यता काठमाडौंमा महासमितिको बैठक चलिरहँदा उता जापानमा बसोवास गर्ने नेपाली काङ्ग्रेससम्बद्ध व्यक्तिहरू भने दुःखी बन्न पुगेका छन् । काङ्ग्रेसको केन्द्रीय कार्यालयले जापानस्थित काङ्ग्रेसको जनसम्पर्क समितिलाई लेखेको एउटा पत्रका कारण त्यहाँका काङ्ग्रेस कार्यकर्ताहरू दुःखी बनेका हुन् ।
सम्पर्क समितिको कार्यकाल पूरा हुनुभन्दा दुई दिनअघि केन्द्रीय कार्यालयलाई पत्र लेखी समितिले दुई महिना म्याद थप गर्न डिसेम्बर १ तारेखमा पत्राचार गरेको थियो । जनवरी २०१९ को २७ तारेखमा अधिवेशन गर्ने मितिसमेत तय भइसकेको अवस्थामा जनसम्पर्क समिति जापानको कार्यकाल सकिएको भन्दै कुनै कामकारबाही नगर्न काङ्ग्रेसको केन्द्रीय कार्यालयले जापानमा पत्र पठाएको छ ।
यसरी पत्र पठाएपछि त्यहाँ जनसम्पर्क समितिले वैधानिकता गुमाएको छ । यसबाट जापानको जनसम्पर्क समितिले आगामी जनवरी २७ मा गर्न लागेको अधिवेशन अलपत्र परेको छ र जापान जनसम्पर्क समितिविहीन बन्न पुगेको छ ।
जनसम्पर्क समितिका सभापति रोशन केसीले काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयका सचिवलाई टेलिफोन गरी त्यहाँको स्थिति अवगत गराउँदा कार्यालय सचिवले पार्टी सभापति शेरबहादुर देउवाको आदेशमा पत्र लेखिएको बताउँदै आफूले केही गर्न नसक्ने जवाफ दिएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिवको जवाफले जापानमा रहेर काङ्ग्रेसका निम्ति काम गर्नेहरू सबैलाई निराश तुल्याएको छ ।
यतिबेला जापानमा सभापति देउवाले किन त्यसप्रकारको पत्र लेख्न निर्देशन दिए भन्ने विषयमा विभिन्न अनुमान गर्न थालिएको छ । केही समयअघि देउवापत्नी आरजु राणा जापान गएको बेला जनसम्पर्क समितिका पदाधिकारीहरू उनलाई भेट गर्न नगएकोले सम्पर्क समितिको म्याद थप नगर्न पत्राचार गरिएको ठहर जापानवासी काङ्ग्रेस कार्यकर्ताहरूले गरेका छन् ।
जापानस्थित काङ्ग्रेस कार्यकर्ताहरू अब के गर्ने भन्ने विषयलाई लिएर अन्योलमा परेका छन् । पार्टीले निकास दिन तत्काल कुनै कदम नचाल्ने हो भने जापान काङ्ग्रेसको जनसम्पर्क समितिविहीन रहने सम्भावना बढेको छ ।
प्रतिक्रिया