संवैधानिक परिषद्को निर्णयसँगै प्रभुशमशेरको बढ्यो सक्रियता

संवैधानिक परिषद्को निर्णयसँगै प्रभुशमशेरको बढ्यो सक्रियता


सर्वाेच्च अदालतको प्रधानन्यायाधीश परिवर्तनको प्रक्रिया शुरु भएसँगै प्रभुशमशेर राणा नामक व्यक्तिको सक्रियता ह्वात्तै बढेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको छ र उनको संसदीय सुनुवाइ प्रक्रिया शुरु भइसकेको छ । संसद्को सुनुवाइ समितिले प्रक्रिया शुरु गर्दै प्रस्तावित राणाका विरुद्ध उजुरी गर्न आइतबार (पुस १ गते) सार्वजनिक आह्वान गरेको छ । सुनुवाइ समितिले पैंतालीस दिनभित्र नाम अनुमोदन गर्नुपर्ने र उक्त समयावधिभित्र कुनै निर्णय नभए स्वतः अनुमोदन भएको मानिने संवैधानिक प्रावधान छ । तर, यसअघि दीपकराज जोशीको नाम सिफारिस हुँदा भने सो संवैधानिक प्रावधानअनुरूप कार्य भएको थिएन ।

संवैधानिक परिषद्द्वारा नाम प्रस्ताव भएको ५२ दिनपछि शैक्षिक योग्यताको प्रमाणपत्र शङ्कास्पद रहेको भन्दै सुनुवाइ समितिले संविधानविपरीत जोशीको नियुक्ति प्रस्ताव अस्वीकार गर्ने निर्णय लिएको थियो । चोलेन्द्रशमशेर राणाको नैतिकता र चरित्रलाई लिएर अनेक प्रश्न उठिरहेको भए पनि सांसदको सुनुवाइ समितिका सदस्यहरू चोलेन्द्रका विरुद्ध केही नसुन्ने ‘मुड’मा देखिएका छन् । प्रचण्ड, उपेन्द्र महतो, कैलाश सिरोहिया र योगेश भट्टराईहरूको विशेष पहलमा प्रधानन्यायाधीश प्रस्तावित भएकोले सुनुवाइ समितिबाट चोलेन्द्रको नाम सजिलै अनुमोदन हुने विश्वास गरिएको छ । यसरी चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुने सम्भावना बढेसँगै प्रभुशमशेरको गतिविधि पनि निकै बढेको देखिएको छ ।

मुख्य पेसा घरमा जुवा खेलाउने र ‘कटनी’ खाने भनी डिल्लीबजार कालिकास्थान आसपास चर्चित प्रभुशमशेर एक समय व्यक्तिगत तथा बैंकको ऋणमा चुर्लुम्मै डुबेका थिए । बानेश्वर देवकोटामार्गस्थित शिवदर्शन हल भएको सत्ताइस आना जमिनकी सोझी महिलालाई जालमा पारेर उक्त जमिन आफ्नो कम्पनी आइकोरको पचास प्रतिशत स्वामित्वमा ल्याउन सफल प्रभुशमशेरले सोही जमिन बैंकमा धितो राखेर ऋण लिएका थिए । आफ्नै जमिनको पचास प्रतिशत स्वामित्व गुमाएकी ती विधवा महिलाको जमिनमा कमर्सियल कम्प्लेक्स बनाउन शुरु गरेकोमा बैंकले ऋण नथपेपछि बीचमै निर्माणकार्य रोकिएको थियो । करिब बीस करोड व्यक्तिगत र पचास करोड हाराहारीमा बैंकको ऋण बोकेका प्रभुशमशेर आफ्ना गाडीहरू बेचेर स्कुटरमा सवार हुन थालेका थिए ।

एउटा रोचक संयोग नै मान्नुपर्छ कि सर्वोच्च अदालतको न्यायाधीशमा चोलेन्द्रशमशेर राणाको नियुक्ति भएकै समयदेखि प्रभुशमशेर राणाको जीवनमा पनि उन्नति शुरु भयो । हरेक दिन बिहान साढे दश बजेदेखि बेलुका सात बजेसम्म टंगालस्थित नम्रता श्रेष्ठको एटिक बारमा विभिन्न मुद्दाका वादी–प्रतिवादीहरूसँग छलफल तथा ‘सेटिङ’ गर्दै गरेको भेटिने प्रभुशमशेर क्यासिनो ऱ्याडको मुद्दा मिलाउने भन्दै लिएको एक करोड रुपैयाँ फिर्ता दिन आनाकानी गरेपछि केही घन्टा सोह्रखुट्टेस्थित प्रहरी थानामा बिताउन बाध्य भएका थिए । दुई वर्षअघि डीएसपी सुरेन्द्रसिंह राठौरले सुनसाहुका रूपमा चिनिने सुरेश श्रेष्ठसँगै प्रभुलाई प्रहरी थानामा झिकाएपछि प्रभु आफ्ना ‘शक्तिशाली’ मानिसको सोर्स लगाएर थानाबाट छुटकारा पाउन सफल भएका थिए ।

भेनस क्यासिनोको मुद्दा मिलाउने भन्दै एक करोड पचास लाख रुपैयाँ हात पार्ने प्रभुले रोयल क्यासिनोको मुद्दा मिलाउने नाममा तीन करोड बुझेको र यस्ता अनेकौँ मुद्दामा बिचौलिया बनेर रकम सङ्ग्रह गर्ने गरेको प्रमाण बन्दाबन्दै रोकिएर पुनः निर्माण शुरु भई अन्तिम चरणमा पुगेको देवकोटामार्गस्थित कमर्सियल कम्प्लेक्सले पनि दिएको छ । करिब असी करोड लगानीको उक्त कम्प्लेक्समा प्रभुशमशेरको परिवारका उच्चपदस्थ व्यक्तिले समेत करिब बाह्र करोड रुपैयाँ लगानी गरेको बताइन्छ ।

पछिल्लो समय प्रभुशमशेर अलिक बढी नै व्यस्त र सक्रिय रहन थालेका छन् । विभिन्न मुद्दा लिएर एटिक बारमा आउने व्यक्तिहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । मुद्दा लिएर एटिक बारमा पुग्ने एक व्यक्तिले घटना र विचारसँग आफ्नो नाम नबताउने सर्तमा भने, ‘प्रभु राजाले भैरहवाको मिनी क्यासिनोको मुद्दा मिलाउन दुई करोड नगद र पाँच प्रतिशत सेयर लिनुभएको थियो । राजाले दुई वर्षभित्रै अमेरिकाको टेक्सास र थाइल्याण्डको बैंककमा एक–एकवटा अपार्टमेन्ट खरिद गर्नुभएको छ । टेक्सासको लग्जरी भिल्लामा ६ वटा बेडरुम छ र बैंककको अपार्टमेन्ट पनि निकै लग्जरिएस छ । उहाँले अबको चार वर्षभित्र कम्तीमा पाँच अर्ब कमाउने बताउनुभएको छ । तर, कसरी त्यत्रो रकम कमाउने भन्नुभएको हो, त्यो भने हामीलाई बताउनुभएको छैन ।’

एक सूत्रले जनाएअनुसार प्रभुशमशेर कतिपय मुद्दामा वादी र प्रतिवादी दुवैतर्फबाट नगद बुझ्ने गर्दछन् र जसले मुद्दा जित्छ उसको पैसा खाने र हार्ने पक्षलाई पैसा फिर्ता दिने पनि गर्दछन् । आफ्नो च्यानलबाट विभिन्न मुद्दा र झगडियाहरूको बारेमा सूचना प्राप्त गर्ने र प्राप्त सूचनाका आधारमा वादी–प्रतिवादीहरू खोजी गरी एटिक बारमा बोलाएर सेटिङ गर्ने गर्दै आएकोमा प्रभुले अब आफ्नो अड्डा सार्छन् या एटिक बारलाई नै कायम राख्छन् सो भने यकिन हुन सकेको छैन ।