अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !

अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना !


जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर, पन्चले शनिबार आफ्नो पहिलो जन्मदिन मनाएको छ । पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ । उसलाई अब त्यो अर्काको खेलौना खेल्नुपर्दैन । उसले धेरै शुभचिनतक कमाएको छ र उनीहरूको माया पाइरहेको छ ।

एक वर्षअघि आजकै दिन (जुलाई २५) मा पन्चलाई जन्म दिएपछि सम्भवतः थकानका कारण उसकी आमाले स्याहार नगरी छाडिदिएकी थिइन् । चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए र नयाँ जन्मेका ‘मकाक’ बाँदरहरू बाँच्नका लागि आवश्यक समात्ने क्षमता विकास गर्न त्यो खेलौना दिए ।

पन्च अब त्यो नरम खेलौना समात्ने मोटो बच्चा मात्र नभई ‘इचिकावा सिटी जुलोजिकल एण्ड बोटानिकल गार्डेन’को घेरामा अन्य बाँदरहरूसँग घुलमिल भएर खेल्दा उनीहरूबाट छुट्याउन गाह्रो छ । ‘ऊ अहिले पनि प्रशंसकको ठूलो भीडको ध्यानाकर्षण गरिरहेको छ। उसले जापानभित्र र बाहिरबाट करिब दुई हजार ५०० जन्मदिनको शुभकामना दिइएका कार्डहरू पाएको छ’- चिडियाखानाका प्रमुख ताकाशी यासुनागाले भनेका छन् ।

धेरै कार्ड र अन्य सन्देशहरू ‘पन्च जन्मदिन प्रदर्शनी’का भित्री भित्ताहरूमा टाँसिएका छन्, जहाँ आगन्तुकहरूले पन्चका सुरुका दिनदेखिका भिडियोहरू पनि हेर्न सक्छन् ।

“पन्चले हरेक दिन बाँच्नका लागि धेरै सङ्घर्ष गरिरहेको बेला उसका दुई हेरचाहकर्ताहरूले आमाको अभाव मेटाउन सकेसम्म सबै सुविधा उपलब्ध गराएका थिए र अन्य कर्मचारीहरूले निगरानी गरेका थिए” यासुनागाले विगत एक वर्ष सम्झँदै भने, “पन्च जन्मिएको बेला अत्यन्तै गर्मी थियो । गर्मीको मौसम फर्किएसँगै त्यो सम्झना अझै ताजै छ ।”

जनवरीको मध्यतिर, हेरचाहकर्ताहरूबाट ६ महिना विशेष हेरचाह पाएपछि पन्चलाई चिडियाखानाको बाँदर घेरामा करिब ५० अन्य बाँदरहरूसँग राखियो । यो चुनौतीले उसलाई थप प्रसिद्ध बनायो । फेब्रुअरीमा चिडियाखानाले सामाजिक सञ्जालमा पन्चको खेलौनासहितका तस्बिरहरू राखेपछि तुरुन्तै सनसनी बन्यो र चिडियाखानामा दशौं हजार आगन्तुक आए, जसमध्ये आधा विदेशबाट आएका थिए ।

अन्य बाँदरहरूले बच्चालाई धपाउँदा पन्च तुरुन्तै ओरङउटानको खेलौनातिर दौडिन्थ्यो र सान्त्वनाका लागि त्यसलाई अँगालो मार्दथ्यो । प्रशंसकहरूले त्यसको भिडियो खिचेर पन्च भाग र त्यस (ओरङउटानको खेलौना) लाई समाऊ भन्दै गरेका भिडियो सामग्री सामाजिक सञ्जालमा ट्यागसहित हाली उसलाई प्रोत्साहन दिए । ओरङउटानको खेलौना उसको आमाको स्थानमा आएको साहारा थियो र खेल्ने साथी पनि ।

‘केवल खेलौनासहितको पन्चको प्यारोपन मात्र होइन, अरूहरूबाट बिस्तारै स्वीकृत हुनका लागि उसको एक्लो सङ्घर्षले पनि मानिसहरूको मन छोयो’- प्रशंसकहरू भन्छन् ।