सात दिनदेखि काठमाडौंमा जारी नेपाली काङ्ग्रेसको महासमिति बैठकमा वर्तमान नेतृत्वसँग असन्तुष्ट कार्यकर्ताहरुले महाधिवेशनसम्मको चासो राखेका छन् । अझ संघीय संरचना सहितको विधान पारित भएपछि महाधिवेशनको तरंग बैधानिक रुपमै प्रवेश पाउने छ । संस्थापनपक्षसँग तीव्र असन्तुष्टि राख्ने इतर समूह कार्यकर्ताको महाधिवेशनको भावनालाई ‘क्यास’ गर्न चाहेको देखिदैछ ।
गएको निर्वाचनसँगै काङ्ग्रेसभित्र नेतृत्वसँगको असन्तुष्टि बढ्दै गएको छ । निर्वाचन पराजयको प्रमुख कारण नेतृत्वको कार्यशैली ठह¥याउने कांग्रेस कार्यकर्ताहरु नेतृत्व नै फेर्नुपर्ने पक्षमा देखिएका छन् । यसलाई संस्थापनसँग असन्तुष्टि राख्दै आएका रामचन्द्र पौडेल पक्ष ‘क्यास’ गर्न चाहन्छ । त्यसैले पौडेलले १४ औं महाधिवेशन २०७६ साल फागुनमा गर्नुपर्ने कार्यतालिकानै पेश गर्न भ्याए ।
हुनतः संघीय संरचना सहितको विधान आएपछि महाधिवेशनको व्यवहारिक आवश्यकता देखिने कतिपयले तर्क राख्ने गरेका छन् । अर्कोतर्फ संस्थापन पक्ष कुनै एक पक्षकै मागका भरमा महाधिवेशन हुन नसक्ने बताउँछन् । यहाँ महाधिवेशन भन्दा पनि नेतृत्व कायम राख्ने वा फेर्नेकै लालसा देखिन्छ । कांग्रेसको हालको विधानअुनसार नियमित चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई टेकेर पौडेल पक्ष अर्को फागुनमा महाधिवेशन गराउनुपर्ने पक्षमा देखिएको छ ।
तर, विशेष कारण एक वर्ष थप गर्न सक्ने व्यवस्थालाई टेक्दै संस्थापन पक्ष महाधिवेशन २०७७ सालमा हुनुपर्ने पक्षमा देखिन्छ । महाधिवेशन आउन अझै बाँकी रहेपनि ‘माहोल’ बनाउन नेताहरु लागिपरेकै देखिन्छन् । त्यसमा नेतृत्वसँगको असन्तुष्टिले काम गरेको देखिन्छ । नेतृत्वको कमजोर प्रस्तुतीको चौतर्फी आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया