मनीषाको ‘क्यान्सर-पीडा’ बारेको पुस्तक अब नेपाली भाषामा

मनीषाको ‘क्यान्सर-पीडा’ बारेको पुस्तक अब नेपाली भाषामा


बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने काठमाडौंमा आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् । पुस्तक पेनगुइनले प्रकाशनमा ल्याएको थियो, त्यसैको नेपालीमा अनुवादद फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो ।

उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखेँ भन्ने कुरा पनि पुस्तकमा समेटिएको मनीषाले खुलाइन् ।

कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनीषा कोइराला जस्तो चर्चित व्यक्तित्वको पुस्तकलाई फेस्टिभलमा विमोचन गर्न पाउनु आफूहरूका लागि गौरवको विषय रहेको बताए ।

अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको पेस्कीबापत आएको रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरणसमेत गरेकी थिइन् । पत्रकार सम्मेलनमा कोइरालासँग सहभागीले सवालजवाफ गरेका थिए ।