दाङको घोराही उमनपा–१७ स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक एवम् विद्यार्थी सवार बस दुर्घटनामा परेर शिक्षक, विद्यार्थीहरूका साथ चालकको समेत मृत्यु भएको घटनाले आफू र आफ्नो पार्टीलाई मर्माहत तुल्याएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनाएका छन् ।
पार्टीका तर्फबाट शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले मृतकका परिवारप्रति गहिरो समवदेना र घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यसैगरी विप्लव नेतृत्वको नेकपासम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पनि एक शोक वक्तव्य प्रकाशित गर्दै गत शुक्रबार (पुस ६)को उक्त दुर्घटनामा परेर विद्यार्थी, शिक्षक र कर्मचारीसहित २३ जनाको मृत्यु र १४ जना गम्भीर घाइते भएकोप्रति संगठन मर्माहत र स्तब्ध भएको जनाएको छ ।
संगठनका अध्यक्ष चिरन्जीवी ढकालद्वारा जारी शोक–विज्ञप्तिमा निधन भएकाहरूको परिवारप्रति समवेदना प्रकट गर्दै मृतकहरूको स्मरणमा यही पुस १३ गते साँझ दाङमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
साथै, दुर्घटनाका घाइतेहरूलाई विशेष प्रविधियुक्त अस्पतालमा लगी निःशुल्क उपचारको व्यवस्था गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र दुर्घटनाको छानविन गर्न नेपाल सरकारसँग अनेरास्ववियु (क्रान्तिकारी)ले माग गरेको छ ।

प्रतिक्रिया