स्थायी समितिमा सरकारको आलोचना भएको छैन : मन्त्री गुरुङ

स्थायी समितिमा सरकारको आलोचना भएको छैन : मन्त्री गुरुङ


गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंंमा आयोजित साक्षात्कारमा बोल्दै गुरुङले जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले सरकार असफल भयो भनेर टिप्पणी वा आरोप नलगाएको जिकिर गरे । उनले भने,‘बैठकमा कोही पनि नेताहरुले सरकार असफल भयो भनेर बोल्नुभएको छैन् । तर, सरकार र पार्टी दुवैको कामबारे नेताहरुले सुझाव दिनुभएको छ । सरकारका काममा सुधार गर्नको लागि जोड दिनुभएको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने,‘सरकार असफल भयो भने पार्टी पनि असफल हुन्छ । त्यसैले सरकारले अब आफ्ना कार्यशैली सुधार गरोस भनेर नेताहरुले बैठकमा धारणा राख्नुभएको छ ।’ बैठकभित्र नेताहरुले एउटा कुरा बोलेको तर बाहिर मिडियामा आउँदा अर्कै भएर आउने गरेकोमा भने उनले गुनासो पोखे । उनले भने,‘बैठकमा हाम्रा नेताहरुले यसो भन्नुभयो भनेर जे जति कुरा आएका छन्, त्यसमा कुनै सत्यता छैन । बाहिर त पार्टी नै फुट्न लाग्यो भनेर कुरा आयो । तर, बैठकभित्र त्यस्तो कुरा भएको छैन ।’

उनले नेता वामदेव गौतमले बैठकमा सुझाव र आफ्नो विचारको रुपमा कुराहरु राखेको स्पष्ट पारे । उनले भने,‘उहाँको सुझावमात्रै हो । तर, बाहिर फरक मत भनेर आयो । उहाँको पेश गरेको कुरा सुझाव हो, तर फरक मत होईन् ।’ आफूहरुले बैठकमा लागेका कुराहरु निर्धक्क राख्ने गरेको सुनाउँदै उनले नेताहरुले कुनै आग्रह वा पूर्वाग्रह नपालेको पनि जिकिर गरे । आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजानेमा नेताहरुले जोड दिएको पनि उनले सुनाए । स्थायी कमिटि बैठक यसअघि समयमै नबसेकोले विरोधका स्वरुहरु सुनिएको तर सरकारले बेठिक नै गर्यो भनेर कोही पनि नेताले टिप्पणी नगरेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘बरु बोल्ने नेताहरुले सरकार र पार्टीका कमिकमजोरीहरु सुधार गर्नुपर्छ भनेर बोल्नुभएको छ ।’

मन्त्री गुरुङले गण्डकी प्रदेशलाई पर्यटनको राजधानी बनाउनेगरि काम थालिएको पनि विश्वास दिलाए ।