महिला सशक्तीकरणका लागि जागरण आवश्यक : मन्त्री थापा

महिला सशक्तीकरणका लागि जागरण आवश्यक : मन्त्री थापा


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका साथसाथै उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रमहरु गरी गाउँ–गाउँ बस्ती–बस्तीमा जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

जागरण नेपालले आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अभियान अन्र्तगत छलफल कार्यक्रममा मन्त्री थापाले १६ दिने महिला हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन सातै प्रदेशका जनप्रतिनिधिलाई सहभागिता गराउन पहल कदमी गरेको बताइन् । उनले तीन वटा प्रदेशमा अभियान सम्पन्न गरिसकेको र आगामी दिनमा अन्य चारवटा प्रदेशमा समेत अभियान सम्पन्न गराउने प्रतिबद्धता जनाइन् ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले महिलाका मुद्दालाई महिलासम्बन्धी सङ्घसंस्थाहरुले मात्र नभई राष्ट्रिय मुद्दा बनाई सबै निकाय र तीनै तहका सरकारले अभियान, तालीम, गोष्ठीलगायत कार्यक्रम गर्नुपर्ने बताइन् । जागरण नेपालका संस्थापक अध्यक्ष शर्मिला कार्कीले एशियाकै उत्कृष्ट संविधान नेपालको भएको भन्दै समावेशी तथा आरक्षणको पूर्ण व्यवस्था र कार्यान्वयनमा आउनु ठूलो उपलब्धि भएको बताइन् ।