नेपालको लोकतान्त्रिक आन्दोलनका एक उर्वर प्रेरणा–शक्ति, नेपाली काङ्ग्रेसका संस्थापकमध्येका एक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९५औँ जन्मजयन्ति ।
सन्तका रूपमा सुविख्यात ‘किशुनजी’ले आफ्नो सतासी वर्षको जीवनयात्रालाई आठ वर्षअघि पूर्णविराम दिएपछि नेपाली काङ्ग्रेसका बाँकी एक मात्र संस्थापक नेताको छहारीबाट काङ्ग्रेसजन विमुख बन्न पुगेका थिए भने आमनेपाली तथा प्रजातन्त्रप्रति आस्था र विश्वास राख्ने बाह्य समुदायका समस्त तप्काले त्याग, आदर्श, अहिंसा, आस्था र निष्ठाका एक उदाहरणीय व्यक्तित्व गुमाएको थियो ।
किसुनजीको अन्त्येष्टिमा सहभागी भई श्रद्धार्पण गर्न स्वतःस्फुर्त उर्लेको जनसागरले स्वर्गीय भट्टराईको निष्कलङ्कित राजनीतिक जीवन, सादा जीवनशैली, राष्ट्रवादी चरित्र, देश र प्रजातन्त्रका लागि उहाँले निर्वाह गर्नुभएको स्वार्थरहित भूमिकाको हार्दिक अनुमोदन गरेको अनुभूति गरिएको थियो ।
‘राजनीति आफ्ना लागि होइन, समाज र राष्ट्रका निम्ति गर्ने विषय हो’ भन्ने आदर्श वाक्यलाई नेपाली राजनीतिमा चरितार्थ तुल्याउने एकमात्र नेता सम्भवतः कृष्णप्रसाद भट्टराई मात्र हुनुहुन्थ्यो । तथापि, सिद्धान्तमा कहिल्यै सम्झौता नगर्ने, अहिंसावादी चिन्तनलाई व्यवहारमा उतार्न हरदम प्रयत्नशील रहने, सत्ताप्राप्तिमा पटक्कै आशक्ति नदर्शाउने यस्ता त्यागी राजनीतिकर्मीलाई सत्ता सुम्पने सवालमा भने नेपाली–राजनीतिले असामयिक तवरमा कञ्जुस्याइँ गरिरह्यो । फलतः नेपालको राजनीति दिन दुईगुणा रात चौगुणाका हिसाबले अधोगतितर्फ भासिन पुग्यो । किसुनजीको अवसानपछिका वर्षहरूमा प्रत्येक सचेत तथा विवेकशील नागरिकका अन्तःकरणले सायद यस यथार्थलाई प्राथमिक तहमा मनन गरिरहेको हुनुपर्छ ।
राजनीतिमा नैतिकता, इमानदारी, पारदर्शिता र सत्चरित्रजस्ता विशेषताले अत्यन्त महत्व राख्दछ । तर, आजको हाम्रो राजनीति छलछाम र भ्रष्टपनको पर्याय बन्न पुगेको छ । व्यक्तिगत सम्पत्ति तथा स्वार्थप्रेरित शक्ति सञ्चयको आशक्ति राजनीतिमा भयानक किसिमले व्याप्त देखिन्छ । यसरी भ्रष्टाचारको खुला प्रतिस्पर्धा चलिरहेको परिवेशमा किसुनजीको आदर्श, निश्कलङ्कता र त्यागीपनको चर्चाले स्थान पाउनु सुखद विषय हो । तर, उहाँको त्याग र निःस्वार्थ व्यवहारको चर्चा भइरहँदा प्रमुख राजनीतिक दलहरूबीच सत्ता–शक्ति तथा व्यक्तिगत एवम् गुटगत लाभ उठाउने विषयमा हानथाप जारी नै छ । यस्तो दल, समूह वा व्यक्तिकेन्द्रित राजनीतिले कसरी मुलुक र मुलुकवासीको उद्धार हुन सक्छ ? यतिबेला यो सवालको निरूपण हुनु आवश्यक छ ।
अकल्पनीय, अविश्वसनीय र अत्यन्त जटिल परिस्थितिमा पनि शक्तिशाली दरबार, दलहरू र जनाकाङ्क्षाको तीव्रतालाई मत्थर तुल्याउँदै १३ महिनामै लोकतन्त्रान्त्रिक मूल्य–मान्यतामा आधारित संविधान बनाएर जारी गर्ने खुवी सायद कृष्णप्रसाद भट्टराईमा बाहेक अरूमा नभएकैले ०४६ सालको जनआन्दोलनपछिको सङ्क्रमणकालीन अन्तरिम कालखण्डको बोझ किशुनजीको काँधमा आइपरेको थियो, जसलाई उहाँले अत्यन्त कुशलताका साथ पार लगाउनुभएको थियो । यदि आजका राजनीतिकर्मीहरूमा थोरै पनि नैतिकता र इमानदारी छ भने, स्वर्गीय भट्टराईलाई हार्दिकतापूर्वक नै श्रद्धाञ्जली दिइएको हो भने उहाँको गुणको अनुशरण गर्ने यथाशक्य प्रयत्न हुनैपर्छ । आजको नेतृत्व वर्गले किशुनजीको सो कर्मबाट पाठ सिक्दै प्रेरणा लिनु अपरिहार्य छ ।
त्याग, आदर्श र निष्ठाका प्रतिमूर्ति, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका पुजारी कर्मयोगी किशुनजीको अवसानपछि नेपाली राजनीतिमा उहाँका गुणहरूको विपरीतार्थक विशेषताहरूले थप मलजल पाएको यथार्थ सबैसामु छर्लङ्गै छ । यस कहालीलाग्दो परिवेशमा आजको नेतृत्व वर्गलगायत सबैलाई किशुनजीको जीवनी तथा कर्मबाट पाठ सिक्दै अघि बढ्ने चेतना र शक्ति मिलोस् । लोकतन्त्रका अभिभावक सन्तनेता किशुनजीप्रति हार्दिक श्रद्धाञ्जली ।
यो पनि हेर्नुहोस्-
किशुनजीसँग बदला लिएपछिको सम्बन्ध
https://ghatanarabichar.com/1012
प्रतिक्रिया