युवतीमाथि दुर्नियतको खुलासा

युवतीमाथि दुर्नियतको खुलासा


pathakmanchपढेलेखेका पत्रकार भन्दैमा सही तथा यथार्थ समाचार सम्प्रेषण गर्छन् भनी विश्वास गर्न सकिन्न भन्ने धारणा बेला–बेला बहसको विषय बन्ने गर्छ । हुन पनि कृष्णबहादुर तामाङजस्ता पत्रकारितामा स्नातकोत्तर गरेका व्यक्ति नै निहित स्वार्थसिद्धका लागि पत्रकारितालाई चरम दुरुपयोग गर्न उद्यत् हुन्छन् भने पत्रकारिता क्षेत्रमाथि औंला उठ्नु र यसले विश्वास गुमाउने खतरा पैदा हुनु अस्वाभाविक ठानिदैन । यति मात्र होइन, यस्तो प्रवृत्तिले ठाउँ पाउँदै गएमा समाचार–स्रोतको विश्वसनियतासमेत धरापमै पर्छ । आफ्नो बीसवर्षे जीवनकालमा घटना र विचार साप्ताहिकले यतिबेला यस्तै दुःखद् यथार्थ अनुभूति गर्नुपरेको छ ।
प्रसङ्ग हो– गत साता यसै साप्ताहिकमा प्रकाशित ‘मेगा सहकारी लुटमा सुन्दरीको हात ?’ शीर्षकको समाचार र सरोकारवाला पक्षप्रति यसले सिर्जना गरेको पीडादायी अवस्थाको । गत वैशाख १५ गते दिनदहाडै पोखराको व्यस्त बजार न्युरोडस्थित मेगा सहकारीमा लुटपाट भएको थियो । कर्मचारीमाथि गोली प्रहार गरी लुटेराले ३१ लाख नगद लुटेका थिए । तर, यस घटनाका अपराधि अझै पत्ता लाग्न नसकेको सन्दर्भ चासो र चर्चाकै विषय बनिरहेको थियो । यस्तो परिवेशमा उक्त लुटपाटको घटनामा एक युवतीको समेत संलग्नता रहेको दाबी गर्दै आफैं एक जिम्मेवार सञ्चारकर्मीसमेत रहेका कृष्णबहादुर तामाङले समाचार सम्प्रेसित गरे । दुख्को कुराचाहिँ के भइदियो भने घटना र विचार जस्तो आमपाठकमाझ विश्वसनियता जगाउन सफल राष्ट्रिय साप्ताहिकलाई तामाङले आफ्नो कलुषित स्वार्थसिद्धिको माध्यम बनाउन सफल भए ।
प्रहरी अनुसन्धानबाट खुलासा भएअनुसार कृष्णबहादुरले निज युवतीलाई एकतर्फी रूपमा मन पराउँदा रहेछन् । तर, कुनै पुरुषले मन पराउँदैमा एउटी अविवाहित युवतीले विवाहित पुरुषलाई जीवनसाथीको रूपमा स्वीकार गर्न सक्ने प्रश्नै उठ्दैन । उनीहरूको सन्दर्भमा पनि यस्तै भयो । यसरी आफूले मन पराएको र विभिन्न हिसाबले मद्दतसमेत गर्दै आएकी युवतीले प्रस्ताव अस्वीकार गरेको कृष्णबहादुरलाई असैह्य भएछ । त्यसपछि उनलाई सार्वजनिक रूपमा सताएर आत्मसन्तुष्टि लिने खतर्नाक खेलमा लिप्त भएका रहेछन् कृष्णबहादुर । चिताउन पनि नसक्ने अपराधको घटनामा संलग्न रहेको प्रोपोगण्डा मच्चाएर युवतीको बदनाम गर्न उद्यत् भएका तामाङ यतिबेला सार्वजनिक अपराधको मुद्दा खेप्दै प्रहरी हिरासतमा छन् । कास्की प्रहरी प्रमुख एसपी वसन्त लामाको विशेष तदारूकतामा एउटा अभियुक्त आवश्यक कानुनी कारवाहीको दायरामा परेका छन् भने निर्दोष युवती एवम् उनका परिजनलाई न्यायको द्वार खुलेको छ । बनावटी समाचारको कल्पनाकार तामाङको प्रहारमा परेकी युवतीको पीडाप्रति पुनः दुःख र खेद प्रकट गर्दै घटना र विचार साप्ताहिक आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रण गर्दछ ।