कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ । पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आठ जना प्रहरी घाइते भएका छन् ।
कोस्टारिकाका महान्यायाधिवक्ता कार्लोस डियाजका अनुसार ‘एल डियाब्लो’ उपनामले चिनिने मोन्गेलाई शुक्रबार (२४ जुलाई) बिहान उत्तरपूर्वी हेरेडिया प्रान्तको रियो फ्रियोबाट पक्राउ गरिएको हो । उनको पक्राउका लागि अमेरिकाले पाँच लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो ।
डियाजका अनुसार ग्रामीण क्षेत्रमा आपराधिक समूहका नाइकेहरूको बैठक भइरहेको सूचनाका आधारमा सुरक्षा निकायले कारबाही गरेको थियो । उक्त कारबाहीमा अर्का आपराधिक समूहका नाइके रोनी रियोस मारिएका छन् ।
सुरक्षा कारबाहीका क्रममा करिब दुई हजार पाँच सय राउन्ड गोली चलेको र आठ जना प्रहरी घाइते भएको महान्यायाधिवक्ता डियाजले जानकारी दिएका छन् ।
सान जुआनस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सफल कारबाहीका लागि कोस्टारिका सरकारलाई बधाई दिएको छ ।
अधिकारीहरूका अनुसार ‘एल डियाब्लो’ करिब एक दशकदेखि फरार थिए । उनी फरार अवधिको केही समय छिमेकी मुलुक निकाराग्वामा लुकेर बसेको आशङ्का गरिएको छ ।
कुनै समय मध्य अमेरिकाकै सुरक्षित मुलुकका रूपमा चिनिएको कोस्टारिकामा पछिल्ला वर्षमा लागुऔषध तस्करी र सङ्गठित अपराधका गतिविधि बढ्दै गएपछि सुरक्षा चुनौती थपिएको छ ।
प्रतिक्रिया