सर्वोच्चको आदेशमा मनाङे थुनामुक्त

सर्वोच्चको आदेशमा मनाङे थुनामुक्त


‘गुण्डानाइके’ दीपक मनाङे भन्ने राजीव गुरुङलाई सर्वोच्च अदालतले जमानतमा थुनामुक्त गरेको छ । उनी गत वर्ष मनाङबाट प्रदेश सभाका लागि निर्वाचित भएका थिए ।

उनलाई अर्का गुण्डा चक्रे मिलनको हात काटेको घटनामा दोषी ठहर गरी जेल सजाय गरिएको हो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेश सभामा निर्वाचित भएपछि ७ वैशाखमा पक्राउ गरी जेल पठाइएको थियो । उनी सोही मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

तत्कालीन पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएको उनलाई सर्वोच्च अदालतले २७ हजार ३ सय ७६ रुपैयाँ जमानत लिएर थुनामुक्त गर्न आदेश दिएको हो । उनी सो रकम बुझाएर आजै कारागारबाट थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमबहादुर श्रेष्ठ र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मंसिर २८ गते दरपिठ खारेजको निर्णय उल्टाउँदै उनलाई पुनरावेदन गर्न मौका दिने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

१० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने मुलुकी ऐनको नयाँ व्यवस्थाअनुसार सर्वोच्चले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको हो ।

कुनै अदालतबाट दोषी ठहर व्यक्ति प्रदेश सभा सदस्य बन्न नसक्ने कानुनी व्यवस्था भएअनुसार उनले अहिलेसम्म प्रदेश सभा सदस्यको शपथ लिन पाएका छैनन् ।