मोदीको मन्तव्यपछि सिङ्गै नेपाल मन्त्रमुग्ध

मोदीको मन्तव्यपछि सिङ्गै नेपाल मन्त्रमुग्ध


Modi, prime ministerial candidate for the BJP, gestures upon his arrival to meet party leaders and workers at Gandhinagarनयाँ युगमा नेपाल–भारत सम्बन्ध :
नेपालमा भारतप्रतिको भ्रम निवारण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्कनुभएको छ । मोदीको भ्रमणसँगै नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा प्रवेश गरेको महसुस गरिएको छ । पञ्चेश्वर आयोजना निर्माणको सुनिश्चितता, एक खर्ब रुपैयाँको ऋण सहयोग, विगतका सन्धिहरूको पुनरावलोकन, सीमा विवादको समाधान तथा महाकाली नदीमा पुल निर्माण, पशुपतिक्षेत्र विकासलाई सहयोगलगायतका विषयलाई तत्कालिक ठोस उपलब्धिका रूपमा अवश्य लिनुपर्नेछ । योभन्दा पनि ठूलो उपलब्धि नेपाल–भारतबीच कुनै न कुनै रूपमा जमेर रहेको आशङ्का र अविश्वासको स्थितिलाई चिर्न मोदी सफल हुनुलाई मानिएको छ । मोदीको एउटै भाषण नेपालीको मन बदलिने मन्त्र बनेको छ र भारतप्रति आमनेपालीको विश्वास र भरोसा बढाएको छ । नेपालमा भारतसँगको सम्बन्धलाई राजनीतीकरण गर्नेहरू र भारत विरोधलाई नेपाली राष्ट्रवादको आधार बनाउनेहरूलाई मोदीको अभिव्यक्ति र व्यवहारले रक्षात्मक स्थितिमा पु-याइदिएको छ । नेपालमा भारतप्रतिको दृष्टिकोण बदल्ने सामथ्र्य यसअघि कुनै भारतीय नेताले प्रस्तुत गर्न सकेका थिएनन्, यस दृष्टिले मोदीको नेपाल भ्रमण युगान्तकारी बन्न पुगेको छ । कुनै विदेशी नेताहरूले औपचारिकताबस बोल्ने या बोलेका कुराहरूलाई कूटनीतिक सीमाको दायरामा राखेर हेर्ने–बुझ्ने गरिन्छ । तर, मोदीको मन्तव्यलाई नेपाली राजनीतिकर्मी, कूटनयिक, विद्वान्, बुद्धिजीवी र सर्वसाधारणले समेत ‘मनैदेखिको अभिव्यक्ति’का रूपमा बुझे– मन्तव्यमाथि कुनै नेपालीले पनि नकारात्मक टिप्पणी गरेका छैनन्, बरु सर्वत्र अत्यन्त सकारात्मक रूपमा लिइएको छ । समग्रमा मोदीको मन्तव्यले सिङ्गै नेपाललाई मन्त्रमुग्ध तुल्याएको छ । बुद्धको जन्मस्थानलाई लिएर उत्पन्न भ्रम र तनावलाई मोदीले एउटै वक्तव्यमार्फत किनारा लगाइदिनुभएको छ । ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनी विश्वव्यापी अभियान चलाइएका बेला अब त्यस विषयमा कुनै भ्रम नै नरहने गरी स्पष्ट पारिएपछि ‘विश्वव्यापी अभियान’को औचित्य नै समाप्त हुन पुगेको छ । नेपालको सार्वभौमिक स्वतन्त्रताको उच्च सम्मान गर्दैै मोदीले ‘भारत नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप गर्दैन, बरु नेपालको आर्थिक विकासमा जुनसुकै प्रकारले सहयोग गर्न तयार रहेको’ भनी दिनुभएको अभिव्यक्तिले पनि नेपालीलाई प्रसन्न तुल्याएको छ ।
मोदीले नेपालको विकासका लागि ऊर्जाको उत्पादन र व्यापार, जडीबुटी उत्पादन तथा बिक्री, पर्यटन र धार्मिक पर्यटनको प्रवद्र्धन एवम् अर्गानिक कृषि उत्पादनमार्फत समृद्ध राष्ट्र बन्न सक्ने सुझाव दिँदै आमनेपाली र नीति–निर्माण तहलाई झकझक्याउनुभएको छ । त्यसैगरी ‘आजको लागि नभई भविष्यको निम्ति संविधान निर्माण गर्नुपर्ने, पचास वर्षपछि पनि विषवृक्ष खडा हुन नसक्नेतर्फ ध्यान पु-याउनुपर्ने र देशलाई तोड्ने गरी नभई जोड्ने गरी संविधान बन्नुपर्ने तथा सबै नेपालीको भावना संविधानमा समेटिनुपर्ने’ सुझाव दिएर आफू नेपालको सच्चा हितैषी भएको पुष्टि मोदीले गर्नुभएको छ । कुनै पनि पक्ष उपेक्षित नहुने प्रकारको संविधान बन्नु उपयुक्त हुने सुझाव दिएर नेपाललाई हिन्दूराष्ट्रको पहिचानमा राख्नुपर्छ भन्नेहरूलाई पनि उहाँले आश्वस्त पारिदिनुभएको छ ।
पशुपतिनाथको महत्व र उपादेयताको बारम्बर चर्चा गर्दै उहाँले पशुपतिनाथको प्रवद्र्धनमा विशेष जोड दिनुभयो । माओवादीको चपेटामा पर्दै आएको पशुपतिनाथको गरिमा र महत्व पनि मोदीको भ्रमणपश्चात् एकाएक बढेको छ । बुद्धको भूमि नेपालमा पशुपतिनाथको महत्व कति छ भन्ने सन्देश मोदीले विश्वलाई दिनुभएको महसुुस गरिएको छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मूल उद्देश्य दुईवटा थिए– नेपालसँगको सम्बन्ध प्रगाढ बनाउनु र पशुपतिनाथको दर्शन गर्नु । दुवै कार्यमा पूर्ण सफलता उहाँलाई मिलेको छ । मोदीको सफलतालाई नै आफ्नो सफलता मानेर नेपालभित्र चित्त बुझाइएको छ । नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धति अवलम्बन गर्न लागेकोप्रति ऐक्यबद्धता जनाउनुभएका मोदीले आफ्नो मन्तव्यमा धर्मनिरपेक्षताबारे भने एक शब्द उल्लेख गर्नुभएन । त्यसो त नेपालमा एउटा आतङ्क बन्दै गरेकोे धर्म परिवर्तनको सन्दर्भलाई पनि उहाँले चर्चा गर्नुभएन । आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिको रक्षामा जोड दिन आग्रह गर्दै उहाँले आफ्नो मौलिकता जोगाउन नेपाल सचेत हुनुपर्ने अवस्था आएको सङ्केत निकै नै शालीनतापूर्वक गर्नुभयो । युद्ध छोडेर बुद्धको मार्गमा आएको सन्देश विश्वलाई दिन संविधान निर्माण गरिनुपर्ने बताउँदै उहाँले माओवादीलाई नाम नलिईकन प्रशंसासहित सचेत गराउने काम पनि आफ्नो मन्तव्यमार्फत गर्नुभएको छ । मोदीको मन्तव्यले नेपालीको हरेक चाहना र भावनालाई सम्बोधन गरेको छ । नेपालको अँध्यारो हटाउन भारतले तत्काल विद्युत् आपूर्ति दोब्बर गर्ने प्रतिबद्धता प्रकट गर्दै भारतीय प्रधानमन्त्रीले दश वर्षभित्र भारतको अँध्यारो हटाउन नेपालको सहयोगको अपेक्षा पनि गर्नुभयो । नेपाल लाभान्वित हुनेगरी ऊर्जा विकास र व्यापार सम्झौता गर्न चाहेको स्पष्ट गरेर मोदीले यस मामिलामा नेपालको उदासीनताप्रति साङ्केतिक चिन्ता प्रकट गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्ताका क्रममा दलगत भावनाभन्दा माथि उठेर देशका लागि काम गर्न दिनुभएको सुझावलाई नेपाली जनताको भावनासँग जोडेर हेरिएको छ । देशभन्दा ठूलो दल हुन सक्दैन भनेर दलका नेताहरूलाई शालीनतापूर्वक अर्ती दिनुलाई उहाँले नेपाली जनताको भावना जस्ताको त्यस्तै प्रतिनिधित्व गर्नुभएको ठानिएको छ । त्यस्तै, मधेसको नाममा क्षेत्रवादी राजनीति गर्नेहरूलाई सिङ्गै नेपालको बारेमा सोच्न सुझाएर आमनेपालीको मन मोदीले जित्नुभएको छ । यसअघि कतिपय क्षेत्रीयतावादी समूह र तिनका नेताहरूसँग बेग्लै व्यवहार गर्दा बाँकी नेपालीमा त्यसको नकारात्मक असर पर्दै आएको थियो । संसद्मा दिइएको मन्तव्यमा मधेस शब्दको प्रयोग नै नगर्नुभएका भारतीय प्रधानमन्त्रीले मधेसकेन्द्रित नेताहरूसँगको भेटवार्ताका क्रममा दिनुभएको जवाफले भारत समग्र नेपालको हितको पक्षमा दृढ रहेको स्पष्ट गरेको छ ।
प्रधानमन्त्री मोदीको अभिव्यक्ति र व्यवहारले उहाँ पूर्ण तयारीका साथ नेपाल आउनुभएको आभास हुन्छ । तर, मोदीको ‘स्पिड र स्पिरिट’अनुरूपको तयारी नेपालमा हुन सकेन । भ्रमणकै क्रममा ऊर्जा विकास र ऊर्जा व्यापारसम्बन्धी सम्झौता हुन सकेको भए नेपालप्रति मोदी थप सन्तुष्ट बन्नुहुने र नेपाल पनि लाभान्वित हुने आशा गर्न सकिन्थ्यो । यस अर्थमा नेपालले एउटा सुवर्ण अवसर चुकाएको भन्न सकिन्छ । मोदीलाई स्वागत गर्नेबाहेक कुनै तयारी नेपालले गरेन । देशको हितका निम्ति कुनै ठोस सम्झौता गर्ने तयारी नेपालले नगर्दाको क्षति अब भारतले व्यहोर्नुपर्ने अवस्था रहेन । मोदीले आफ्नो अभिव्यक्तिमार्फत ‘बल नेपालको कोर्ट’मा पु-याइदिनुभएको छ । सन् १९५० को सन्धि पुनरावलोकनदेखि ऊर्जा सम्झौतासम्म स्पष्ट दृष्टिकोण, नीति र कार्यक्रम बनाउनुपर्ने जिम्मेवारी नेपालको काँधमा आएको छ । भारत यसरी सकारात्मक सोचका साथ सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराउन इच्छुक र उत्सुक हुँदा पनि नेपालबाट समयमै अपेक्षित ‘रेस्पोन्स’ हुन सकेन भने नेपालप्रतिको भारतीय दृष्टिकोण र व्यवहार कस्तो हुनसक्ला भन्नेबारे नेपालको सम्बद्ध पक्ष अहिले नै गम्भीर बन्न आवश्यक देखिएको छ ।