ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत सेयर लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सञ्चालक समितिको प्रस्तावअनुसार बैंकले आव ०७४–७५ को मुनाफासमेतबाट उक्त सेयर लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सञ्चालक समितिले सोही हदसम्म जारी पुँजी वा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्तावसमेत स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिको यही पुस १ गते बसेको बैठकले सेयर लाभांशसम्बन्धी निर्णय गरी नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको हो ।
बैंकले प्रस्ताव गरेको उक्त सेयर लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ । बैंकले यही पुस २७ गते साधारणसभा बोलाएको छ ।
बैंकले अधिकृत पुँजी रु. १० अर्बलाई वृद्धि गरी रु. १६ अर्ब पु¥याउने महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेको छ ।
बैंकको चालू आवको पाँच महिनामा रु. सात अर्ब ७० करोडले वृद्धि भई निक्षेप ११४ अर्ब २१ करोड पुगेको छ भने कर्जा नौ अर्ब ३० करोडले वृद्धि भई १०२ अर्ब ६७ करोड पुगेको छ ।
यसैगरी, काबेली विकास बैंकले आफ्ना सेयरधनीलाई ३५ प्रतिशत सेयर लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट सेयर लाभांश वितरण गर्न लागेको हो ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयर लाभांशसम्बन्धी निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त सेयर लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधरणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।
बैंकको हाल कायम रहेको रु. २१ करोड पाँच लाख ९० हजार ४ सय सेयरपुँजीको ३५ प्रतिशत रु .सात करोड सैंतीस लाख छ हजार ६४० को सेयर लाभांश प्रदान गर्न लागेको हो । सेयर लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी रु. २८ करोड ४२ लाख ९७ हजार ४० पुग्नेछ ।
प्रतिक्रिया