छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एकजनाको मृत्यु भएको छ ।

ना.३२प ८३९० नम्बरको स्कुटर दुर्घटना हँुदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

गौतम गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमका छोरा हुन् ।

यसैगरी कपिलवस्तु नगरपालिका–९ कुश्मामा गए राति ट्याक्टर पल्टिँदा अर्को एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय श्याम यादव रहेका छन् ।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु.३त ५२१६ नम्बरको ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।