मक र गुणात्मक दुवै पक्षबाट हेर्दा सन्तोषजनक नै मान्न थालिएको छ । तर, बाहिर हेर्दा तामझामको यो संसारमा महिलालाई काम गर्न त्यति सहज भने छैन । नेपाली चलचित्र विकासको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यस उद्योगमा प्रवेश गर्ने महिला कुनै न कुनै रूपमा विभेद, शोषण र हिंसामा पएको दृष्टान्त धेरै छन् ।
नेपाल चलचित्र विकास बोर्डका अनुसार, स्याटेलाइट र डिजिटल प्रविधि प्रयोग गरेर वर्षमा करिब ९० वटा चलचित्र बन्ने गरेका छन् । ठूला पर्दाका चलचित्र, टेलिफिल्म, टेलिशृङ्खला, डकुमेन्ट्री र विभिन्न मातृभाषाका चलचित्रमा आफ्नो उपस्थिति जनाइसकेका महिला कलाकारको सङ्ख्या एक सय २० भन्दा बढी छ । २०२० सालमा चलचित्र ‘आमा’ निर्माण हुँदा पहिलो नायिका बनेर १५ वर्षे किशोरी भुवन चन्दले नायिका बन्ने साहस गरेकी थिइन् । तत्कालीन समाज महिलाका लागि त्यति उदार नरहेको अवस्थामा चलचित्र क्षेत्रमा महिलाको प्रवेश कस्तो थियो होला, सहज अनुमान गर्न सकिन्छ । अहिले महिलाका लागि चलचित्र क्षेत्रमा प्रवेश सहज छ तर टिक्न भने त्यति सजिलो छैन । सिन्दुर चलचित्रबाट हास्यकलाकारको रूपमा प्रवेश गरेकी वसुन्धरा भुसालको अनुभवमा चलचित्र क्षेत्रमा महिलालाई हेर्ने दृष्टिकोणमा खासै फरक आएको छैन । हिजो उनी यो क्षेत्रमा लाग्दा घरपरिवारले एउटा अन्डा फुट्यो भनेका थिए, अहिले पनि यो सम्मानित पेसा हो जाऊ भनेर महिलालाई चलचित्र प्रवेशमा उत्साहित बनाउने अवस्था छैन । धेरै महिला स्वस्फुर्त रूपले आएका भए पनि उनीहरूले चलचित्र क्षेत्रमा प्रवेश गर्दा विरोध सहेर या त विद्रोह गरेर या त बाध्यात्मक स्थितिलाई स्वीकार गरेर आएको बताउने गरेका छन् । नेपाली समाजमा आजसम्म कुनै बाबुआमाले आफ्नी छोरीलाई नायिका बनाउने इच्छा जाहेर गरेको सुन्न पाइँदैन । स्वयम् निर्माता-निर्देशकहरू आफ्ना छोरीलाई नायिकाभन्दा अन्य पेसामा देख्न चाहन्छन् । उनीहरू यस क्षेत्रमा महिलाको भविष्य सुरक्षित देख्दैनन् । महिलाका लागि चलचित्र क्षेत्र के कारणले सुरक्षित छैन भन्ने जिज्ञासामा जानकारहरू भन्छन्- चलचित्र क्षेत्रमा महिलाले प्रत्यक्ष-अप्रत्यक्ष हिंसा भोगिरहेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकदेखि नै लैङ्गिक विभेद छ । नायकको तुलनामा नायिकाहरू कम पारिश्रमिकमा काम गरिरहेका छन् । चर्चित नायिका करिश्मा मानन्धर भन्छिन्, ‘नायकको भन्दा बढी नायिकाको भूमिका भए पनि पारिश्रमिकचाहिँ नायककै बढी हुन्छ, यो किन भएको हो मैले बुझ्न सकेकी छैन ।’ पारिश्रमिकमा भएको विभेदलाई लिएर नायिकाहरूले आवाज उठाउने गरेको पाइएको छैन । सिनेमामा खेलेको कमाइले नायिका या अन्य भूमिकामा रहेका महिलालाई आफूलाई सार्वजनिक रूपमा प्रस्तुत गर्न निकै गाह्रो छ । समाजले हेर्ने दृष्टिकोण तथा घरपरिवारमा विभिन्न पारिवारिक भूमिकामा रहँदाका उत्तरदायित्वहरूलगायतका कुराका लागि महिलाको आर्थिक अवस्थाले ठूलो प्रभाव पार्ने हुँदा आर्थिक सशक्तीकरण पहिलो आवश्यकता हो । जुन महिला कलाकारका लागि सहज बन्न सकिरहेका छैनन्, जसका कारण महिलाहरू विदेश पलायन भइरहेका छन् ।
आर्थिक अवस्थाका अलावा चलचित्र क्षेत्रमा महिलामाथिको मानसिक, शारीरिक र सामाजिक हिंसाले पनि ठूलै ठाउँ लिएको देखिन्छ । सार्वजनिक जीवनमा भएकाले अधिकांश मुद्दाहरू ढाकछोपमा पर्ने गरेका छन् । ‘बताउँदा आफ्नो व्यक्तित्वमा धक्का लाग्ने, नबताउँदा कहिलेसम्म सहने’को अवस्थामा कतिपय महिला कलाकार करिअर अगाडि बढाइरहेका छन् । कतिपय महिलाले आफूमाथिको शोषण सहन नसकेर उजुरी दिएका पनि छन् । अहिले नेपाल चलचित्र निर्माता सङ्घको न्यायिक इकाइले यस्ता मुद्दा हेर्ने गरेको छ । न्यायिक समितिमा यो एक वर्षको बीचमा विभिन्न १६ वटा उजुरी परेका छन् । जसमा ६ वटा उजुरी यौन दुर्व्यवहारसम्बन्धी छन् । ‘ग्ल्यामर’को नाममा चलचित्र उद्योगमा महिलाको यौनिकतालाई बढी सरोकार राखेर हेर्ने गरिएको छ । केही वर्षअघिसम्म यौन दुर्व्यवहारलाई सामान्य घटनाझैं गरेर लिने गरेको भए पनि अब गम्भीर बन्ने गरेको महसुस चलचित्रकर्मीहरूले गर्न थालेका छन् । जसका लागि महिला स्वयम् सचेत भएर उजुरी गर्नुपर्ने धारणा उनीहरूको छ । नायिका उषा खरेलको विचारमा यौन दुर्व्यवहार आफैंमा भर पर्ने कुरा हो, तर उनको विचारसँग असहमत रहेकी नायिका ममता प्रधान भने यौन दुर्व्यवहार महिला स्वयम्को व्यवहारमा भर पर्ने कुरा नभएर पुरुषको एटिच्युडसँग जोडिएको कुरा हो भन्छिन् । नायिका ममताले सन् २००८ मा आफूमाथि भएको यौन दुर्व्यवहारलाई लिएर पत्रकार सम्मेलन गरेकी थिइन् । चापागाईं थरका निर्माता-निर्देशकले स्त्रिmप्ट पढ्नका लागि उनलाई एक्लै अफिसमा बोलाएर यौन दुर्व्यवहार गरेका थिए । ममता भन्छिन्, ‘अहिले पनि मलाई त्यो घटनाले झस्काउँछ । म सम्झौता गरेर अघि बढ्न चाहन्न थिएँ, त्यसैले सो घटनालाई लिएर पत्रकार सम्मेलन गरेँ ।’
प्रतिस्पर्धी भएर अभिनेत्रीहरू चलचित्र क्षेत्रमा आइरहेका भए पनि पेसै छोड्न चाहने महिला पनि बढ्दै गएका छन् । कम पारिश्रमिक, दोस्रो दर्जाको भूमिकाका कारण मात्र होइन यो क्षेत्रमा देख्न नसकिने तर व्याप्त असुरक्षाका कारण महिला स्थापित हुन नपाई यस क्षेत्रबाट विस्थापित हुने गरेका छन् । दुई वर्षअघि एउटा विज्ञापनमा आफ्नो पारिश्रमिक नमिलिसकेको अवस्थामा कम्पनीले विज्ञापन प्रदर्शन गरिदिएपछि नायिकाहरू सञ्चिता लुइँटेल, उषा पौडेल र ऋचा घिमिरेलगायतले प्रहरीमा उजुरी दिएका थिए । यो कदमले अन्य महिला कलाकारलाई समेत आफूमा परेको मर्कालाई लिएर उजुरी गर्ने साहस जुटेको थियो । तर, यौन दुर्व्यवहारका सम्बन्धमा परेको उजुरीमा महिलाले मात्र पछिसम्म प्रताडित रहनुपर्ने अवस्था छ । निर्माता सङ्घका अध्यक्ष राजकुमार राईका अनुसार यौन दर्ुर्व्यवहार भयो अथवा बलात्कारको प्रयास भयो भन्ने मुद्दा कहीँ पनि टुङ्गोमा पुग्न सकेको पाइँदैन । किनभने यस्ता मुद्दामा प्रमाण जुटाउन गाह्रो छ । प्रमाण जुटाउन नसकेकै कारण ममताको मुद्दा ओझेलमा पर्‍यो ।
चलचित्र क्षेत्रमा मात्र होइन गायनलगायत अन्य मनोरञ्जनात्मक क्षेत्रमा पनि यो समस्या त्यत्तिकै छ । ‘आवेला’ एल्बम बजारमा निस्किएपछि टेलिभिजनमा आफ्नो गीतको प्रचार गर्ने क्रममा गायिका पूजा गुरुङ पनि यौन दुर्व्यवहारमा परेकी थिइन् । गीत ‘हिट’ बनाइदिने भन्दै एउटा टेलिभिजनको स्टेसन म्यानेजरले उनलाई एकान्तमा भेट्ने समय मागेपछि उनले स्टेसनबाट एल्बम फिर्ता लिएकी छिन् ।
गायिका दर्ुगा खरेललाई विदेश ? खाडी)मा कार्यक्रमका लागि निम्तो आए पनि पुरुषहरूको भीडमा एक्ली भएकाले के हुने हो भनी आफूलाई असुरक्षित ठान्दै उनले निम्ता अस्वीकार गरिन् । त्यस्तै चर्चित गायिका अञ्जु पन्त पनि मानसिक र शारीरिक हिंसाबाट मुक्त छैनन् । गायन क्षेत्रमा अञ्जुको लोकप्रियता बढ्दै गएपछि उनका श्रीमान्ले मानसिक तथा शारीरिक यातना दिन थालेको कुरा सार्वजनिक भएको छ । केही महिनाअघि एउटा पार्टीमा गएको बेला सबै मान्छेका सामु अञ्जुमाथि उनका श्रीमान्ले हातपातसमेत गरेका थिए भन्ने कुरा सञ्चारमाध्यममा आउँदा उनले खण्डन गरेनन् । चलचित्र होस् या गायन महिलाको ‘करिअर’का निम्ति सम्मानित पेसा हो तर महिलामाथि अनेक प्रकारका दर्ुर्व्यवहारका कारण यी क्षेत्र महिलामैत्री बन्न सकेका छैनन् । पेसागत मर्यादा बढाउनका लागि यी क्षेत्रमा संलग्न महिलाप्रतिको दृष्टिकोणलाई सम्मानित बनाउन आवश्यक छ ।
(सञ्चारिका समूह)