भालुको आक्रमणबाट पाँच घाइते, बाँदर नियन्त्रणका लागि गाउँपालिकामा गुहार

भालुको आक्रमणबाट पाँच घाइते, बाँदर नियन्त्रणका लागि गाउँपालिकामा गुहार


डोटीको आदर्श गाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् । घरनजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टिएपछि घाइते भएको जोशीले बताइन् । उनको शरीरभरि घाउ छ ।

यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीय ६० वर्षीया जरु धामी घाइते भएकी छिन् । उनी घरनजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेकी थिइन् । आक्रमणबाट उनले एउटा आँखा गुमाउनुपरेको छ ।

गुदुखातीमा भालुको आक्रमणबाट थप तीन स्थानीय घाइते भएको उनले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मंगलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन् । घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा जैसीलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीय झलक आचार्यले जानकारी दिए । बाँदरले दुःख दिन थालेपछि स्थानीयले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिकालाई गुहार्दै आएका छन् ।