प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नै पार्टीभित्र मोर्चाबन्दी गराउने नेकपाका सहअध्यक्ष प्रचण्ड आफू भने ओलीसँग ‘मिलेर अघि बढ्ने’ भूमिकामा देखापरेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूलाई ओलीविरुद्ध एकजुट बनाएपछि प्रचण्ड प्रधानमन्त्री ओलीको साथमा उभिन पुगेका छन् । ‘एमाले’का नेताहरूलाई आफ्नो इच्छा र इसारामा नचाउने सफलता प्राप्त गर्दै गरेका प्रचण्डले केपीको पक्ष र विपक्ष दुवै भूमिका निर्वाह गर्न शुरु गरेका छन् ।
रातभर वामदेव गौतमसँग बसेर ओलीविरुद्ध रणनीति तर्जुमा गर्ने प्रचण्ड दिनभरि केपी ओलीको पक्षमा देखिन थालेका छन् । ‘एमाले’का नेताहरूबीच मतभेद र तनाव पैदा नभएसम्म आफ्नो भविष्य सुरक्षित हुन नसक्ने ठानेका प्रचण्ड केपीको विरोधी र समर्थक दुवैको भूमिका एक साथ निर्वाह गरेर आफ्नो स्थान सुरक्षित बनाउने खेलमा लागेका छन् । केपीलाई प्रधानमन्त्री पदबाट हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पार्टीको आगामी महाधिवेशनबाट आफू अध्यक्ष चयन हुने योजनामा रहेका प्रचण्ड ‘एमाले’का नेताहरूबीच उत्पन्न तनाव र मोर्चाबन्दीबाट उत्साहित भएको बताइन्छ ।
बन्द कोठाभित्र केपी ओली र उनको कार्यशैलीको आलोचना गरेर नथाक्ने प्रचण्ड केही दिनयता सरकारलाई बचाउ गर्न लागिपरेपछि नेकपाका एकथरी कार्यकर्ताहरू खुसी भएका छन् भने अर्का थरीचाहिँ प्रचण्डको शैली देखेर रनभुल्लमा परेका छन् । प्रचण्डले केपीसँग मिलेर आफ्नो हित सुरक्षित गर्ने रणनीति अवलम्बन गरेकोले केपीसमर्थक नेता–कार्यकर्ताहरू प्रचण्डप्रति सकारात्मक बन्न थालेका छन् । पार्टीभित्र ‘माओवादी’ र ओली समर्थकहरू एक ठाउँमा उभिए भने प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने ठानिन्छ ।
यसरी वामदेव गौतमलाई उचालेर केपीमाथि प्रहार गर्न लगाउने र देखिनेगरी केपीको घाउमा मल्हम लगाउन अग्रसर हुने ‘प्रचण्ड काइदा’ले उनलाई यतिबेला निकै ठूलो लाभ पुऱ्याएको छ । यही अवस्था पार्टीको आगामी महाधिवेशनसम्म कायम राख्न सके भने नेकपाका सर्वशक्तिमान नेता प्रचण्ड बन्नेमा शङ्का गर्नै नपर्ने भएको छ । तर, यही अवस्था महाधिवेशनसम्म पुऱ्याउन भने त्यति सजिलो देखिँदैन ।
प्रचण्डको खेल बुझेपछि माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल र भीम रावललगायतका नेताहरू केपी ओलीकै पक्षमा उभिन असम्भव छैन । आफूहरूलाई मोहोरा बनाएर प्रचण्ड एक्लै शक्तिशाली बन्न प्रयासरत रहेको महसुस ‘एमाले’ नेताहरूलाई भएमा उनीहरू केपीको पक्षमा एकताबद्ध हुन बेर लाग्ने छैन । रामवीर मानन्धर प्रकरणले रक्षात्मक अवस्थामा पुऱ्याएको प्रचण्ड यति चाँडै बौरिएर ‘एमाले’का सबै नेताहरूलाई घुमाउन–खेलाउन सक्ने हैसियतमा पुग्लान् भन्ने अनुमान गरिएको थिएन । प्रचण्डको यस्तो क्षमताको पार्टीभित्रका एकथरीले मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् । तर, केपी ओलीजत्तिका चतुर नेता प्रचण्डको भूमिका र क्रियाकलापबारे बेखबर होलान् भन्ने ठानिएको छैन ।
माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरूले सहयोग नगरेको महसुस गरेकोले तिनलाई देखाउनका निमित्त मात्र ओलीले प्रचण्डसँग ‘मीत लगाएको’ र यो ‘मितेरी’ दिगो नहुने केपीका केही हितैषीहरूको ठम्याइ छ । जे भए पनि यतिबेला केपीको पक्ष र विपक्षमा एकसाथ भूमिका निर्वाह गरेर प्रचण्डले नेपाली राजनीतिमा नयाँ कीर्तिमान राखेका छन् । प्रचण्डका हितैषीहरूलाई उनको कार्यशैलीले निकै उत्साहित बनाएको छ ।
प्रतिक्रिया