छविको ‘लज्जा’सँग ‘स्टुपिड मन’ भिड्ने

छविको ‘लज्जा’सँग ‘स्टुपिड मन’ भिड्ने


funtimeफन टाइम
कुनै समय चलचित्र नपाएर सिनेमाहलहरू बन्द भएका समाचार अनौठो लाग्दैनथ्यो । अहिले भने यसको विपरीत सिनेमाको सङ्ख्या अत्यधिक भएपछि कसको सिनेमालाई प्राथमिकतामा राख्ने वा कसको सिनेमा चलाउने भन्नेमा हल सञ्चालकहरू तनावमा पर्ने गरेका छन् । त्यसो त चलचित्र प्रदर्शनमा देखापरेको अस्वस्थ प्रतिस्पर्धाले पनि चलचित्र निर्माता र प्रदर्शकहरूबीच मनोमालिन्य हुने गरेको पाइन्छ । गुट–उपगुटमा बाँडिएका चलचित्र प्रदर्शकहरू लड्न र लडाउन तयार भएपछि अन्ततः त्यो घाटा दर्शकलाई होइन आफैँलाई पर्छ भन्ने तथ्य उनीहरूले बुझेका छैनन् । दुई आशालाग्दा चलचित्रहरू एक–आपसमा जुध्दा अन्ततः घाटा वा नकारात्मक असर दुवैलाई पर्छ भन्ने कुरा नबुझ्दा दुवै मारमा पर्दै आएका छन् ।
अब फेरि पनि यस्तै हुने अबस्था देखिएको छ । चलचित्रको छायाङ्कन सुरु गर्नेबित्तिकै ६ महिना अगाडिदेखि नै रिलिज डेट फिक्स गरेका निर्माता छविराज ओझाको चलचित्र ‘लज्जा’सँग चलचित्र ‘स्टुपिड मन’ भिड्ने भएको छ । यो चलचित्र भदौ २० गतेदेखि प्रदर्शनमा आउने प्रचारप्रसार महिनौँदेखि गरिँदै आएको थियो, तर यो हप्ता मात्र आएर ‘स्टुपिड मन’ले आफ्नो रिलिज डेट पछि सारेर कात्तिक ७ गते पु-यायो । जब कि यो मितिमा छविराज ओझाको ‘लज्जा आउने ६ महिनाअघि नै तय भइसकेको थियो । यो कुरालाई निर्माता ओझा अस्वस्थ र अव्यावहारिक खेल मान्छन् । उनको दुःखमिश्रित तर्क छ– ‘किन मेरै खेदो खन्ने, मेरै मितिमा जुधाउन किन आउने ? अरू पनि त छन् नि डेट ? जब कि ६ महिनाअघिदेखि मैले यो दिन कुरेको थिएँ ।’ यता स्टुपिड मनका निर्माता एवम् नायक नीरज बराल भने आफू छवि ओझासँग जुधाउन नभएर त्यो दिन उपयुक्त लागेर फिल्म चलाउन लागेको बताउँछन् ।
यता तीसौँ वर्षदेखि निरन्तर रूपमा चलचित्र निर्माण गर्दै आएको र अन्ततः आफूलाई कसैले सहयोग नगरेकोमा निर्माता छवि ओझाको चित्त दुखाइ बेग्लै छ । ‘विदेशमा पुराना चलचित्रकर्मीहरूको फिल्म रिलिजलाई सबैले महŒव दिएर साथ–सहयोग दिन्छन्, तर यहाँ त्यो संस्कार नै बसेन । अरूले उचालेको भरमा फिल्म जुधाउन आउने गलत परम्पराको थालनी भएको छ’, छवि भन्छन् ।
यसरी आफूले तोकेको मितिमा अर्काले चलचित्र जुधाउन आएपछि आफूमाथि अन्याय परेको भन्दै निर्माता ओझाले चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घमा निवेदन दिएका छन् । ‘आफूमाथि परेको अन्यायमा सम्बन्धित निकायबाट न्याय पाउँछु भन्ने लागेको छ,’ छविले भने ।

नम्रताको दुःखेसो
मोडल सहाना बज्राचार्य यतिबेला गुमनाम छिन् । टेलिभिजन प्रस्तोता सहकर्मी सुरज गिरीसँग चितवनमा आपत्तिजनक अवस्थामा फेला परेर थप चर्चित बनेकी सहाना र सुरजबीच एउटै संस्थामा काम गर्दा अन्तरङ्गी किसिमको सम्बन्ध गाँसिएको थियो । सुरज ‘कल कान्तिपुर’ चलाउँथे भने सहाना नेपाली चलचित्रसम्बन्धी कार्यक्रम ‘पे्रmम टु पे्रmम’ सञ्चालन गर्थिन् । टिभी कार्यक्रम प्रस्तुतिका क्रममा यी दुईबीच बढेको निकटता निकै गहिरिएको रहस्य त चितवनको हाइ–वेमा लाजमर्दो अवस्थामा फेला परेपछि मात्र खुलेको थियो ।
सुरज र सहानाबीचको आपत्तिजनक अवस्थाबारे सर्वत्र चर्चा भएपछि कान्तिपुरबाट निकालिएको यो जोडीमध्ये सहानाको अवस्थाचाहिँ अहिले नाजुक नै बन्न पुगेको चर्चाले बजार तातेको छ । कान्तिपुर टेलिभिजनको साखमा असर परेको कारण देखाई टेलिभिजनबाट बाहिरिएपछि सहानालाई काम दिन अन्य टेलिभिजनले आनाकानी गर्न थालेका छन् । यसबीचमा उनले अन्य केही टेलिभिजनमा पनि छिर्ने प्रयास गरेकी थिइन्, तर असफलता नै हात लाग्यो उनलाई । पहिले म्युजिक भिडियोमा अवसर दिनेहरू पनि अहिले सहानाबाट टाढिन थालेका छन् । कान्तिपुर टेलिभिजनको ब्याकिङकै कारण सहानाले बाहिर थप काम पाउने गरेको तर्क गर्न थालिएको छ ।
त्यसो त नम्रता श्रेष्ठको उदाहरण दिँदै सहानालाई ‘आत्तिनुपर्दैन, हामी छौँ’ भनेर ढाडस दिनेहरूको सङ्ख्या पनि कम छैन । उनीहरूले भन्ने गरेका छन्, ‘त्यस्ती नम्रता त टिकिन् भने तिमी नटिक्नुपर्ने कारण नै छैन । आत्तिनुपर्दैन सबै ठीक हुन्छ ।’ तर, सहानालाई भने कान्तिपुरजस्तो ब्राण्डबाट हात धुनुपरेकोमा बढी चिन्ता लागेको रहेछ । आफ्ना साथीभाइलाई यसो भन्दै दुःख मनाउ गर्ने गरेकी सहाना आजभोलि सार्वजनिक कार्यक्रमतिर पनि त्यति देखिन्नन् ।

अभिनयको मोहले तानेपछि…
कलाकारिताको मोहले धु्रवदत्तलाई अब सितिमिति छोड्न नसक्ने देखिएको छ । अवसर पाउनासाथ आफ्नो काम र परिवारलाई व्यवस्थित गर्दै छुट्टी मिलाएर विदेशबाट नेपाल हुइँकिने उनको पुरानै चाल हो । यही शैलीका कारण पनि धु्रव नेपाली चलचित्रका दर्शकमाझ क्रमशः लोकप्रिय बन्दै पनि छन् । हङकङमा एक दशक बिताएर परिवारसहित बेलायत सरेका धु्रव विगत एक दशकदेखि बेलायतमै छन् । हङकङमा रहँदा स्थानीय फिल्म र म्युजिक भिडियोमा काम गरेका उनले विष, पिरतीको चिनो, मृगतृष्णा, नाइन ओ क्लकलगायत नेपाली चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन् । राम्रो प्रस्ताव र चित्तबुझ्दो कथा पाएपछि चलचित्रमा काम गर्न हुत्तिएर नेपाल आइपुग्ने धु्रवलाई विशेष गरेर रमेश संवेदनाको चलचित्र नाइन ओ क्लकले बजारमा स्थापित गराएको हो । उनी यतिबेला पनि चलचित्र ‘आवेग’मा काम गर्नकै लागि तीन हप्ताको चाँजोपाँचो मिलाएर नेपाल आएका हुन् । चलेका अभिनेता आर्यन सिग्देलसँग समानान्तर भूमिकमा देखिने धु्रवले चलचित्र आवेगले आफ्नो कलाकारिता विधालाई झनै उचाइमा पु-याउने विश्वास लिएका छन् ।

ओस्कारका लागि झोला र मोक्षको भिडन्त
चलचित्रसँग सम्बन्धित, सम्मानित र पुरस्कृत अवार्डको रूपमा लिइन्छ ओस्कार अवार्डलाई । यो अवार्डमा केही वर्षयतादेखि नेपाली चलचित्रले पनि सहभागिता जनाउँदै आएका छन् । कुनै पुरस्कार वा सम्मान हात पार्न नसके तापनि अहिलेसम्म ओस्कार अवार्डमा नेपालबाट क्याराभान, मुनामदन र बसाइँले प्रतिनिधित्व गरिसकेका छन् भने गत वर्ष सुनगाभा नामक चलचित्रले सहभागिता जनाउन पाएन ।
अब यो वर्ष पनि नेपालबाट सहभागिता जनाउन दुई चलचित्रबीच प्रतिस्पर्धा सुरु भएको छ । नेपालमा रहेको छनोट समितिले चलचित्रहरू माग्दा दुई चलचित्र झोला र मोक्षले सहभागिता जनाएका छन् । यी दुईमध्ये एक चलचित्रलाई ओस्कारमा पठाउने निश्चित त भइसक्यो, तर कुन चलचित्र पठाउने भन्नेबारे भने अझै निर्णय भइसकेको छैन । छनोट समितिले सोमबारसम्म दुवै चलचित्र हेरिसकेका छन् भने यसै हप्ताभित्र एक चलचित्रलाई पठाइने कुरा बताइएको छ ।
ओस्कार अवार्डमा सहभागी हुन अपनाइनुपर्ने विभिन्न मापदण्डअनुरूप नै झोला र मोक्षबीच प्रतिस्पर्धा गराइएको कुरा बताइएको छ । झोलाले सतीप्रथाको विषयलाई उठाउएको छ भने मोक्षले एउटा सङ्गीतकर्मीको जीवनकथालाई देखाएको छ ।

‘सुरमाण्डु’मा सुम्मिना
नेपाल सङ्गीत केन्द्र र शास्त्रीय सुधाको सहकार्यमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले नेपाल सङ्गीत केन्द्र (पिङ्गलास्थान)मा ‘सुरमाण्डु’को पाँचौँ शृङ्खला आयोजना गरेको छ । उक्त शृङ्खलामा उदीयमान गायिका सुम्मिना लूले सुमधुर राग प्रस्तुत गरी नेपालका सङ्गीतपारखीहरूलाई मन्त्रमुग्ध पारिन् । अनेकौँ गीतमा आवाज दिएकी तालिमप्राप्त शास्त्रीय गायिका सुम्मिनालाई तबलामा जीवन राई र हार्माेनियममा नवीन न्यौपानेले साथ दिएका थिए ।
नेपाल सङ्गीत केन्द्र र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘सुरमाण्डु’ मासिक रूपमा आयोजना गरिने एक नियमित कार्यक्रम हो भने गत फेब्रुअरीमा भारतका प्रख्यात बाँसुरीबादक पण्डित हरिप्रसाद चौरसियाले सुरमाण्डुको उद्घाटन–प्रस्तुति दिनुभएको थियो ।
सुरमाण्डुका अलावा कन्भर्सेसन्स, पोएमाण्डु, सिनेमाण्डु र भोइसेजजस्ता कार्यक्रम बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले प्रत्येक महिना नियमित रूपमा आयोजना गर्दै आएको छ ।

भारतबाट नेपालसम्बन्धी ग्यालरी म्यागजिन
संसारभरका उत्कृष्ट सङ्ग्रहालय तथा ग्यालरीहरूको सौजन्यमा भारतबाट प्रकाशित नेपालको कला र संस्कृति समेटिएको ‘ग्यालरी म्यागजिन’को सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत रणजित रायबाट संयुक्त रूपमा विमोचन गरिएको छ । होटल अन्नपूर्णमा गत साता आयोजित ग्यालरी म्यागजिनको नेपालसम्बन्धी विशेषङ्कको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री डा. रिजालले सम्बन्धित सम्पादक/प्रकाशकलाई बधाई दिँदै यस प्रकाशनले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नयाँ आयाम थप्नुका साथै अन्तर्राष्ट्रिय समुदायलाई नेपालको सांस्कृतिक विविधता तथा भारतसँगको बलियो सम्बन्धबारेमा जानकारी प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी राजदूत रणजित रायले राजनीतिक तथा द्विपक्षीय सम्बन्धभन्दा धेरै कुरामा नेपाल र भारत गाँसिएका उल्लेख गर्दै सांस्कृतिक समानतामा आधारित जनस्तरको नेपाल–भारत सम्बन्ध अद्वितीय र बहुआयमिक रहेको प्रकाश पार्नुभयो । नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गरी प्रोत्साहित गर्न सोसम्बन्धी विशेष अङ्क प्रकाशन गर्ने सत्प्रयासप्रति उहाँले वीणा सरकारलाई धन्यवाद दिँदै नेपाल–भारत सहकार्यको यो उदाउँदो परिणाम हो भन्नुभयो ।
यस्तै, नेपालको कला, संस्कृतिबारे बुझ्न र नेपाली कलाकार तथा लेखकहरूसँग अन्तवार्ताका लागि केही महिनाअघि नेपाल आउनुभएकी ग्यालरी म्यागजिनकी वीणा सरकारले ग्यालरीको यस अङ्कमा नेपाली जीवनशैलीको जाज्वल्यमान तस्बिर झल्किने नेपालका कला र संस्कृतिको विविधतालाई उजागर गरिएको जानकारी दिँदै भन्नुभयो, ‘नेपालको कला र संस्कृतिसम्बन्धी विशेष अङ्क प्रकाशन गर्ने योजना बन्नुअघि दुईपटक म नेपाल आएकी थिएँ । हिमाली दृश्यले भरिपूर्ण नेपाल ट्रेकिङ तथा दक्षिण एसियाको एक महŒवपूर्ण पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात रहेको कुरा मलाई सुनाइन्थ्यो, तर त्योभन्दा अझ चम्किला केही कुरा नेपालमा नै छ भन्ने कुरा मलाई थाहा थियो ।’
विमोचन कार्यक्रमबीच नेपालका प्रख्यात कविहरूका छानिएका कवितामा साङ्गीतिक समर्पणअघि प्राध्यापक डा. अभि सुवेदी, कलाकर्मी सङ्गीता थापा, प्रख्यात गायिका आनी छोइङ डोल्मा र वीणा सरकार एलियासबीच नेपालको कला र संस्कृतिबारेमा जीवन्त छलफल भएको थियो । डा. तुलसी दिवस, प्रा. सुवेदी, मोमिला जोशी र मञ्जु काँचुलीले वाचन गरेका कवितामा नेपालका सारङ्गीवादक श्याम नेपालीले साथ दिएका थिए ।
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले ग्यालरी म्यागजिनमा नेपालको कला र संस्कृतिसम्बन्धी विशेष अङ्क प्रकाशन गर्ने सत्प्रयासप्रति वीणा सरकारलाई हार्दिक धन्यवाद दिँदै ग्यालरीको उक्त बहुप्रतीक्षित अङ्कको विमोचन कार्यक्रम आयोजना गर्न पाउँदा निकै खुसी लागेको मन्तव्य व्यक्त गर्नुभयो । वीणाको धैर्य र लगनशीलताको मुक्तकण्ठले प्रशंसा गर्दै उहाँले म्यागजिनमा समेटिएका नेपालका त्रिचालीस कलाकार, कवि तथा लेखकमा बधाई ज्ञापन गर्नुभयो ।

धरानमा ‘कल्चर नगरी’
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धरानको होटल रत्ना इनमा ‘कल्चर नगरी’को पहिलो शृङ्खला आयोजना गरियो । कार्यक्रममा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले भारत र नेपालबीच सांस्कृतिक तथा बौद्धिक आयामहरू साटासाट गरी सबल गराउनका लागि काठमाडांैमा अनेक सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको उल्लेख गर्दै नेपालभरि छरिएका प्रतिभाशाली लेखक तथा कविहरू समेटेर काठमाडौंबाहिर पनि पोयमाण्डु र कन्भर्सेसन्स नामक दुई मासिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । कल्चर नगरीअन्तर्गत पहिलो सत्रमा आयोजित ‘कन्र्भसेसन्स’मा नेपालका मूर्धन्य कवि तथा लेखक कुन्ता शर्मा र बम देवानले आफ्ना सिर्जनाबारे प्रवचन दिनुभयो भने समालोचक दीपक न्यौपानेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यसैगरी, दोस्रो सत्रमा आयोजित ‘पोयमाण्डु’मा धरान, इटहरी र विराटनगरका पन्ध्रजना प्रखर तथा उदाउँदा कविहरूले नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा आ–आफ्ना कविता वाचन गरेका थिए ।
कल्चर नगरीको पहिलो शृङ्खलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर विक्रमप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो भने धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख टंक न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

‘पूजा’लाई एपेकको सम्मान
कवि एवम् गजलकार गोबद्र्धन पूजालाई एपेक नेपालले सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले कवि पूजाको साहित्यिक क्रियाशीलताबारे चर्चा गर्दै उनको सक्रियताको निरन्तरताका लागि शुभकामना दिए ।
अमेरिका बस्दै आएका कवि गोबद्र्धन पूजाले आफ्नो दुईवटा कृति सार्वजनिक हुन सकेकोमा खुसी व्यक्त गरे । उनले यसपटकको बसाइ पूर्णतः साहित्यमय भएको उल्लेख गर्दै ‘अनामनगरकी अम्बिका’ र आफूसहित पाँच कविको संयुक्त कवितासङ्ग्रह प्रकाशित गरेको जानकारी दिए । उनले हामी कविता शृङ्खला तथा केही एकल कविता वाचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवादसमेत दिए । उनले अमेरिका प्रवासमा पनि साहित्य र कलाबाट टाढा नरहेको उल्लेख गर्दै अमेरिकाको बोस्टनमा पनि हरेक साता ‘सिर्जना उत्सव’ नामक साहित्यिक कार्यक्रम गर्दै साहित्यलाई निरन्तरता दिएको बताए । सिर्जना उत्सवमा बोस्टनमा रहेका नेपाली साहित्यकारको उल्लेख्य उपस्थिति हुने गरेको र नेपालबाट बोस्टन पुगेका साहित्यकर्मीहरूलाई सम्मानसमेत गर्दै आएको बताए । उनी भन्दै थिए– बोस्टनलाई हामी कहिलेकाहीँ काठमाडौं पनि भन्छौँ ।
कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, जय छाङ्छा, शङ्कर भारती, अरुण रञ्जितलगायतले पूजालाई शुभकामना दिएका थिए ।