फनटाइम

फनटाइम


funtimeसुमिना ठकुरीको कब्जामा
यतिबेला चल्तापुर्जा अभिनेत्रीमा पर्छिन् सुमिना घिमिरे । अभिनय विधामा उनले नगरेको काम या भूमिका छैन भन्दा हुन्छ । चलचित्रदेखि म्युजिक भिडियो र टेलिविज्ञापन हुँदै स्टेज कार्यक्रमसम्म भ्याउने गरेकी छिन् उनले ।
यिनै सुमिनालाई अब भने भीकेएस ठकुरीले आफ्नो कब्जामा पार्ने भएका छन् । सुमिनाका फ्यान ठकुरी नेपाली टेलिचलचित्र र चलचित्र विधाका प्रशंसक पनि हुन् । हुन त ठकुरीले सुमिनालाई आफ्नो कब्जामा पार्ने प्रयास धेरै पहिलेदेखि नै गरेका रहेछन्, तर सुमिनाले कार्य–व्यस्तताको बहाना बनाउँदै ठकुरीलाई झुक्याइरहेकी थिइन् । अन्तत: लामो समयको प्रतीक्षा र प्रयासपश्चात् सुमिना ठकुरीको कब्जामा परेकी हुन् ।
तर, यो कब्जामा परेको प्रसङ्गलाई भने गलत अर्थ नलगाइयोस् । किनभने कुनै गलत काम गरेर भागेका कारण ठकुरीले सुमिनालाई आफ्नो कब्जामा पार्न खोजेका होइनन् र सुमिना पनि नराम्रो काम गरेकै कारण भागी–भागी हिँडेकी होइनन्, बरु एक नयाँ चलचित्रसँग सम्बन्धित प्रसङ्गले यस्तो अवस्था सिर्जना गराएको हो ।
यसअघि ‘परिबन्द’ नामक टेलिचलचित्र बनाएर सिने बजारमा उत्रिसकेका निर्माता भीकेएस अब कला क्षेत्रमा फड्को मार्ने प्रयासस्वरूप ठूलो पर्दाको चलचित्र निर्माणतर्फ लम्किएका हुन् । र, यसै चलचित्रमा सुमिना घिमिरेलाई प्रमुख भूमिकामा उभ्याउने क्रममा अब उनी करिब डेढ महिना निर्माता ठकुरीको कब्जाबाट बाहिर जान पाउने छैनन् । अर्थात्, अभिनेत्री सुमिनाले निरन्तर यो चलचित्रलाई समय दिनुपर्ने भएको छ, चलचित्रको छायाङ्कन नसकिएसम्मका लागि । यसबीचमा उनले हातमा आएका अन्य केही काम पनि छाड्नुपर्ने हुन सक्छ । प्रदीप श्रेष्ठले निर्देशन गर्ने नयाँ चलचित्रमा सुमिना अनुबन्धित भइसकेकी छिन् भने अन्य पात्रहरूको चयन हुन बाँकी रहेको छ । चलचित्र निर्माता ठकुरी चलचित्रलाई सामूहिक कार्य ठान्दछन् भने यसको सफलताको पछाडि सबैको उत्तिकै महत्वपूर्ण हात रहनेमा जोड दिन्छन् ।
यता अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी सुमिना पनि राम्रो ब्यानर र निर्माताबाट फिल्मका लागि अफर आउँदा आफूले दिलोज्यान लगाएर काम गर्ने गरेको बताउँछिन् । ‘थोरै फिल्म खेल्ने, तर स्तरीय र टिकाउ प्रकृतिका फिल्म खेल्ने भन्ने मेरो मान्यता हो । यही मान्यताको उदाहरण पनि हो यो नयाँ प्रोजेक्ट,’ उनले भनिन् ।

भिसा नपाउँदा मधुको मन अमिलो
आफूले चाहेको, रोजेको र खोजेको मान्छेसँग देश–विदेश घुम्ने रहर कसलाई पो हुँदैन र ? त्यसमाथि यस्तोे इच्छा आफ्नी जीवनसाथीलाई सुनाउँदा उनी कति खुसी हुँदिहुन् र आफैँलाई पनि कति आनन्दानुभूति हुँदो हो !?
हो, यस्तै भावना उर्लिएको थियो अभिनेता राजेश हमाल र उनकी नवविवाहिता पत्नी मधुको हृदयमा पनि । विश्वका सबैको आकर्षण रहेको समृद्ध मुलुक अमेरिकामा हनिमुन मनाउने कुरा आफ्नी धर्मपत्नी मधु भट्टराईसमक्ष केहीअघि नै राजेशले सुनाएका रहेछन् । यो सुनेपछि मधुको पनि उमङ्ग र खुसीको सीमा नै थिएन । हमालजोडी पूर्ण विश्वासका साथ अमेरिका जाने तयारीमा थियो । तर, दुर्भाग्य ! मधुले अमेरिकाको भिसा पाइनन् । भिसा नपाएपछि हनिमुन अमेरिकामा मनाउने योजना मात्र धराशयी भएन, मधुलाई त बज्रपात नै परेसरह भयो । महानायक राजेशसँग त पहिले लागेको भिसा नै बाँकी थियो, तर उनकी पत्नीका लागि गरिएको भिसाको अनुरोधलाई अमेरिकी दूतावासको कन्सुलर शाखाले स्वीकार गरिदिएन । मधुले के कारणले भिसा पाइनन् भन्ने न त राजेशले अनुमान गर्न सके न मधु नै यसबारे केही भन्न सक्ने अवस्थामा छिन् । उनीहरू त भिसा पाउनेमा ढुक्कै थिए । आफ्नी धर्मपत्नीलाई भिसा नदिएपछि राजेशले पनि अमेरिकाका केही कार्यक्रम क्यान्सिल गरेको बुझिएको छ ।
आफ्नी पत्नीलाई अमेरिका घुमाउने वाचा गर्दै वैवाहिक बन्धनमा बाँधिएको केही दिनमै एक जरुरी कार्यक्रम भन्दै अस्ट्रेलिया जाँदा हमालको आलोचना भएको थियो । अस्टे«लियाबाट फर्केर आएपछि धर्मपत्नीका साथ अमेरिका जाने हमालको योजनामा यसरी बे्रक लाग्न पुगेको छ ।
यता हमालकी पत्नी मधुले अमेरिकी भिसा पाइनन् भने उता अभिनेता नीरज बराल र उनकी धर्मपत्नीलाई भने अमेरिकाले भिसा प्रदान गरेपछि उक्त जोडी अहिले अमेरिकाका विभिन्न सहरमा चलचित्र स्टुपिड बोकेर घुमिरहेको छ । ‘स्टुपिड’ चलचित्रको विशेष प्रदर्शनीका लागि अमेरिका पुगेको उक्त जोडी त्यताबाट अर्को चलचित्र ‘सेफ ल्यान्डिङ’का लागि अस्टे«लिया पुग्ने बुझिएको छ । अस्ट्रेलियामा ‘सेफ ल्यान्डिङ’का निर्माता वसन्त भण्डारीले चलचित्र प्रिमियरको तयारी गरिरहेको बताइएको छ ।

‘मेरो भ्यालेन्टाइन’ले हावा खाँदा निशा खिस्रिक्क
हुन त बोल्न, कुरा गर्न र भीडमा फरक किसिमले प्रस्तुत हुन अभिनेत्री निशा अधिकारीलाई कसैले पनि भेट्टाउन सक्दैन । तर, उनले काम गरेका चलचित्रले चाहिँ सिनेबजारमा खासै जादु गर्न नसकेपछि सिनेमाबाहिरको उनको उपस्थिति र बठ्याइँ पनि खासै उपलब्धिमूलक हुन सकिरहेका छैनन् ।
मूलधारलाई अवहेलना गर्ने अनि आफू फरक धारको व्यक्ति भनेर चिनाउन उद्यत् अभिनेत्री निशा अभिनयको मामिलामा कमजोर पनि छैनन् । तर पनि उनले अभिनय गरेका चलचित्र एकपछि अर्को गरी पछारिन थालेपछि निशाको आगामी चलचित्र अभिनय यात्रा सहजकताका साथ अगाडि बढ्ला भन्न सकिने अवस्था छैन । पारिश्रमिकको मामिलामा पनि निशा अलि महँगी नै छिन् । तर, उनीमाथि गरिएको लगानीले दर्शकहरू हलतिर आउने अवस्था छैन भन्छन् निर्माताहरू । निशाको नाम या उपस्थितिकै कारण चलचित्र चल्ने अवस्था नभएपछि उनलाई चलचित्रमा लिने काम जोखिमपूर्ण निष्कर्षमा निर्माताहरू पुग्न थालेका छन् । गत हप्ता रिलिज भएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ पनि नराम्ररी पछारिन पुगेपछि निशाको साख र नाममाथि झनै असर परेको छ । अघिल्लो चलचित्र ‘फस्र्ट लभ’भन्दा राम्रो भनेर प्रतिक्रिया दिएकी थिइन् उनले । तर, चलचित्र ‘मेरो भ्यालेन्टाइन’ फस्र्ट लभको छेउमा पनि पुग्न नसक्दा निशा नै अचम्ममा परिन् ।

अस्ट्रेलिया बसेर प्रकृतिको गीत
नामजस्तै सङ्गीतमा उज्ज्वल भविष्य निर्माणका लागि अनवरत प्रयत्नरत उज्ज्वल केसी सुमधुर स्वरका धनी एवम् सुपरिचित गायक हुन् । सन् २०१३ मा हिट्स एफएमको पाँच विधामा उनको स्वरले मनोनयन प्राप्त ग-यो । पर्थमा स्थायी रूपले बसोबास गर्दै आएका गायक उज्ज्वल केसीको पहिलो एल्बम ‘न्यानो सहर’ सत्रौँ हिट्स एफएम म्युजिक अवार्डको विभिन्न पाँच विधामा मनोनयनमा परेको थियो । आफ्नो मिहिनेतमाथि श्रोताको माया, आशीर्वाद र साथले दिलाएको अमूल्य खुसी उनी अझै सम्झिरहन्छन् । साङ्गीतिक शिखर चढ्दै गरेका गायकलाई योभन्दा खुसीको कुरा के नै हुन्छ र ? सोखकै रूपमा सङ्गीतमा लागेका उज्ज्वल अहिले भने यसलाई जीवनकै अभिन्न पाटो मान्न थालेका छन् । तर, जन्मभूमि छोडेर बिदेसिनुको मर्म एकातिर हुँदाहुँदै सङ्गीतमा नै पूरा समय खर्चेर जीविकोपार्जन गर्न सकिने अवस्था अझै नआएकोमा उनको दुखेसो छ ।
नेपाली गीत–सङ्गीतको मौलिकता अरू कुनै देशका सङ्गीतसँग दाँजेर हेर्न नसकिने उज्ज्वलको मूल्याङ्कन छ । उनी चाहन्छन्– हरनेपालीले नेपाली सङ्गीत मन पराऊन्, माया गरून् अनि संरक्षण गरून्, जो नेपालको अमूल्य सम्पत्ति हो । आफ्नो सफलताको पछाडि पिताको मुख्य भूमिका रहेको गायक केसीको भनाइ छ । उनी भन्छन्, ‘म मेरो हरेक पलको सफलताबारे बुबासँग कुरा गर्छु, सार्वजनिक रूपमा सम्बन्ध बढाउन बुबाले मेरा लागि ठूलो मिहिनेत गरिदिनुभएको छ, कहिलेकाहीँ त लाग्छ मजत्तिकै उहाँ पनि मेरै लागि खट्नुभएको छ । सहयोगी पिता हुनाले धेरै खुसी मिलेको छ । उहाँ धन्यवादका लायक हुनुहुन्छ ।’ अहिले नेपाली मिडियामा राम्रो छाप छोडेको केसीको आवाज नेपाली पपसङ्गीत क्षेत्रमा निकै आशा बोकेको आवाज हो । उनका एल्बममा मायाप्रेमलगायत प्रकृतिसम्बन्धी गाइएका गीतहरू छन् । हाल अस्ट्रेलियामा अध्यनरत केसी नेपाली सङ्गीत क्षेत्रलाई नै आफ्नो अभिन्न अङ्ग ठानेर अघि बढ्ने वाचा गर्छन् । अस्ट्रेलियाका साङ्गीतिक माहोलहरूमा उनको गीत प्रत्यक्ष सुन्नेहरूले समेत उनको स्वरको प्रशंसा गर्छन् । हिजोआज अस्ट्रेलियामा बेलाबखत आयोजना भइरहने साङ्गीतिक कार्यक्रमहरूमा केसी एउटा आकर्षणकै पात्र बनेर उपस्थित हुने गर्दछन् ।

‘पोयमाण्डु’मा तीन भाषाका कविता वाचन
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजनामा १७औँ ‘पोयमाण्डु’ गत साता नेपाल–भारत पुस्तकालय भवनमा सम्पन्न भएको छ । सुपरिचित इतिहासविद् एवम् समीक्षक डा. गंगाप्रसाद अकेला र पत्रकार सुकेश्वर पाठक सो कार्यक्रममा विशेष अतिथिका रूपमा निम्त्याइएका थिए भने कवि–कवयित्रीहरू डिल्लीराज अर्याल, रमा अधिकारी, बेटी बज्राचार्य, खगेन्द्र खुसी, रामप्रसाद रिमाल, पुरुषोत्तम ढुङ्गेल, रामबहादुर बोगटी, सोनिका कपुर, रश्मी रिमाल र उर्मिला पन्त पाण्डेयले हिन्दी, नेपाली र अङ्ग्रेजी भाषामा आ–आफ्ना रचना वाचन गरी उपस्थित स्रोतालाई सुनाएका थिए ।
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले कार्यक्रममा सहभागी स्रष्टाको हौसलाका लागि सधन्यवाद उपहार प्रदान गर्नुभएको थियो । स्मरणीय छ, बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजनामा पोयमाण्डुका अलावा कन्भर्सेसन्स, सिनेमाण्डु, भ्वाइसेस नामक कार्यक्रम पनि आयोजना हुँदै आएका छन् ।

भानु सम्झँदै कविता
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी बागमती अञ्चल समारोह समितिको आयोजनामा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् सत्यमोहन जोशीले राज्यले यसपटक आदिकविको द्विशतवार्षिकी मनाउन उदार मन देखाएको उल्लेख गर्दै कुल एक करोडमा विशाल कार्यक्रमको आयोजना भएकाले साहित्यको क्षेत्रलाई अनुत्पादक नठान्न आग्रह गरे । जोशीले सभासद्ले आफ्नो क्षेत्रका लागि पाँच करोड माग गरेको उल्लेख गर्दै साहित्यको उत्थानका लागि कसैले पनि केही नबोलेकोमा दु:ख लागेको बताए । उनले राज्यले साहित्य, कला र संस्कृतिलाई हेर्नुपर्ने बताए ।
कवि नारायण निरासी र बुनु लामिछानेको छन्द कविताबाट सुरु भएको उक्त कार्यक्रममा कविहरू धनबहादुर ओली, चर्चित ढुङ्गेल, श्रीराम श्रेष्ठ, तुलसीहरि कोइराला, फुलमान बल, पुष्परत्न तुलाधर, प्रतिशरा सायमी, मणि लोहनी, महेश रेग्मी, विधान आचार्य, गोबद्र्धन पूजा, गगन विरही, यादव भट्टराईलगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा बागमती अञ्चलका जिल्ला संयोजकहरू होमशंकर बास्तोला, श्रीराम श्रेष्ठ, दिनमान गुर्मछान, डम्बर रसिक भारती, धु्रुव मधिकर्मी र नवीन चित्रकारलाई कदरपत्र प्रदान गरिएको थियो भने भानुजयन्तीका दिन स्वर्णपदक तथा सम्मानपत्र लिन बाँकी साहित्यकर्मी एवम् कलाकारहरू शम्भुजित बासकोटा, ठाकुर शर्मा, गंगा पौडेल, अनन्त वाग्ले, गोबद्र्धन पूजालाई पदक तथा प्रशस्तिपत्र प्रदान गरिएको थियो ।
बागमती अञ्चलका कार्यवाहक अध्यक्ष साहित्यकार विजय चालिसेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती अञ्चल समितिले गरेको साहित्यिक कार्यक्रमहरूका बारेमा सचिव जय छाङछाले प्रतिवेदन प्रस्तुत गरेका थिए भने मूल समारोह समितिका श्रीओम रोदन, काठमाडांै जिल्ला संयोजक नवीन चित्रकारले पनि बोलेका थिए ।