सर्जक–कलाकारहरूको प्रतिभाको लेखाजोखा गरेर उनीहरूबीचबाट बढी योग्य छानेर पुरस्कृत वा सम्मान गर्नु भनेको आफैँमा जोखिमपूर्ण कार्य हो । वास्तवमै अरूको क्षमता, दक्षता एवम् प्रतिभाको मूल्याङ्कन गर्नु कम्ती रिस्कको विषय होइन । त्यसमाथि हाम्रोजस्तो साँघुरो सोचविचारबाट ग्रसित समाजमा अवार्ड कार्यक्रमको आयोजना गर्नु साँच्चि नै फलामको चिउरा चपाउन खोज्नुजस्तै हो ।
विश्वकै ठूलो भनिने ओस्कर अवार्ड त हरेक वर्ष विवादरहित हुन नसकी कुनै न कुनै कोणबाट आलोचित बनिरहेको हुन्छ भने भर्खर व्यावसायिकता अँगाल्न खोजिरहेको नेपाली चलचित्र क्षेत्रमा हुने फिल्म अवार्डको आयोजनाले सबै वर्ग, क्षेत्र, तह र तप्कालाई समेट्न नसक्नुलाई पनि अन्यथा दृष्टिले हेरिनुहुन्न । सकभर आफ्नो क्षेत्र र पहुँचबाट सबैको चित्त बुझाउन खोज्नु र भरसक यस्ता कार्यक्रमलाई विवादरहित बनाउन खोज्नु भनेको आयोजकको धर्म र कर्तव्य पनि हो । कर्तव्य निर्वाह गर्दा कतै भूलचूक हुन गयो भने त्यसलाई पहाड बनाउन खोज्नु पनि ज्यादती नै ठहरिन सक्छ ।
नेपाली चलचित्रसम्बन्धी अवार्ड वा सम्मान कार्यक्रमले स्वदेशमै समुचित वाहवाही वा तारिफ पाउन नसकिरहेको अवस्थामा विदेशीभूमिमा यस्ता कार्यक्रमको आयोजना हुनु मात्र पनि चुनौतीपूर्ण कार्य हो । तर, यस्तो चुनौतीपूर्ण फिल्म अवार्डको कार्यलाई नेपाली चलचित्र उद्योगको इतिहासमै पहिलोपटक सुन्दर सहर हङकङमा आयोजना गरेर उत्साहित युवाहरूले विदेशमा पनि फिल्म अवार्डको आयोजना गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।
साहस, उत्साह र मनोकाङ्क्षाको अगाडि असम्भव भन्ने कुरा हुँदो रहेनछ भन्ने ज्वलन्त उदाहरण गत साता हङकङमा भव्य रूपमा आयोजना गरिएको सातौँ नेफ्टा फिल्म अवार्ड बन्न पुगेको छ । विदेशी भूमिका नेपालबाट एकसाथ सत्तरीजना कलाकर्मीको जम्बो टोली त्यहाँ पु-याएर कार्यक्रम सफल बनाएपछि चलचित्र प्राविधिक सङ्घ, चलचित्र निर्माता सुनिलकुमार थापा र हङकङका आयोजक विनय शाहले वाहवाही या स्यावासी मात्र पाएनन् कि विदेशीभूमिमा नेपाली फिल्म अवार्डको ढोकासमेत खोलिदिएका छन् । समग्र नेपाली चलचित्र उद्योगका लागि यो ऐतिहासिक र तारिफयोग्य पाटो बनेको छ । स्वदेशमै यस्ता अवार्डको आयोजना व्यवस्थित र सर्वप्रिय हुन नसकिरहेको अवस्थामा हङकङमा आयोजना गरिएको सातौँ नेफ्टा फिल्म अवार्ड साँच्चि नै तारिफ गर्न लायकको थियो ।
त्यसो त हङकङमा विदेशी चलचित्रहरूको अवार्ड एवम् समारोह हेरिरहेका हङकङवासी नेपालीले आँखाअगाडि आफ्ना प्रिय कलाकारलाई देख्न वा भेट्न पाउनुलाई जीवनकै अविष्मरणीय क्षणको रूपमा लिएका छन् । नसोचेको कार्यक्रम भएको र नसोचेका दर्शकहरूको उल्लासपूर्ण सहभागिताले गर्दा सातौँ नेफ्टा फिल्म अवार्ड आगामी वर्ष बेलायतमा आयोजना गरिने घोषणा गरिएबाट नेपाली चलचित्र उद्योगसम्बद्ध कलाकर्मीहरूमा बेग्लै उल्लास पैदा भएको छ ।
हङकङजस्तो महँगो सहरमा रिस्क मोलेरै भए पनि नेपालबाट गएका अतिथिहरूलाई कुनै कुराको कमी हुन नदिईकन स–सम्मान सफलताका साथ कार्यक्रमको आयोजना गरेर स्वदेश फर्काउन आयोजक सफल भएका थिए । नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजना, नेपालबाट चलचित्र निर्माता सुनिलकुमार थापा र हङकङबाट विनय शाहको यो कार्यको यतिबेला नेपालमा र हङकङमा मात्र होइन कि विश्वभर छरिएर रहेका नेपालीजनले खुलेर तारिफ गरेका छन् ।
सातौँ नेफ्टा फिल्म अवार्ड हङकङमा पहिलोपटक भएको थियो भने नेपाल चलचित्र प्राविधिक सङ्घले यो अवार्ड यसअघि मलेसियामा गरेको थियो । मलेसियामा चलचित्र निर्माता सुभास गिरीको आयोजनामा भएको थियो । महँगो चारतारे होटलमा आयोजना गरिएको अवार्डमा सहभागी हुन नेपालबाट पुगेका सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको उपस्थितिले पनि अवार्डले भव्य बनाउन विशेष साथ पाएको थियो । नीर शाह, राजेश हमाल र शम्भुजित बास्कोटाको स्टेज आगमनसँगै दर्शकदीर्घा उत्साहित बनेको थियो भने दिनेश डीसीको कार्यक्रम सञ्चालन अर्को सफल पक्ष भयो । त्यसमाथि नरेश भट्टराई र सन्दीप क्षेत्रीको कार्यक्रम सञ्चालनको शैलीले कार्यक्रममा ऊर्जा थपेको थियो । अवार्ड र सम्मान वितरणको बीचबीचमा प्रस्तुत गरिएका विविध प्रस्तुतिहरूमा हास्य कलाकार विल्सनविक्रम राई विशेष जमेको पाइयो भने नृत्यमा दिलीप रायमाझीको अत्यधिक तारिफ गरियो । जनताप्रति समर्पित भावना राखेर कार्य गर्दै आएका एसएसपी रमेश खरेललाई पनि कार्यक्रमबीच सम्मान गरियो । सङ्गीतकार शम्भुजित बास्कोटालाई महान् सङ्गीतकार र अभिनेत्री करिश्मा मानन्धरलाई सदावहार नायिकाको उपाधिबाट विभूषित गरिँदा दर्शकदीर्घा तालीको गडगडाहटले गुञ्जायमान भएको थियो ।
कार्यक्रमको सबैभन्दा रोचक, मन छुने र भावनात्मक प्रस्तुति भने अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठप्रति समर्पित प्रस्तुतिका क्रममा हजारौँ दर्शक उठेर श्रीकृष्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दा देखियो । कार्यक्रममा अभिनेत्री झरना थापा र सुनिलकुमार थापाले चलचित्र ‘ए मेरो हजुर–२’ बनाउने घोषणा गरेका थिए । समग्रमा भन्नुपर्दा हङकङमा निकै भव्य, सभ्य र उल्लेखनीय किसिमले आयोजना भएको सातौँ नेफ्टा फिल्म अवार्डको तारिफ यतिबेला समग्र क्षेत्रमा भइरहेको छ । अवार्डलाई नजिकबाट नियाल्नेहरूले त यस्तो अवार्ड पहिले कहिल्यै नभएको जिकिर पनि गरे । विदेशी भूमिमा यसरी भव्य रूपमा नेपाली फिल्म अवार्डको आयोजना निश्चय नै स्वागतयोग्य, तारिफयोग्य र प्रशंसायोग्य कार्य हो भन्दा कतैबाट पनि अन्यथा प्रतिक्रिया नआउला ।
प्रतिक्रिया