पाठक मञ्च

पाठक मञ्च


pathakmanchआफ्नै खर्चमा बनाउँछु भनेको होइन र ?
एनआरएन अमेरिकामा ‘प्रजातान्त्रिक भनिएको’ निर्वाचन भर्खरै सकिएको बेला छ । नेपाली समाजको छाता सङ्गठनको विकास, समृद्धि र उचाइका लागि सिङ्गो अमेरिकामा रहेका नेपालीको चाहनालाई तिरस्कृत र अपमान गर्दै ‘भोटर फ्रड’ र अनियमिततापूर्ण निर्वाचनको धब्बा एनआरएन अमेरिकालाई लागिरहेको अवस्थामा एनआरएनएका केन्द्रीय अध्यक्ष शेष घलेजी संस्थाको केन्द्रीय कार्यालय भवन निर्माणार्थ चन्दा सङ्कलनको उद्देश्य बोकी अमेरिका आउन लागेको सुन्नमा आयो ।
शेषजी, अध्यक्षको हैसियतले तपाईंले यहाँ भएको ‘भोटर फ्रड’ र अनियमित निर्वाचनबारे कति थाहा पाउनुभयो या भएन ? वा थाहा पाएर पनि यस अनियमित र धाँधलीपूर्ण निर्वाचनको विषय पक्कै पनि तपाईंको प्राथमिकतामा पर्न सकेन । तर, एनआरएन अमेरिकाको भर्खरै सम्पन्न धाँधलीपूर्ण निर्वाचन र बिहारी शैलीका कारण तमाम नेपाली समुदायबीच संस्थाप्रति जाग्दै गएको भावनात्मक र सक्रियतालाई निरुत्साहित पार्ने काम गरेको छ । केही व्यक्तिका कारण नै संस्थाको वजन घट्न गएको छ । तपाईं अमेरिका आगमनपश्चात् ती ‘भोटर फ्रड’ गर्ने केही व्यक्तिबाट उम्कन सक्नुभयो भने यथार्थ जानकारी पाउनु नै हुनेछ ।
जहाँसम्म भवन निर्माणका लागि चन्दा सङ्कलनको सवाल छ, यसबारे केही बोल्नैपर्ने देखियो । तपाईं अध्यक्षको चुनाव लड्दै गर्दा तपाईंले काठमाडौंमा आफ्नै खर्चमा एनआरएनको भवन निर्माण गरिदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । तपाईं अस्ट्रेलियाको धनी र संसारभरका प्रवासी नेपालीमध्ये पनि आर्थिक रूपमा धनी हुनुहुन्छ । तपाईंलाई त्यस भवन निर्माणका लागि आवश्यक रकम खर्च गर्न कुनै समस्या नहुनुपर्ने हो । तपाईंले निर्वाचनमा गर्नुभएको प्रतिबद्धता अहिले भवन निर्माणका लागि अर्थ सङ्कलनको क्रममा अमेरिका आउँदै गर्दा तपाईंको प्रतिबद्धतामाथि नै प्रश्नचिह्न लाग्न पुगेको छ भन्न अब मिल्ने कि नमिल्ने ?
अमेरिकामा रहेका केही व्यक्तिविशेषबाहेक अधिकांश नेपाली दुःखजिलो गर्दै, बिल तिर्दै आफू र आफ्नो परिवार र समाजको समृद्धिका लागि क्रियाशील छन् । मन्दिर तथा सामुदायिक भवन निर्माण, अन्य सामाजिक कार्य तथा नेपाली समुदायमा भैपरी आउने समस्यालाई आफ्नो तह र तप्काबाट दुःख–सुखपूर्वक सहयोग गरिरहेको अवस्था छ । तपाईं अमेरिका आउने खबर सुन्दा नेपाली तपाईंले प्राप्त गरेको आर्थिक सफलताका साथै तपाईंका ज्ञान, सीप र क्षमता सुन्न आतुर छन् । अन्य नेपाली तपाईंजस्तै धनी नभए पनि आर्थिक समृद्धिमा तपाईंको सफलताको सिको गर्न चाहन्छन् । यस्तोमा आर्थिक सङ्कलनका समाचार र सन्देश तपाईंप्रति पक्कै सकारात्मक हुन सक्दैन । एनआरएनएको भविष्य, यसको आवश्यकता, सम्बोधन गरिनुपर्ने विषयवस्तु तथा वर्तमान र भविष्यका चुनौती एवम् अवसरलाई सदुपयोग गर्दै नेपालीको आर्थिक तथा सामाजिक स्तर उठान गर्दै पहिचान बढाउनेतर्फ तपाईंका विचार सुन्न लालायित छन्, नकि दुःख गरेर कमाएको डलर तपाईंजस्तो धनी व्यक्तिलाई हस्तान्तरण गर्न ।
तपाईंलाई हेक्का हुनुपर्छ, एनआरएन अमेरिकाको खातापाता राख्ने एउटा दराजसमेत छैन । प्रशासनिक काम गर्न कार्यालय छैन । एउटा कोठा छैन । एउटा फोन पनि छैन । प्रश्न यो छ कि आफ्नो घर बनाउने वा काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर जाने ? साँच्चै भन्ने हो भने एनआरएनका लागि आलिशान भवन निर्माण आवश्यक नै छैन । अहिलेको आवश्यकता भवन निर्माण होइन, बरु आउने संविधानमा प्रवासी नेपालीको हक–अधिकार स्थापित गर्नु नै अहिलेको मुख्य दायित्व हो । नेपालमा रहेका राजनीतिक दलहरू, बौद्धिक समुदाय, निजी तथा अर्धसरकारी संस्थाका साथै अन्य आमनेपालीलाई प्रवासी नेपालीको योगदान र भविष्यमा उनीहरूको भूमिका बढाउन क्रियाशील र सक्रिय हुनु अहिलेको आवश्यकता हो । अहिलेको आवश्यकता भनेको संसारभर भएका प्रवासी नेपालीको आँकडा, उनीहरूको अवस्था, भूमिका, क्षमता, स्रोत र साधनलाई एकत्रित गर्दै सस्ंथाको समृद्धि र भाइचारालाई मजबुत बनाउनु हो । यो संस्थामा धनी, व्यापारी र पैसावालहरूको मात्रै प्रतिनिधित्व हुने गर्छ भन्ने अवस्थालाई चिर्दै सबै प्रवासी नेपालीको छाता सङ्गठनको रूपमा स्थापित गर्न तपाईं र तपाईंको कार्यसमिति क्रियाशील हुन जरुरी छ । अधिकांश देशमा एनआरएनमा विवाद, झगडा र मनमुटावको स्थिति विद्यमान छ । स्वार्थी र अवसरवादीको कार्यथलो हो भन्ने आरोप खेपिरहेको वर्तमान अवस्थामा तपाईंको नेतृत्वले संस्थाको आन्तरिक मजबुती र बाह्य भ्रमलाई चिर्न सक्ने क्षमता राख्नुपर्दछ । नेपालीहरू त्यस्तो हेर्न चाहन्छन्, एउटा घर बनाउनका लागि तपाईंले चन्दाको बाकस थाप्दै हिँडेको हेर्न कोही रुचाउँदैनन् । तपाईंले काठमाडौंमा निर्माण गर्न लाग्नुभएको भवनमा करोडौँ रुपैयाँको खोलो बग्न सक्छ । र, त्यही खोलामा आहाल खेलेर पैसा कमाउने दाउ हेरेका केही व्यक्ति तपाईंकै वरिपरि हुन सक्छन् । अहिलेको अवस्था र आवश्यकतालाई घटाएर भवन निर्माणका लागि पैसा बटुल्दै सहयोगका लागि दबाब सिर्जना गर्दै भवनमा नाम लेख्ने लोभ देखाएर हिँड्न तपाईंलाई पक्कै पनि सुहाउँदैन ।
प्रवासी नेपालीहरू अझै सम्झँदै छन् कि यसपूर्व एनआरएनले लगानी गर्न लागेको जलविद्युत् (हाइड्रोपावर) योजनाको तपाईं प्रमुख हुनुहुन्थ्यो । मलेसिया, कोरिया तथा अरबका देशका प्रवासी नेपालीले रगत र पसिनासँग साटेको पैसा निकै सङ्कलन गरिएका थिए । अमेरिकाबाट पनि केही रकम गएको सुन्नमा आएको थियो । त्यसरी सङ्कलित करोडौँ रुपैयाँ कहाँ, कोसँग छ र कसले उपयोग गरिरहेको छ ? त्यो जलविद्युत् आयोजना कहाँ पुग्यो र त्यसरी लगानी गर्ने ती प्रवासी नेपाली दाजुभाइ–दिदीबहिनीले कहिले त्यो पैसा फिर्ता पाउँछन् ? यसको प्रस्ट जवाफ तपाईंबाट खोजेका छन् । एनआरएनको काम लगानी गर्ने, लोभ देखाउँदै पैसा उठाउने र पैसा दुरुपयोग गर्ने होइन । यसको काम भनेको लगानीका लागि वातावरण सिर्जना गरिदिने, त्यसका लागि सम्बन्धित देश र नेपालबीच पुलको काम गर्ने, आवश्यक नीति निर्माण गर्ने, प्रवासी नेपालीहरूको अधिकार, पहिचान, योगदान र आर्थिक तथा सामाजिक पक्षलाई उठान गर्ने हो । संस्थालाई आवश्यक पर्ने एक डलरसमेत कार्यसमितिका सदस्यहरूले बाँडीचुँडी खल्तीबाट हाल्नुपर्ने अवस्थामा एनआरएनका केन्द्रीय अध्यक्ष तपाईं कसैको लहैलहैमा लागेर पैसा उठाउने काममा लाग्नुले स्वयम् तपाईंको कद घट्न सक्छ । आउँदा दिनमा एनआरएनमा भएका विकृति, अपारदर्शिता, व्यवसायीहरूको मात्रै हालिमुहाली, उपस्थिति र तमाम आवश्यक मुद्दाहरूलाई उठाउँदै कार्यकाल सफल बनाउनेतर्फ लाग्नुहोस्, शुभकामना ।
– सानुबाबु सिलवाल, केन्द्रीय उपसभापति (अमेरिका नेपाल व्यवसायी सङ्घ)