सत्ता हस्तान्तरणमा उत्पन्न हुनसक्ने सम्भावित प्रतिकूलताका कारण अझै केही समय प्रधानमन्त्रीको जिम्मेवारीमा रहन सुशील कोइराला ‘बाध्य’ हुनुभएको छ । सुशील कोइराला प्रधानमन्त्री भएयताको ६ महिनाभित्र देशमा अनेकौँ महत्वपूर्ण घटना भए, तर काङ्गे्रस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छैन । गिरिजाप्रसादले झैँ सुशील कोइरालाले पनि आफ्नो एक कोटरीको इच्छा र स्वार्थबमोजिम पार्टी र सरकार चलाउने गर्नुभएकोले काङ्ग्रेसमा तीव्र असन्तुष्टि बढेको छ । यसैबीच काङ्ग्रेस नेताहरूले बैठकको माग गर्दै पार्टी कार्यालयमा एक पत्र दर्ता गराएका छन् । तर, सुशील भने सबै घटनाप्रति बेसरोकार रहँदै आउनुभएको छ । आगामी माघ ८ गतेसम्म संविधान जारी गरी पद त्याग्न गर्ने घोषणा गर्नुभएका उहाँले निर्धारित मितिमा संविधान जारी गर्न नसक्दा पनि पदत्याग गर्नुहुने सम्भावना रहेको विश्वास गरिन्थ्यो । फोक्सोको उपचार गर्ने क्रममा अमेरिका रहँदा आफ्नो स्वास्थ्यस्थितिलाई लिएर विरक्तिनुभएका कोइरालाले पद त्यागका बारेमा सोच्न थाल्नुभएको थियो । तर, आफूले चाहेको व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्न सकिने परिस्थिति निर्माण नभएकोले उहाँ सकिनसकी प्रधानमन्त्रीको पदीय हैसियतलाई निरन्तर दिन बाध्य हुनुभएको बुझिएको छ । प्रधानमन्त्रीको निकटवर्तीहरूले जनाएअनुसार सुशील कोइराला बीपीपुत्र डा. शशांक कोइरालालाई आफूपछिको प्रधानमन्त्री बनाउन चाहनुहुन्छ । शशांकलाई पार्टी सभापति बनाउने मानसिकतामा रहनुभएका उहाँ प्रधानमन्त्री पनि शशांकलाई नै बनाउने इच्छा राख्नुहुन्छ । तर, प्रधानमन्त्री बन्नुपूर्व शशांक काङ्गे्रस संसदीय दलको नेता चुनिनुपर्ने हुन्छ, जसको सम्भावना तत्काल न्यून देखिन्छ । उपसभापति रामचन्द्र पौडेलको बलियो साथ–सहयोगका बाबजुद झिनो मतान्तरले संसदीय दलको नेता बन्नुभएका सुशील कोइरालाकै पक्षमा यतिबेला काङ्गे्रसका तीस प्रतिशत सांसदहरू रहेको विश्वास गरिँदैन । उहाँले डा. शशांकलाई दलको नेतामा विजयी गराउन सक्ने कुनै सम्भावना अहिले देखिएको छैन । देउवासँग प्रतिस्पर्धा गर्न सक्ने कोइराला पक्षमा रामचन्द्र पौडेलबाहेक अरू कोही छन् भने डा. रामशरण महत हो, महत पौडेललाई ‘ओभर टेक’ गरेर अगाडि जाने पक्षमा हुनुहुन्न । त्यसैले संस्थापन पक्षमा रामचन्द्र पौडेल मात्र देउवासँग टक्कर गर्नसक्ने नेताका रूपमा देखिनुभएको छ । तर, तिनै रामचन्द्र पौडेललाई खुसी मनले सत्ता हस्तान्तरण गर्ने पक्षमा प्रधानमन्त्री कोइराला हुनुहुन्न । सुशील कोइरालाको सहानुभूति प्राप्त गर्ने आशामा रहनुभएका शेरबहादुर देउवा प्रधानमन्त्री बनेको हेर्ने इच्छा पनि कोइराला राख्नुहुन्न । देउवा प्रधानमन्त्री बन्ने सम्भावना बढेर गयो र बढेको महसुस कोइरालाले गर्नुभएमा र डा. शशांक कोइरालालाई प्रधानमन्त्री बनाउन गरिएका प्रयास पनि असफल भएमा मात्र सुशील कोइरालाले रामचन्द्र पौडेलको नाममा सहमति जनाउन सक्ने सम्भावना छ । आफू र आफ्नो परिवारका सदस्य प्रधानमन्त्री बन्न नसकिने अवस्थामा सुशील कोइराला एमालेलाई सत्ता हस्तान्तरण गर्ने निष्कर्षमा पुग्नुभयो भने पनि कुनै आश्चर्य हुने छैन । गिरिजाप्रसाद कोइराला पनि आफू नहुने स्थितिमा विपक्षतिर सत्ता पुग्ने वातावरण बनाइदिने गर्नुहुन्थ्यो । ०५१ को आमनिर्वाचनमा काङ्गे्रस पराजित भए पनि तत्कालिक राप्रपा र अन्य समूहसँग मिलेर काङ्गे्रस नेतृत्वमा सरकार गठन हुने अवस्था थियो । तर, त्यसबेला सरकारको नेतृत्व आफूले नपाउने निश्चित भएको महसुस गरी गिरिजाप्रसादले एमालेलाई सरकार गठन गर्न ढोका खोलिदिनुभएको थियो । दुईजना सांसदहरूलाई अनुपस्थित गराएर देउवा नेतृत्वको सरकारलाई विस्थापित गर्नेदेखि सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारलाई बलजफ्ती हटाएको घटनासम्मको अध्ययन गर्दा गिरिजाप्रसाद कोइराला सत्तामा आफूहरू नभए काङ्ग्रेसकै अरू कोही पनि नरहोस् भनी चाहनुहुन्थ्यो भन्ने स्पष्ट बुझ्न सकिन्छ । सुशील कोइराला गिरिजाप्रसादभन्दा सङ्कीर्ण र कम न्यानो मानिनुहुन्छ । निजी र राजनीतिक दुवै तहमा कोइरालाबाहेक अरूलाई मौका दिने मानसिकतामा प्रधानमन्त्री कोइराला नरहनुभएको महसुस गर्न थालिएको छ । भारत भ्रमणमा जाँदा परराष्ट्रमन्त्रीलगायत उच्चपदस्थ कर्मचारी तथा विशेषज्ञहरूको उपेक्षा गरी भतिजा–भतिजीहरूलाई मात्र लिएर जानु र मोदीको नेपाल भ्रमणको समयमा स्वागत गर्न जानेहरूको सूचीमा अरू नेताहरूको नाम काटी भतिजा–भतिजीहरूको नाम राख्नेजस्ता कार्यले पनि सुशील कोइराला कति परिवारवादी हुनुहुन्छ भन्ने स्पष्ट गरेको छ । त्यसैले भतिजा–भतिजीहरूको अनुकूल सरकार गठन हुने निश्चित भएपछि मात्र कोइरालाले पद त्याग गर्नुहुने सम्भावना छ । डा. शशांक कोइरालालाई प्रधानमन्त्री बनाउन नसके पनि उपप्रधानमन्त्रीसहित राम्रो ‘पोर्टफोलियो’ लिएर मात्र सुुशीलले कसैलाई सत्ता हस्तान्तरण गर्ने निश्चित मानिएको छ । त्यस्तो सुनिश्चितता गर्न देउवा, पौडेल र केपी ओली तीनैजना तयार हुन सक्छन्, तथापि देउवा उहाँको रोजाइमा पर्नुहुन्न । सुशील कोइरालाले केपी ओली रोज्नुहुने हो या रामचन्द्र पौडेल आगामी केही दिनमै यस कुराको टुङ्गो लाग्ने बुझिएको छ । रामचन्द्रभन्दा केपी ओली नै उहाँको प्राथमिकतामा प¥यो भने पनि कुनै आश्चर्य हुने छैन । स्मरणीय छ, आफू प्रधानमन्त्री बन्ने बेलामा कोइरालाले आफूपछि केपी ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने ‘कमिटमेन्ट’ गर्नुभएको थियो ।
प्रतिक्रिया