काठमाडौंमा गुड्ने सवारीलाई आजदेखि जोर–बिजोर प्रणाली

काठमाडौंमा गुड्ने सवारीलाई आजदेखि जोर–बिजोर प्रणाली


शुक्रबारदेखि काठमाडौंमा सुरु हुने विवादास्पद ‘एशिया प्यासिफिक समिट’को नाममा आजबाट सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको छ । सरकारले यो प्रणाली ४ दिनका लागि तय गरेको हो । यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न सरकारले जोर–बिजोर प्रणाली लागू गरेको हो ।

आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउने भएका छन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन । परराष्ट्र मन्त्रालयका अनुसार युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सीमा हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् । मन्त्रालयका अनुसार आज बिहीबार म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदैछन् । यो सम्मेलन यसार्य धर्म ‘प्रमोशन’ का लागि आयोजना गरिएको हो ।