‘नवनेपाल’लाई दुगडले किन दिए तिलाञ्जली ?

‘नवनेपाल’लाई दुगडले किन दिए तिलाञ्जली ?


bicharनयाँ नेपाल निर्माण गर्ने भन्दै उनले ‘नवनेपाल निर्माण पार्टी’ खोलेको दुई–तीन वर्ष मात्रै भयो । आफू उद्योगपति भएकाले उद्योगधन्दाको विकासले मात्रै नेपालको निर्माण र विकास सम्भव हुन्छ भन्ने आफूलाई लागेको बताउँथे उनी । पदको लोभ पटक्कै नभएकाले विशुद्ध सेवाभावले मात्र आफू राजनीतिमा लागेको दोहो-याइरहन्थे उनी । उनी, अर्थात् व्यवसायी मोती दुगड । पहिले संविधानसभामा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का तर्फबाट सभासद् थिए मोती । सरिता गिरी अध्यक्ष रहेको सो पार्टीमा करोडौँ ‘चन्दा’ लगानी गरेर सभासद् पाएको चर्चा उतिबेलै व्यापक थियो ।
यसरी ‘पद’का लागि नभई सेवाको भावनाले राजनीतिमा आएको केही महिनामै उनलाई पद, सत्ता र शक्तिको यस्तो चस्का लाग्यो कि पार्टीलाई प्राप्त मन्त्रीको एउटा कोटा सरिता गिरीले आफ्नै लागि प्रयोग गरेपछि दुगड गिरीसँग भड्किए । कबोल गरेजति रकम पार्टीलाई नबुझाएको भन्दै गिरी यसै पनि दुगडसँग रुष्ट थिइन् । मन्त्री पदको खिचातानीले बाटो अलग गरिदियो । दुगडले आफ्नै अध्यक्षतामा नयाँ पार्टी दर्ता गरे– नवनेपाल निर्माण पार्टी । पछिल्लो संविधानसभाको निर्वाचनमा दुगडको चुनाव प्रचार अभियान चर्चाको विषय बनेको थियो । मुलुकका अन्य भागमा त उनको पार्टीको नाम सुनिएको थिएन, तर उनको व्यापारिक कार्यालय रहेका स्थानहरू विराटनगर र काठमाडौंको नयाँसडकमा जो पुगे पनि मोती दुगडलाई सभासद् बनाएर नयाँ नेपाल निर्माणको जग बसाऔँ भन्ने व्यहोरा उल्लेख गरिएको पर्चा हातमा जबर्जस्ती थमाइन्थ्यो । चुनाव प्रचारका लागि उनकै व्यापारिक फर्मका कारिन्दाहरू खटिएका थिए । खटेकोभन्दा पनि लदाइएका भन्नु उपयुक्त होला, उनीहरू आफ्नै चाहनाले दुगडको पर्चा बाँडिरहेका थिएनन् । जागिरको सवाल जो थियो ।
तर, दोस्रो संविधानसभामा समानुपातिकको एक सिट मात्र भए पनि हात पारेर पुनः सभासद् बन्ने र दलहरूसँग बार्गेनिङ गरेर मन्त्री पड्काउने मोती दुगडको सपना चकनाचुर भयो । उनी सडकको सडकमै छोडिए । तर, यी साहुजीसँग पैसाको कमी भने थिएन । दुगड निकटवर्ती एक व्यवसायीका अनुसार पदको ‘चाहना’ नराख्ने यी साहुजी जसरी पनि मन्त्री बन्ने मृगतृष्णामा अहोरात्र लागेका छन् यतिबेला । कसैले सुनाइदिएको छ उनलाई कि छिट्टै नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुनेछ । काङ्ग्रेसपछि सरकार बनाउने पालो नै एमालेको हो । कसरत गरे मन्त्रीको कुर्सी हात लाग्न पनि सक्छ । यही विश्वासमा परेका दुगडले आफ्नो पार्टी नै एमालेमा विलय गराएका छन् । आफ्ना पार्टीमा रहेका दुई दर्जनजति सदस्यसहित नवनेपाल निर्माण पार्टीलाई एमालेमा विलय गराएर उनी मन्त्री बन्ने अभिलाषाका साथ एमाले–धारमा बग्दै छन् । त्यसो त दुगडले एमाले प्रवेश गर्दा पनि सरिता गिरीलाई जस्तै ‘कुनै पद नचाहिने’ वचन दिएका छन् । भित्री कुरो एकैचोटि सार्वजनिक रूपमा खोल्नुपर्ने जरुरी नठानेर पनि होला उनले यस्तो अभिव्यक्ति दिएका । जे होस्, एमालेका नेतृत्वमा ‘नयाँ नेपाल’ निर्माणको नवीन सपना बुनेका मोती दुगडको नयाँ परिचय अब ‘एमाले नेता’को हुनेछ । उनको पोल्टामा मन्त्री पदचाहिँ कुन जुनीमा हात लाग्ने हो, ठेगान नभए पनि खालखालका ‘व्यापारी’को जमघट भएको पार्टी एमालेमा केही दिनकै लागि सही, नयाँ रौनक भने थपिएकैै छ ।
– जीवन ज्ञवाली