‘कोहिनुर’ हिट हुँदा अरू घाइते
अभिनेतालाई दर्शकले र नेतालाई मतदाताले साथ दिए कुनै दुश्मनको केही जोर चल्दैन । यसको गतिलो प्रमाण या उदाहरण पेस गर्न सफल भएको छ ‘कोहिनुर’ हेर्न हलमा ओइरिएका दर्शकको भीडले । कोहिनुर स्वर्गीय श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम चलचित्र हो । जसरी अभिनेता श्रेष्ठको शवयात्रामा स्वस्फुर्त मानवसागर उर्लिएको थियो, त्यसरी नै उनको सिनेमा हेर्न पनि देशभरका हलमा मानवसागर उर्लिएको छ । कोहिनुरको व्यापारले नयाँ इतिहास नै रचेको छ । गत साउन २३ गतेदेखि दर्शनमा आएको चलचित्र कोहिनुरले अहिलेसम्म लगभग सात करोडको व्यापार गरिसकेको बताइन्छ भने यो व्यापार निरन्तर अगाडि बढ्ने सम्भावना देखिएको हल सञ्चालकहरूले बताएका छन् । एक दिन १ करोडसम्म व्यापार गरेर चलचित्र कोहिनुरले नेपाली चलचित्रको इतिहासमा नयाँ किर्तिमान नै बनाएको छ । सिनेमाहलमा यो चलचित्र हेर्ने स्वस्फुर्त उर्लेको दर्शकको भीड नियाल्दा जीवनभर हल नआएका अनुहारहरूको सङ्ख्या अत्याधिक रहेको हलवालाहरूको अनुभव छ । आफ्ना प्रिय अभिनेता श्रीकृष्णको अन्तिम चिनो हेर्न सिनेमाहलमा बालकदेखि वृद्धसम्म दर्शकहरूको सङ्ख्या एकनासको रहेको छ । अहिले त पारिवारिक दर्शकहरूको ओइरो लाग्न थालेपछि कोहिनुर हेर्न हलमा उर्लेको यो भीडमा अब चाँडै कमी आउने देखिँदैन । त्यसकारण पनि कोहिनुरपछि प्रदर्शनका लागि तयार भएर बसेका अन्य चलचित्रहरू यतिबेला तनावमा रहेका छन् ।
आफ्ना प्रिय नायकलाई श्रद्धाञ्जलीस्वरूप चलचित्र कोहिनुर हेर्न हलमा आएको विचार व्यक्त गर्दै दर्शकहरूको भावनात्मक अभिव्यक्तिसँगै देशैभर एकैनास यो चलचित्रले प्रदर्शनको निरन्तरता पाएपछि कोहिनुर उतारेर अन्य चलचित्र राख्ने पक्षमा सिनेमाहल सञ्चालकहरू देखिँदैनन् । उनीहरूको भनाइ छ । ‘यसरी एकैनास दर्शकहरूको माया पाइरहेको चलचित्र कोहिनुर उतारेर स्वर्गीय नायकको अपमान गर्दै अन्य चलचित्र हाल्न हामी तयार छैनौँ । नचलेको भए पनि श्रीकृष्णप्रति सम्मानार्थ कोहिनुर चलाउनुपर्दथ्यो, तर अहिले त दिनप्रतिदिन बढ्दो छ । यसकारण यो चलचित्र हटाएर अन्य चलचित्र हाल्दा श्रीकृष्ण र उहाँको चलचित्र हेर्न आउने दर्शकहरूप्रति अपमान हुन्छ,’ काठमाडौं कोटेश्वर जडीबुटीमा रहेको पुष्पाञ्जली हलका सञ्चालक गोपाल कायस्थले बताए । हलमा कोहिनुर हेर्न दिनप्रतिदिन नयाँ अनुसार र परिवारको घुइँचोले पनि यो चलचित्र महिनौँसम्म निरन्तर रूपमा चल्ने कुरातर्फ हल व्यवसायी ढुक्क देखिन्छन् । नेपालमा त कोहिनुरको यो चर्चा र सफलता अब घामजस्तै छर्लङ्ग भइसकेको छ । उता विदेशमा रहेका नेपाली पनि चलचित्र कोहिनुर हेर्न आतुर रहेको कुरा कोहिनुरका निर्देशक आकाश अधिकारीले बताएका छन् । आफ्ना प्रिय नायकको अन्तिम चिनोस्वरूप कोहिनुर हेर्न दैनिकजसो विदेशबाट माग हुने गरेको कुरा उनले बताए । आकाशले नेपालको प्रदर्शनपश्चात् क्रमश: विदेशमा रहेका श्रीकृष्णका प्रशंसक फ्यान र उनलाई माया गर्ने नेपालीमाझ यो चलचित्र देखाउने कुरा बताए । ‘तर, नेपालबाट कहिले उत्रन्छ, अहिले नै भन्ने अवस्था छैन । यता उत्रेपछि हामी कोहिनुरलाई विदेश लानेछौँ,’ अधिकारीले भने ।
हलवालालाई पनि झस्कायो कोहिनुरले
नेपाली चलचित्रका निर्मातालाई चलचित्रको निर्माणको क्रममा लगानी नपुग्दा आर्थिक सहयोग गर्नुप-यो भन्ने आग्रह गर्दा नसुनेझैं गर्ने विदेशी चलचित्रका वितरकहरू यसपटक नराम्ररी पछारिन पुगेका छन् । राम्रा हलजति विदेशी चलचित्रलाई र नराम्रा हल स्वदेशी चलचित्रलाई दिने केही हल सञ्चालकले पनि कोहिनुरबाट राम्रो शिक्षा पाएका छन् । कोहिनुर चलेको एक हप्तापछि हलमा आएको अजय देवगणको चलचित्र ‘सिंघम रिटर्न’ दुई दिनमा उत्रिएपछि करोडौँ तिरेर विदेशी चलचित्र भित्याउने चलचित्र वितरकहरू तिल्मिलाएका मात्र छैनन् कि झस्किएका पनि छन् । नेपाली चलचित्र चलाउन आनाकानी गर्ने, तर विदेशी चलचित्र चलाउन गर्व गर्ने हलवालाहरू पनि हिन्दी चलचित्र हटाएर कोहिनुर लगाउन थालेका छन् । श्रीकृष्णको कोहिनुर हेर्न सिनेमाहल आएका दर्शकको भीडलाई थेग्न नसकेर काठमाडौंका केही सुविधासम्पन्न मल्टिप्लेक्स हलहरू अजय देवगणको सिंघम रिटर्न उतारेर श्रीकृष्णको कोहिनुर लगाउन बाध्य भए । हिन्दी चलचित्रमाथि गरेको हिन्दी चलचित्र वितरकहरूको लगानी यसपटक भने फेल खाएको छ ।
बीपीको ‘तीन घुम्ती’ अब चलचित्रमा
चलचित्रकर्मीहरू व्यावसायिक एवम् फर्मुलायुक्त चलचित्र निर्माणको पछि लाग्न छाडेका छन् । मौलिक विषय र साहित्यिक कृति पनि उनीहरूको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय कृष्ण धराबासीको कथा झोलामाथि निर्माण भएको चलचित्र झोलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा र सम्मान पाउन थालेपछि अन्य चलचित्रकर्मीहरू पनि यस्तै कृतिमाथि चलचित्र बनाउन उत्साहित भएको पाइएको छ ।
यसै क्रममा विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमाथि पनि चलचित्र निर्माण हुने पक्कापक्की भएको छ । चलचित्र निर्माणका लागि बीपी कोइराला फाउन्डेसनबाट स्वीकृतिसमेत लिइसकिएको छ भने यतिबेला चलचित्रमा काम गर्ने कलाकार एवम् प्राविधिकहरूबीच वर्कसप भइरहेको छ । चलचित्रलाई बाबुराम ढकालले निर्देशन गर्ने भएका छन् । तीन घुम्तीको प्रमुख भूमिकामा भने यतिबेला फरक किसिमले चलचित्र नायिकाहरूको भीडमा अपाm्नो उपस्थिति जनाइरहेकी अभिनेत्री गरिमा पन्तको अभिनय रहनेछ । झोलापछि तीन घुम्तीमा अभिनय गर्न पाउनुलाई गरिमाले आफ्नो कलाकारिताकै ठूलो उपलब्धिको रूपमा लिएकी छिन् ।
घटना र विचारकर्मी अर्याल सम्मानित
घटना र विचार साप्ताहिकका संवाददाता सुदर्शन अर्याल ‘विद्यार्थी पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । मदन भण्डारी मेमोरियल कलेजअन्तर्गतको ‘सञ्चार अध्ययन केन्द्र’द्वारा उक्त कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थीद्वारा कुनै पनि सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारितमध्येबाट उत्कृष्ट सामग्री छनोट गरी हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष घटना र विचारकर्मी अर्याललाई प्रदान गरिएको हो । पुरस्कारको राशि पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र रहेको छ । समाचारको लेखनशैली, विषयवस्तु, त्यसको गहिराइ र प्रभावकारिताको आधारमा विजेता चयन गरिएको बताइएको छ ।
विभिन्न सम्मान प्रदान गरिने
चेतनारायण–बसुन्धरा भुसाल सम्मान पुरस्कार गुठीकोे कार्यसमिति बैठकले ०६९÷७० को चेतनारायण–बसुन्धरा सम्मान पुरस्कार वरिष्ठ सङ्गीतज्ञ गोपालनाथ योगी र वरिष्ठ कलाकार भीमबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस सम्मान तथा पुरस्कारमा रु. २५,५०१ सहित ताम्रपत्र ०५८ देखि प्रदान गरिँदै आएको छ । यसैगरी यस गुठीको संयोजनमा प्रदान हुँदै आएको न्युयोर्क कलामञ्चको सम्मान पुरस्कारसमेत गुठीकै आयोजनामा सम्पन्न हुने समारोहमा प्रदान गरिने निर्णय भएको छ । न्युयोर्क कला मञ्चले ०६९÷७० को सम्मान पुरस्कार वरिष्ठ नृत्य निर्देशक वसन्तजंग रायमाझी र वरिष्ठ लोकगायिका तथा सङ्कलक श्रीमती चन्द्रकला शाहलाई प्रदान गर्ने निर्णय गरेको छ । न्युयोर्क कला मञ्चले इ.सं. २००२ देखि यो सम्मान प्रदान गर्दै आएको छ । जनही नगद २५,५०१ र ताम्रपपत्र प्रदान गरिने यो सम्मान पुरस्कारसमेत गुठीले नेपाल प्रज्ञा–प्रतिष्ठानमा ०७१ भदौ २० गते शुक्रबार आयोजना गर्ने समारोहमा प्रदान गरिनेछ । गुठीको अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा बसेको बैठकमा न्युयोर्क कला मञ्चका अध्यक्ष रामराज क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया