संसदको हिउँदे अधिवेशनको तयारी पूरा

संसदको हिउँदे अधिवेशनको तयारी पूरा


संसद् सचिवालयले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो ।

अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा. भरतराज गौतमले जानकारी दिए । संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको अधिवेशन सञ्चालन गर्दै आएको छ । सचिवालयले प्रत्येक अधिवेशन शुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ ।

हिउँदे अधिवेशनको रूपमा रहेको यो अधिवेशनले खासगरी संघ, प्रदेश र स्थानीय तहबीचको साझा सूचीका रूपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाझिने पुराना कानुनलाई संविधानसम्मत तुल्याउने गरी कानुन निर्माण गर्नेछ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित संघीय संसदका दुवै सदन सञ्चालन हुने सभाहलको आज निरीक्षण गरेका छन् ।