अर्थमन्त्रीका कारण नेपाली अर्थतन्त्र डामाडोल : हृदयश त्रिपाठी

अर्थमन्त्रीका कारण नेपाली अर्थतन्त्र डामाडोल : हृदयश त्रिपाठी


स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदयश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने,‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’

अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थमन्त्रालयको गतिविधिमा निर्भर गर्ने उनको भनाई छ । उनले थपे,‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही वेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’ नेपाली अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको उनको भनाई छ । त्रिपाठीले थपे,‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यैपनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन् ।’

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदै पनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । उनले भने,‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समिक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो । तर, सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको छ। यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ ।’

नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयम सत्तारुढ दल नेकपाका नेताहरुपनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भैसकेको बताए । सरकारसँग समय र संख्याको अनुकुलता रहेकोले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।

एक अर्को फरक प्रसँगमा उनले स्वतन्त्र राजनीतिक समूहलाई कसरी अघि बढाउने भन्नेबारे गत मंसिर २८ गते काठमाडौंमा आफूहरुले छलफल गरेको सुनाए । उनले भने,‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारे पनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारेपनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारे पनि कुरा भएको थियो ।’ त्रिपाठीले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे ।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई/मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने,‘फोरम अहिले सरकारमा छ, तर उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपापनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए ।’

आफूहरु अब यो समुहलाई जनतासँग जोड्ने पक्षमा रहेको पनि उनले विश्वास दिलाए । सँगसँगै नेकपासँगको वार्तापनि सकारात्मक रहेकोले यसलाई तार्किक निश्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे । सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मुल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने,‘किसानले आफ्ना उत्पादनको मुल्य निर्धारण गर्न पाउँदैनन् । यसले गर्दा अहिले किसानको दुरावस्था छ । अब तत्काल मुल्य निर्धारणबारे विज्ञसम्मिलित आयोग गठन गर्नुपर्छ ।’

उनले विगत २०३४ सालदेखि यताको तथ्यांक हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशतमात्रै किसानको लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए । सरकार र कुनैपनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे । उनले भने,‘सरकारले कृषिमा जोड गरेको छ । तर, किसानको हितको लागि होईन । यो त नाराको लागि गरेकोजस्तो मात्रै भयो ।’