बन्दुक र त्रासको जगमा शासन-शोभाकर पराजुली

बन्दुक र त्रासको जगमा शासन-शोभाकर पराजुली


अफि्रका र एसियाका सिमानामा भएका जनताका आन्दोलन कतै मत्थर भएका छन् र कतै अगाडि बढिरहेका छन् । जहाँ कम भएको छ त्यहाँ पनि तानाशाहीले घुँडा टेकेको कारणले नै त्यसो हुन सकेको हो । यी आन्दोलनहरूले लोकतन्त्रको पक्षमा अभिमत दिइरहेका छन् । तर, साथसाथै लोकतन्त्रविरोधीहरूले पनि यो उपलब्धिलाई आफ्नो पक्षमा लिन खोजेका छन् । त्यसो त यस्तो कार्यको खिचातानी अहिले पनि नेपालमा छ ।
आफूहरू सत्तामा रहनु स्वत: जनताको पक्षमा काम गरेको मानिनुपर्छ भन्ने मान्यताले अब क्रमश: बिदा लिँदै छ । कतिपय सिद्धान्त र सोच हुनेहरूले तथा धर्मको राज्य हुनुपर्छ भन्नेहरूले आफूहरूको लक्ष्यमात्र जनताको हुने स्वघोषित नीति बनाउँदा वा लक्ष्य बनाउँदा जनतालाई भ्रम हुनु स्वाभाविक हो । अझ भ्रम त त्यतिबेला हुँदोरहेछ जब सयौँ अतिवादी र अरूलाई अस्वीकार गर्नेहरूले आफ्नो मात्र विचार राम्रो भएको आफ्ना सिद्धान्तहरूले देखाएको उल्लेख गर्छन् । त्यसमा अझ त्यस्तो घामजस्तो रूपमा प्रस्ट देखिएको तथ्यलाई पनि नबुझ्नेहरू जनविरोधी र न्याय विरोधी हुन् भन्ने आरोप लगाउँछन् । तर, हरेक पक्षले सयौँ ठाउँमा त्यसो भनिरहँदा जनतालाई ठूलो भ्रम हुन्छ । नेपालमा पनि समाजवाद (वास्तवमा साम्यवाद हो) विरोधीहरू र शोषकहरू तथा गरिब विरोधीहरूलाई दल खोल्न र सङ्गठन खोल्नसमेत नदिने पनि कुरा आउने गरेको छ । आफूलाई मात्र जनता र समाजवादको पक्षमा रहेको बताउनेहरूले अरूलाई समाजवादी मान्न तयार हुँदैनन् र उनीहरूले नै यसको निर्णय गर्ने हो भने उनीहरूको जतिसुकै अन्यायपूर्ण शासन पनि उनीहरूका लागि उन्नत र जनपक्षीय हुन्छ । यसको उपचार र निकाश के छ ? अहिलेको अहम् सवाल भनेको यही नै भइदिएको छ ।
कतिपय आन्दोलनहरू त जनताको विरुद्धमा भएका छन् । जनतालाई मार्ने आतङ्कित गर्ने, विकासलाई अवरुद्ध गर्नेमा आधारित कथित आन्दोलन पनि भएका छन् । ती वास्तवमा आन्दोलन नभएर जनताको विरुद्धमा गरिएका सङ्गठित आतङ्क हुन् । जनपक्षीय पनि होइनन् । यसरी जनताको पक्षमा काम नगर्ने र हामीहरूको सत्ता हुनु नै स्वत: जनताको पक्षमा हुनु हो भन्नेहरूले अहिले पनि भ्रम दिन पछि परेका छैनन् तर अहिले फैलिएको आन्दोलनले यसलाई विवादित बनाउन अझ सहयोग भने गरेको छ । भारतका तीनवटा प्रान्तहरू क्रमश: पश्चिम बंगाल, त्रिपुरा र केरलामा कम्युनिस्टहरूको सरकार बिदा भयो । जनतालाई भ्रम दिएर मतको त त्यसरी दुरुपयोग गर्न सकिन्छ भने बन्दुकको सहारामा नै शासन गर्नेहरूले के-के गर्लान् ? भन्ने बुझ्न हामीलाई कठिन छैन । जनताले मत होइन ठूलो बलिदानी सङ्घर्ष गर्नुपर्ने हुन्छ । तैपनि सफलता हासिल हुन्छ भन्ने छैन । त्यसैले त बन्दुक चलाउने कार्यबाट सफलता पाएको काममा सफलता प्राप्त गर्नुलाई आफ्नो नीति ठीक भएको तथ्य माओवादी सैन्य अफिसरले भन्दा राहुल संस्कृत्यायनले बन्दुकको आधारमा हुने विजय भनेको असभ्य र निर्ममले पाउने विजय हो भन्ने भनाइ राखेकोमा मैले दुईवटा कम्युनिस्टहरूमध्ये कसले भनेकोलाई ठीक मान्ने ? भनेको थिएँ र भन्दै छु ।
नेपालमा होस् वा शेष विश्वमा, जनता आफ्नो शासन आफंैले गर्न पाउनुपर्नेमा प्रस्ट भएका छन् र कुनै पनि किसिमको विशेषण जोडेर जनताको अधिकार कम गर्न पाइँदैन भन्नेमा पनि सजग हुँदै गएका छन् । जनताको हुँ भन्ने जनविरोधीहरू आफ्नो शासन ढल्न लाग्दा आत्तिएका छन्, कोही देश नै छोडेका छन् । सबै प्रकारका तानाशाहहरूको न्रि्रा बिथोलिएको छ । लोकतन्त्रको पक्षमा विश्व अगाडि बढिरहँदा चीनमा राजनीतिक कडाइ भइरहेको छ भने भियतनाममा असहमतहरूलाई थुन्ने कार्य भएको मात्र होइन लोकतन्त्रको पक्षमा पर्चा छापेको आरोप लगाउँदै उत्तरकोरियाले दक्षिणकोरिया र अमेरिकासँग युद्धको धम्की दिएको छ । किन तानाशाहहरू जनताको शासनसँग डराउँछन् र जनताको शासनलाई अरूको शासन भनेर उट्पट्याङ कुरा गर्छन् । सायद सत्ता जोगाउन होला ।
अचम्म, कुनै पनि आन्दोलनबाट लोकतन्त्रवादीहरू डराउँदा रहेनछन् र देश पनि छोड्दा रहेनछन् । आन्दोलनको आँधीबेहरी आफूतिर पनि आउन सक्दछ भन्ने डर तिनीहरूलाई किन नभएको होला ? यो नै लोकतन्त्रको महान् पक्षमध्येको एक हो । जनताको सत्तामा जनताले गर्ने आन्दोलनबाट त डराइँदो रहेनछ भन्ने पनि हामीले बुझेका छौँ । हुन पनि जनताको हातमा अधिकार हुनुपर्छ भन्नेहरू त्यो सोचबाहेक अरू सबै मान्यता परिवर्तन गर्न सकिन्छ भन्नेमा दृढ भएकोले नै यो विचार र विचारलाई अनुशरण गर्नेले जनतासँग डराउने कुरा हुँदैन । जनताको हित कुनै वाद वा विचारले गर्ने र त्यसको विरोध गरेमा विरोध गर्ने स्वत: जनविरोधी हुने सोच राख्नेहरू जनतालाई भ्रम दिन नपाइने डरमा हुँदारहेछन् । लोकतान्त्रिक व्यवस्था एकपटक हटाइए पनि पुन: आउन सक्ने देखियो तर कम्युनिस्ट वा राजसंस्था वा अन्य तानाशाही व्यवस्था एकपटक समाप्त भएपछि फर्केर आउने अवस्था करिब असम्भव नै रहेछ ।
लोकतन्त्रको पक्षमा रहने देश र समाजमा विपरीत विचारहरूलाई साथै लिएर हिँडिएको हुन्छ । यसले आपसमा खेलको नियम बन्ने/मान्ने सम्भावना बढी नै हुन्छ । त्यसैले उनीहरू अर्को विचारसँग डराउँदैनन् । आफ्नो विचारबाहेक अरूलाई प्रतिबन्ध लगाउनेहरू भने विरोध गरेमा सेना र प्रहरीको तागतले दबाउने गर्दा पनि विपक्षीहरूसँग अर्थात् असहमतहरूसँग डराउनुको कारण के होला ? सोभियत रुसमा कम्युनिस्ट व्यवस्थामा कम्युनिस्ट पार्टी पनि बोल्सेभिकबाहेक अरू प्रतिबन्धित नै थिए तर गोर्भाचोभले कम्युनिस्ट पार्टीलाई नै प्रतिबन्ध लगाए । कम्युनिस्ट व्यवस्था रहेमा जीवनभर कम्युनिस्ट पार्टीको सर्वोच्च नेता, महासचिव तथा देशको राष्ट्रपति बनिरहनबाट कसैले रोक्न नसक्ने प्रस्ट प्राय: हुँदाहुँदै पनि त्यो व्यवस्थालाई उनैले अन्त्य गरेका हुन्, यसको कारण के होला ? लोकतन्त्रमा त चुनावमा जानुपर्ने, आफ्ना विचारभन्दा राम्रा विचार आएमा सरकार छोड्नुपर्ने आदिसँग उनी किन नडराएका होलान् ?
मानिस जुन व्यवस्थामा जन्मन्छ त्यही नै राम्रो भनेर पढाइन्छ र ऊ ठूलो पदमा पुग्न पनि सक्दछ । तर, त्यस समयमा पनि निष्पक्ष भएर के न्याय हो ? के अन्याय हो ? पदभन्दा जनता र नयाँ र उपयुक्त विचार सजिलैसँग आउन सक्ने परिपाटी महत्त्वपूर्ण हो भन्ने सोच राख्नेहरूले सत्ता र सुख त्याग्न सकेका छन् । गोर्भाचोभलाई विदेशीले उक्साएको पनि भनिने गरिएकोमा बलिया भएर गोर्भाचोभले मात्र बेइमानी गरेको भए पछिका चुनावहरूमा कम्युनिस्टहरूले बहुमत किन पाउन सकेनन् ? यसको उत्तर दिन सकिने गरिएको पाइँदैन । लोकतन्त्रवादी देशमा त सामान्यत: कम्युनिस्टहरूले दल नै खोल्न पाउँछन् । तीमध्ये कतिपयहरूलाई कम्युनिस्ट देशहरूले सहयोग गरेको पनि पाइन्छ, त्यसो गर्दा पनि सत्ता कब्जा गर्न नसक्ने तर कम्युनिस्ट देशमा भने एउटा व्यक्तिबाटै व्यवस्था नै धराशयी हुने, सेना, प्रहरी, गुप्तचर आदि समेतको कुनै भरोसा नहुने अवस्थालाई के भन्ने ? बन्दुक र डरको भरमा शासन गर्न नसके धराशयी हुने नै कस्तो व्यवस्था हो त्यो ? मलाई लाग्दछ- भित्रभित्रै नास हुने अवस्था प्रतिस्पर्धाविहीन शासनमा स्वाभाविक रहेछ भन्नेमा हामी प्रस्ट हुने कि नहुने ?