परराष्ट्रमा बेथिति, नियमविरुद्ध सचिव

परराष्ट्रमा बेथिति, नियमविरुद्ध सचिव


दुईतिहाइ बहुमतको सरकारले कर्मचारी र प्रशासनका क्षेत्रमा मनोमानी गर्ने गरेका समाचारहरू प्राप्त भइरहेका बेला पछिल्लो समयमा परराष्ट्र मन्त्रालयमा नियम–कानूनको हुर्मत लिन थालेको समाचार छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्ना मान्छेप्रति विशेष कृपा दर्शाउने प्रवृत्तिका कारण यहाँ पछिल्लो समयमा नियम कानूनको खिल्ली उडाउने काम भएको हो ।

परराष्ट्र सेवाका कर्मचारीको सबैभन्दा ठूलो आकर्षण भनेको उनीहरूको पोस्टिङ हो । आफूले काम गरेको चार वर्षपछि उनीहरूले पाउने पोस्टिङका कारण उनीहरूले केही आर्थिक लाभ पाउने र आफ्नो परिवारसहित विदेश बस्न पाउँदा आफ्नो वृत्ति विकास पनि हुने गर्दछ । त्यसैले उनीहरू हरेक पटकको पोस्टिङको आसमा बस्ने गरेका हुन्छन् । उनीहरूको मुख्य आकर्षण र सुविधा नै यसप्रकारको पोस्टिङ भएकोले नै नियम र कानून मिलाएर सबै कर्मचारीलाई मर्का नपर्ने गरी पारदर्शी ढङ्गले पोस्टिङ गर्ने गरिन्छ । त्यहाँका सचिवले मनोमानी नगरून् र नियमानुसार नै सबैले न्याय पाऊन् भनेर ‘विदेशस्थित नियोगमा पदस्थापना तथा सरुवासम्बन्धी नियमावली २०६९’ हाल कायम रहिआएको छ । तर, पछिल्लो समयमा त्यो नियमावलीलाई परराष्ट्रसचिव बैरागीले अवज्ञा गरेका छन् । उनले मन्त्रालयद्वारा जारी सो नियम मिचेर आफ्ना मात्र नजिकका र वर्तमान सरकारनिकटका कर्मचारीलाई मात्र रोज्ने गरेका छन् ।

पछिल्लो पोस्टिङमा उपसचिव प्रथमा उप्रेतीलाई न्युयोर्क पठाइएको छ । जब कि उनी यसअघि ब्रसेल्स र सिओल बसिसकेकी छिन् । ती दुई स्थान ‘क’ र ‘ख’मा पर्दछन् । यस्तो व्यक्तिलाई पुनः ‘क’मा पठाइएको छ । हाल सरुवा भएको स्थायी नियोग न्युयोर्क ‘क’ वर्गमा पर्दछ । उक्त नियमावलीले एकपटक ‘क’ र ‘ख’मा पठाइएकोलाई पुनः यी दुईमा नभई ‘ग’मा पठाउनुपर्ने भन्छ । यसरी उनलाई ‘क’, त्यसपछि ‘ख’ र अहिले पुनः ‘क’मा नै पठाइएको छ । प्रथमा सचिव बैरागीको निकै नजिकको मान्छे रहेको परराष्ट्रका कर्मचारीबीच सधैँ चर्चा मात्र हुने गर्दछ ।

तर, उता डा. डमरुबल्लभ पौडेललाई फेरि ‘ग’मा पठाइएको छ । उनी अर्थशास्त्रमा पीएचडी हुन् । पौडेललाई साउदी अरबको रियादमा सरुवा गरिएको छ । उनी यसअघि पनि ‘ग’मा नै बसिआएका थिए । त्यसैगरी यहाँका शाखा अधिकृत १२ जनामध्ये जीतबहादुर कार्कीलाई पछिल्लो पोस्टिङमा पुनः ‘क’मा नै पठाइएको छ । पछिल्लो सरुवामा उनलाई महावाणिज्य दूतावास न्युयोर्क पठाइएको छ । जब कि यसअघि उनी वासिङ्टन डीसीमा बसिसकेका थिए । यसरी उनलाई ‘क’बाट ‘क’देशमा नै पठाउनुको कारण मन्त्रीको पीए शाखामा काम गरेको र सचिव बैरागीको नजिकको व्यक्ति भएर हो । नायव सुब्बा यादव कोइरालाको अस्ट्रेलिया सरुवा भएपछि उनलाई पनि सचिवको निकटस्थ व्यक्तिको रूपमा लिइएको छ । त्यस्तै सचिवको पीए भई काम गरेकै भरमा जनक सिंह र विदुर खतिवडालाई क्रमशः वासिङ्टन डीसी र जेनेभामा सरुवा गरिएको छ । उनीहरू यअसघि पनि ‘क’ र ‘ख’मा बसेर काम गरिसकेका छन् ।

साथै परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको विभागमा कार्यरत लेखा समूहका कर्मचारीहरू त्यही मन्त्रालयअन्तर्गतका मानिने भएकोले उनीहरूलाई समेत विदेशस्थित नियोगमा कार्य गर्न दिनु भन्ने महालेखा नियन्त्रकको कार्यालयको पत्राचारको बाबजुद लेखाका केही व्यक्तिहरूको राजनीतिक चलखेल र मन्त्रीसँगको निकटताका कारण मन्त्रालयका सीमित व्यक्तिहरूको मात्र सरुवा गर्न लागिपरेको पाइएको छ ।

त्यस नियमावलीले सरुवा गर्ने अधिकार सचिवलाई दिएको छ । तर, सचिवले भने कर्मचारीलाई न्याय नगरेको गुनासो परराष्ट्रका कर्मचारीको छ ।