वडाको बजेट क्यारेमबोर्ड खरिदमा दुरुपयोग !

वडाको बजेट क्यारेमबोर्ड खरिदमा दुरुपयोग !


नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारेमबोर्ड खरिद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् ।

क्यारेमबोर्ड पनि एकप्रकारको जुवा नै हो । क्यारेमबोर्ड खेल्दा धेरै रकम बाजी थापेरसमेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रूपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु. एक लाख बजेट विनियोजन गरिएको र हालसम्म चारवटा टोलमा वितरण गरिएको बताए ।

एक वडा सदस्यले युवालाई खुसी बनाउन क्यारेमबोर्ड बाँडेको भन्दै वडाध्यक्षको आलोचना गरेका छन् । नाम नबताउने सर्तमा उनले भने, ‘वडामा छलफल नै नगरेर बजेटको दुरुपयोग भएको छ, क्यारेमबोर्ड खरिद गरेको बिल भर्पाइ पास गर्न दिँदैनौँ ।’

क्यारेमबोर्ड खेललाई ठूलो जुवा मानी प्रहरीले यस खेलमाथि नियन्त्रणको प्रयास गर्दै आएको छ । ‘सरकारकै लागि गलत पद्धति स्थापित हुन्छ,’ अधिकारकर्मी प्रकाश उपाध्यायले भने, ‘बजेटबाट क्यारेमबोर्ड खरिद गरी वितरण गर्नु जायज होइन ।’