भारतीय दूतावासद्वारा मनाइयो आइटेक तथा मौलाना आजाद दिवस

भारतीय दूतावासद्वारा मनाइयो आइटेक तथा मौलाना आजाद दिवस


काठमाडौँस्थित भारतीय दूतावासद्वारा आज (६ मंसिर २०७५) भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) तथा मौलाना आजाद दिवस मनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमूख आतिथ्यमा होटल हयातमा आयोजित सो समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी तथा कर्मचारीहरूलाई भारतका प्रमुख संस्थाहरूमार्फत प्रशिक्षण प्रदान गरेर आइटेक कार्यक्रमले नेपालमा मानवस्रोत विकासको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । सो समारोहमा आइटेक कार्यक्रमका करिब १५० जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

आफ्ना कर्मचारीहरुको प्रशिक्षण तथा मानवस्रोत विकासका लागि आइटेक कार्यक्रमको लाभ लिएका नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ सचिव तथा अधिकारीहरूले पनि उक्त समारोहमा सहभागिता जनाएका थिए ।

आइटेक कार्यक्रमअन्र्तगत कम्प्युटर, इन्जिनियरिङ, सूचना प्रविधि, पत्रकारिता, बैंकिङ, कानून निर्माण, उर्जा, रिमोट सेन्सिङ, मानवशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, व्यापार योजना तथा प्रवर्धन, लेखा तथा वाणिज्यलगायतका विधामा प्रशिक्षण दिने गरिन्छ ।

नेपालका दर्जनौ जलस्रोत विज्ञहरु सिंचाई, जल व्यवस्थापन तथा जलस्रोत विकास विषयमा M. Tech तथा P.G. Diploma तहमा आइआइटी रूड्कीजस्तो प्रतिष्ठित संस्थामा अध्ययन गरिरहेका छन् । आइटेक कार्यक्रमअन्तर्गतका अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन व्यावसायिक प्रशिक्षण कार्यक्रमहरुमा हाल सम्म १३५३ जना सहभागी भइसकेका बताइएको छ ।

आइटेक दिवसको अवसरमा भारतको पहिलो शिक्षामन्त्रीको रुपमा Indian Institutes of Technology तथा University Grants Commission को स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुभएका भारत रत्न मौलाना अब्दुल कलाम आजादको १३०औं जन्म जयन्ती पनि साथसाथै मनाइएको छ । सो अवसरमा स्वामी विवेकानन्द संस्कृतिक केन्द्र, काठमाडौँका विद्यार्थीले आकर्षक सांस्कृतिक प्रस्तुती समेत गरेका थिए ।

नेपालसहित विश्वका १६१ विकासशील मित्र राष्ट्रसँग विकासबारे आफ्ना अनुभवहरू शेयर गर्नका लागि भारत सरकारको पुर्ण अनुदानमा आइटेक कार्यक्रम सञ्चालन गरिएको हो ।