सस्तो प्रचार गरेर बहादुरी देखाउन खोज्दा नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल आफैँ फन्दामा परेका छन् । एउटा सिपाहीले गरेको कामका निम्ति समेत प्रहरी प्रमुख जिम्मेवार रहन्छन् भन्ने स्पष्ट हुँदाहुँदै पनि निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा मातहतका निकायले केही गर्न नसकेको सन्देश जाने गरी खनाल आफैँ अनुसन्धानमा खटेको भन्ने प्रचार उनले गराएका थिए । तलकाले सकेनन्, अब आफैँ लागिपर्छु भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका खनालको अग्रसरता पनि निर्दोषलाई दोषी प्रमाणित गर्नका लागि भएको देखिएको छ ।
आईजीपी आफैँ संलग्न भएर गरेको भनिएको अनुसन्धान पनि गलत साबित भएको छ । पछिल्लो चरणमा पक्राउ परेका दुई युवाको डीएनए निर्मलाको भजाइनल स्वावसँग मेल खाएन । यो अनुसन्धान पनि गलत साबित भएपछि निर्मला काण्ड झन्झन् रहस्यमयी बनेको छ ।
पछिल्लो समय कञ्चनपुरका दुई स्थानीय युवाहरूलाई पक्रिएर अनुसन्धान गर्दै गर्दा प्रहरी महानिरीक्षक आफैँ अनुसन्धानमा संलग्न भनी मिडियामा गरिएको प्रचारलाई हास्यास्पद मानिएको छ । प्राप्त जानकारीअनुसार कञ्चनपुरका दुई युवाहरू प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरेपछि अपराध अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख डीआईजी नीरज शाहीले महानिरीक्षक खनाललाई फोन गरी केटाहरूले अपराध स्वीकार गरेको बताएका थिए । त्यसको केही समयपछि खनाल अनुसन्धान भइरहेको ठाउँमा पुगेर एकछिन उनीहरूको कुरा सुनी फर्किएका थिए । उनी फर्किएको केही समयमै निर्मला बलात्कार तथा हत्याकाण्डका अपराधी पक्रन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैँ अनुसन्धान र सोधपुछमा भन्ने समाचार सार्वजनिक गरिएको थियो । यसरी समाचार आउँदा अनुसन्धानमा केही दिनदेखि गम्भीर रूपले खटिएका प्रहरी अधिकारीहरू नै छक्क परेका थिए । एक त समाचारमा आएझैँ उनी त्यसरी अनुसन्धानमा संलग्न नै थिएनन् र अर्को अनुसन्धान भइरहेका बेला को कसरी खटिएको छ, कसले दोषीहरूको बयान लिइरहेको छ भन्ने कुरा बाहिर ल्याइनु गलत मानिन्छ । यदि प्रहरी महानिरीक्षकले बयान लिएकै भए पनि त्यो कुनै समाचारको विषय बन्नुपर्ने थिएन । आफ्नो कर्तव्यभित्र पर्ने काम गर्दा त्यसरी प्रचार गराउनुको अर्थ प्रहरी अधिकारीहरूले बुझ्न सकेका छैनन् ।
प्राप्त समाचारअनुसार आईजीपी आफैँ संलग्न भएर गरेको भनिएको अनुसन्धान पनि गलत साबित भएको छ । पछिल्लो चरणमा पक्राउ परेका दुई युवाको डीएनए निर्मलाको भजाइनल स्वावसँग मेल खाएन । यद्यपि, ती युवाहरूले निर्मलाको बलात्कार गरी हत्या गरेको बयान दिएका थिए । कञ्चनपुरमा स–साना चोरी र लागूऔषध सेवनमा संलग्न उनीहरूले आफैँले हत्या गरेको बताएको भन्ने हल्ला चलेपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत सरकारमा बस्ने पदाधिकारीहरूले अब चाँडै नै निर्मलाको हत्यारा पत्ता लाग्ने भएकोले सरकारविरोधीहरूले त्यसपछि विरोधका कुनै पनि एजेण्डा नपाउने अभव्यक्ति दिएका थिए । तर, यो अनुसन्धान पनि गलत साबित भएपछि निर्मला काण्ड झन्झन् रहस्यमयी बनेको छ । यसअघि दिलीपसिंह विष्ट नाम गरेका व्यक्तिले पनि बलात्कार र हत्या आफैंले गरेको बयान दिएका थिए, तर उनको पनि डीएनए नमिलेपछि छोडिएको थियो । यो मुद्दामा अहिलेसम्म १२ जनाको डीएनए परीक्षण गरिसकिएको छ । अझै केही शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले उनीहरूको खोजी गरिरहेको स्रोतले बताएको छ ।
निर्मला घटनालाई लिएर सर्वसाधारणदेखि सांसदहरूसम्मले प्रहरी महानिरीक्षकको व्यापक आलोचना गरेका छन् । सुरुदेखि नै अनुसन्धानमा लापरबाही गरेकाले उनले राजीनामा दिनुपर्ने माग सर्वत्र उठेको छ । संसदीय समितिमा गत सोमबार केही सांसदहरूले यो घटनाको जिम्मेवारी विभागीय प्रमुखका हैसियतले प्रहरी महानिरीक्षकले लिनुपर्ने बताएपछि खनालले आक्रोशित हुँदै मैले पनि केही माननीयहरूलाई अपराधका घटनामा पक्राउ गरेर कारबाही गरेको छु भन्ने जवाफ दिएका थिए ।
प्रहरी महानिरीक्षकको रूपमा सर्वेन्द्र खनालले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको भए सरकारले यति ठूलो बदनामी व्यहोर्नुपर्ने अवस्था पैदा नहुने ठानिन्छ । खनालको अक्षमताको भारी सिङ्गै सरकारले बोक्नु परिरहेको छ । त्यसैले प्रहरी प्रमुखबाट खनाललाई हटाएर भए पनि दोषीहरू पक्राउ गरिनुपर्छ भन्ने आवाज उच्च सरकारी तहमा पनि उठ्न थालेको छ ।
प्रतिक्रिया