फैसला

फैसला


– देवकी तिमल्सिना ‘समीक्षा’

हिजो सँगै
फस्र्ट एसल्टका योद्धाहरू
माइतीघर मण्डलाको चौरमा
पेटलाई धनुष बनाएर
आकाशलाई घर बनाएर
गणतन्त्रको एक हिस्सा माग्दै
अनसन बसेका समाचारले
अखबारका भित्ताहरू रङ्गिँदा
तिमीलाई थोरै अप्ठ्यारो
हुनुपर्ने होइन र !

जसले मुक्तिका खातिर
शरीरका अङ्ग–अङ्ग गुमाए
लिङ्ग नै गुमाउनुको पीडा त तिमीलाई के थाहा ?
अपाङ्गता जनिने एउटा चिर्कटो पाउन
सडक–सडकमा भौतारिँदा
तिनैले हिजो तिमीलाई बचाउन
आफूले आफैँलाई पुर्न
कोदालो, साबेल र फरुवाहरू बोके
स्ट्रेचर र घारो एउटै काँधमा बोके
आँसु र पसिना मात्रै होइन
बाँच्नको लागि पिसाब पनि पिए
जसले आफ्नै साथीहरू खाल्डोमा पुरे
अनि युद्धमोर्चाबाट फर्किए ।

रक्ताम्य शरीर लिएर
कहिल्यै नथाकेर
‘शहीदहरू अमर रहुन्,
हाम्रो पार्टी जिन्दावाद’
भन्ने नारा लगाए ।

तर आज,
तिनैले अर्को युद्ध लडिरहेका छन्
न्यायको लागि !
खै ! यिनीहरूलाई विहान कहिल्यै आएन
तिमी भने झुल्केघामको राप ताप्दै
‘बुलेट प्रुफ’ गााडीमा
तिनै योद्धाहरूका अगाडि
बेला–कुबेला चिल्लो रोडमा धुलो उडाउँदै हिँड्छौ
देख्दैनौ उनीहरू !

तिमी लुकेको कालुदाइको बुइँगल
भत्किएर खण्डहर भयो
सेती भाउजुले खाना बनाएको ताउलो
कच्याककुचुक भएर कुच्चियो
तिमी हिँडेको मूलबाटो
काँडैकाँडाले भरियो
शहीदका चिहानहरूमा
बनेका छन् कच्ची सडकहरू !
बेला–बेलामा तिमी सवार हुन्छौ
त्यही सडकमाथिबाट
तर बिर्सन्छौ
शहीदका समाधि यही हो भनेर !

अहिले,
अमन चयन गरिरहेका छौ
इमानदार कार्यकर्ताको काँधमा चढेर
घाइते योद्धा र बेपत्ताको ब्याज खाएर ।

घडीको सुई सुल्टो घुम्ने छ
कुनै दिन सत्य उल्टिने छ
त्यतिबेला,
तिम्रो नाममा मृत्युदण्डको
फैसला हुनेछ !